छैटौं सातामा ‘महापुरुष’, शुक्रबारदेखि ‘पासो’

Read Time = 4 mins

काठमाडौं । चलचित्र ‘महापुरुष’, प्रदर्शनको छैटौं हप्तामा प्रवेश गरेको छ भने यही शुक्रबारदेखि सिनेमाघरमा चलचित्र ‘पासो’ आउको छ । प्रदीप भट्टराईले निर्देशन गरेको चलचित्र ‘महापुरुष’लाई दर्शकले साथ दिइरहेका छन् । चलचित्रले परिवारलाई जोड्ने कामसमेत गरिरहेको लेखक तथा निर्देशक भट्टराईको दाबी छ । ‘हाम्रो फिल्म हेर्न परिवार जम्मा भएर आइरहनु भएको छ । फिल्म हेर्ने बहानामा उहाँहरूको घुमघामसमेत भइरहेको छ’, निर्देशक भट्टराईले भन्नुभयो, ‘फिल्मले स्वदेशसँगै विदेशबाट पाइरहेको माया र प्रतिक्रियालाई धन्यवाद भन्ने शब्द नै हामीसँग छैन । समाजमा गाडिएको गम्भीर विषयलाई पर्दासम्म ल्याउन यसले हामीलाई थप बल मिलेको छ ।’

चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरु विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अञ्जना बराईली मुख्य भूमिकामा हुनुहुन्छ । चलचित्रमा एक्लोपनको कथा देखाइएको छ । आदर्शनगरमा बसोबस गर्ने अवकाशप्राप्त शिक्षकमार्फत पिता र एलक पुरुषसँगै एक्लोपनकथा चलचित्रमा देखाइएको छ । भविष्य निर्माण गर्न अलग भइसकेको छोरा, सपना बोकेर अष्ट्रेलिया जान लागेको छोरा, एक्लोपनमा रहेका शिक्षकमार्फत समाजको गम्भीर विषयलाई सरल रूपमा प्रस्तुत गरिएको छ । षट्कोण आर्ट्स प्रालिको व्यानारमा निर्मित चलचित्रमा कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुनुहुन्छ भने निर्माता दिपेश खत्री रहनुभएको छ ।

चलचित्रमा दीपक बज्राचार्यको छायांकन, मित्र डी.गुरुङको सम्पादन छ । यही चलचित्रबाट कवि नवराज पराजुलीले पनि गीतकारको रूपमा फिल्ममा डेब्यु गर्नुभएको छ । चलचित्रको पाश्र्व ध्वनिमा रोहित शाक्य/शैलेश श्रेष्ठ, ध्वनि संयोजनमा अमित श्रेष्ठ, रंग संयोजनमा कपिल पराजुली, मिडिया कसल्टेन दिनेश सिटौला फिल्म्स, पब्लिसिटी डिजाइन ट्राइडेन्ट, सहायक निर्देशक शान्तिम कोइराला र प्रोडक्सन म्यानेजरमा रूपक प्रताप अधिकारी रहनुभएको छ ।

यस्तै, शुक्रबारदेखि सिनेमा घरमा चलचित्र ‘पासो’ प्रदर्शनमा आएको छ । अपहरणपछि दुई युवतीले बाँच्नका लागि गर्ने संघर्षको कथामा निर्माण भएको चलचित्रमा रिस्ता बस्नेत र सुनिशा बजगाईं, रामकुमार बस्ताकोटी, प्रतीक दुलाल, प्रणव आकाशको मुख्य भूमिका छ । चलचित्रलाई आर.बी पुनले निर्देशन गर्नुभएको हो ।

कथा, पटकथा, संवादसमेतको निर्देशन आर.बीकै रहेको चलचित्रको कुमार राउत कार्यकारी निर्माता हुनुहुन्छ । वसन्त घिमिरे, अनु मुस्कान, अनुराग ढुंगाना र सरस्वती गुरुङ सहनिर्माता रहेको चलचित्रमा सूर्य दयालुको संगीत, उत्तम हुमागाँइको छायांकन र सुरेश बस्यालको कोरियोग्राफी छ । चलचित्र बी.आर इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?