काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ र टोखा नगरपालिका जोड्ने विष्णुमती करिडोरको ट्र्याक खोल्ने कार्य सुरु भएको छ । उक्त कार्यको काठमाडौं क्षेत्र नम्बर ५ का सांसद एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले शिलान्यास गर्नुभयो । हाल संघीय सरकारबाट एक करोड विनियोजन गरी सुरु भएको करिडोरको कामका लागि बजेट बढाउन पहल गर्ने पनि उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
करिडोर खुल्न नसक्दा विकासको काम पछि परेको भन्दै मन्त्री पौडेलले आफूले नागरिकको दुःख पीडा देखेरै ट्र्याकको काम सुरु गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस करिडोरले दुवै तहको विकास र समृद्धिमा योगदान पुग्नेछ । नागरिकको विकास आवश्यकता पूरा गर्न हाम्रो सदैव साथ रहनेछ ।’ बुढानीलकण्ठ क्षेत्रमा सडक डिभिजन विभागबाट सडक विस्तार हुनेछ । त्यसैगरी टोखा नगर क्षेत्रको करिडोरमा काठमाडौं उपत्यका विकास प्राधिकरणमार्फत् सडक विस्तारको काम सुरु भएको छ । हाल बुढानीलकण्ठको धनेश्वर धन्ने ढिकुरो क्षेत्रबाट सुरु करिडोरको ट्र्याक स्कोन मन्दिरसम्म पुर्याउने लक्ष्य छ । सो क्षेत्रको विकासका लागि संघ, प्रदेश र स्थानीय सरकारले हातेमालो गरेर सफल पार्नेसमेत मन्त्री पौडेलले प्रतिबद्धता जनाउनुभयो । उहाँले सांसदका रूपमा आफू निर्वाचित भएमा करिडोरको काम अघि बढाउने घोषणा गर्नुभएको थियो ।
शिलान्यास कार्यक्रममा बागमती प्रदेशका खानेपानी तथा सिँचाइमन्त्री श्यामबहादुर खड्का, बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारी तथा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले विकास निर्माणका लागि तीनवटै तहबीच समन्वय र सहभागिता रहने भन्दै मन्त्री पौडेलसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । बुढानीलकण्ठ-४ का वडाध्यक्ष श्रीराम केसीले बुढानीलकण्ठ र टोखा दुवैतर्फ बाटो खुलाउन स्वास्थ्यमन्त्री पौडेलले सहयोग गर्नुभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘बुढानीलकण्ठमा काम सुरु हुने योजना थियो, मन्त्रीज्यूको पहलमा टोखामा पनि एकैसाथ काम सुरु भएको छ । यसमा बजेट थप गर्न सघाउने प्रतिबद्धता जनाउनुभएको छ ।’ करिडोर खन्ने चर्चा लामो समयदेखि भए पनि काम सुरु हुन सकेको थिएन । करिडोरको काम सम्पन्न भएमा दुवै तहको विकास र यातायातमा निकै सहजता पुग्ने वडाध्यक्ष केसीको भनाइ थियो । बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारी तथा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी पनि सहभागी हुनुहुन्थ्यो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच