४१ हेलिकोप्टर दुर्घटनामा १०३ को मृत्यु, अनुसन्धान रहस्यमय

हिमालय टाइम्स
Read Time = 16 mins

रमेश भारती

काठमाडौं । सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर मंगलबार बिहान जिल्लाको लामजुरा डाँडामा दुर्घटनाग्रस्त भएको छ । बिहान १०:०५मा सुर्केबाट उडेको नाइन ‘एनए–एमभी’ कलसाइनको हेलिकोप्टर लिखुपिके गाउँपालिका–५ भकान्जेस्थित लामाजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो । च्यानडाँडामा चौँरी गोठालाहरूले हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

दुर्घटनामा हेलिकोप्टर चालकसहित ६ जनाको मृत्यु भएको छ । हेलिकोप्टरमा ६ जना नै सवार थिए । मृत्यु हुनेमा हेलिकोप्टर चालक (क्याप्टेन) चेत गुरुङ, मेक्सिकन नागरिक सिफुन्तेस जी फर्नान्डो, सिफुन्तेस जी मारिया होसे, रिन्कोन स्माइल, गोन्जालेज ओलासियो लुज र गोञ्जालेज एब्रिक रहनुभएको छ । उहाँहरू सबैजना मेक्सिकन नागरिक रहेको मनाङ एयरले जनाएको छ । क्याप्टेन गुरुङले उडाउनुभएको हेलिकोप्टर मंगलबार बिहान १० बजेतिर सम्पर्कविहीन भएको थियो । ५४ वर्षीय गुरुङ निकै अनुभवी पाइलट हुनुहुन्थ्यो । उहाँनिकट स्रोतका अनुसार उहाँले सन् १९९८ देखि उडान सुरु गर्नुभएको थियो । पछिल्लो १० वर्षयता भने गुरुङ मनाङ एयरमा आबद्ध हुनुहुन्थ्यो । उहाँले सुरुमा ठूलो हेलिकोप्टर एमआई १७ उडाउनुभएको थियो । त्यसपछि गोर्खा एयरलाइन्स, श्री एयरलाइन्स, इको एयर (विदेशी कम्पनी) हुँदै २०१४ मा मनाङ एयरसँग उहाँ आबद्ध हुनुभएको थियो । चार वर्षअघि समिट एयरको विमानले मनाङ एयरको हेलिकोप्टरलाई ठक्कर दिँदा उहाँ बाँच्न सफल हुनुभएको थियो । क्याप्टेन गुरुङ मनाङ एयरको ‘फ्लाइट सेफ्टी’का प्रमुख हुनुहुन्थ्यो । उहाँको घर पोखरा हो । उहाँका श्रीमती र एक छोरी हुनुहुन्छ ।

दुर्घटनामा ज्यान गुमाएका पर्यटकहरू भने हिमाल हेर्नकै लागि भनेर नेपाल आएको पाइएको छ । दुई दिनअघि मात्र काठमाडौं आएका उनीहरूको मंगलबार साँझ नै स्वदेश फर्किने कार्यक्रम थियो । आकाशबाटै सर्वोच्च शिखर सगरमाथासहित हिमालहरूको दृश्यावलोकन गर्ने र स्वदेश फर्किने उनीहरूको सपना पूरा हुन पाएन । २४ गते भारत हुँदै नेपाल प्रवेश गरेका उनीहरूले १५ दिनका लागि भिसा लिएका थिए । तर, बसाइ भने तीन दिनका लागि मात्र तय भएको पाइएको छ । नेपाल आएर १५ दिनको ‘अन अराइभल’ भिसा लगाएको अध्यागमन विभागको रेकर्डले देखाएको छ । यसैबीच, हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका सबैको शव काठमाडौं ल्याएर पोष्टमार्टमको लागि त्रिबि शिक्षण अस्पताल महारजगञ्जमा राखिएको छ । मंगलबार साँझ दुई वटा होलिकोप्टरमार्फत ६ जनाकै शव काठमाडौं ल्याइएको हो ।

मनाङ एयरको हेलिकोप्टर दुर्घटना भएको यो पहिलो घटना होइन । यसअघि पनि दुर्घटना भएका छन् । ६ वर्ष अगाडि सन् २०१७ मा मनाङ एयरको हेलिकोप्टर दुर्घटना भएको थियो । सन् २०१७ को जुन १० का दिन शनिबार बिहान काठमाडौंबाट ६ जना बोकेर उडेको मनाङ एयरले गोसाइकुण्डमा क्य्रास ल्याण्डिङ गरेको थियो ।

११ वर्षमा नेपालमा १४ वटा हेलिकोप्टर दुर्घटना

नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांकअनुसार पछिल्लो ११ वर्षमा नेपालमा १४ वटा हेलिकोप्टर दुर्घटना भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांकअनुसार दुर्घटनामा परी १०३ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म भएका हेलिकोप्टर दुर्घटनामा ३० जनाभन्दा बढी विभिन्न देशका नागरिकले ज्यान गुमाएको उड्डयन प्राधिकरणले जनाएको छ । विशेष गरी सरसामनको ढुवानी, विपद् उद्दार, विकास परियोजनहरूको सर्वेक्षण, हिमाल अवलोकन जस्ता काममा हेलिकोप्टर प्रयोग हुँदै आएको छ । सेवाग्राहीको आवश्यकताअनुसार विभिन्न प्रयोजनका लागि हेलिकोप्टरले सेवा दिँदै आएको छ । तर, नेपालको हेलिकोप्टर सेवा असुरक्षित हुँदै जाँदा दुर्घटना बढ्दो क्रममा छ ।

भौगोलिक हिसाबले नेपालमा हेलिकोप्टर उडान सुरक्षित हुन सकिरहेको छैन । भने, पर्यटनदेखि वृत्तचित्र तथा चलचित्र निर्माणको क्रममा र मेला महोत्सवमा पनि हेलिकोप्टरको प्रयोग गरिन्छ । पछिल्लो समय राजनीकित दलका शीर्ष नेताहरूले पनि हेलिकोप्टर प्रयोग गरी विभिन्न कार्यक्रम जाने गरेका छन् । उड्डयन प्राधिकरणका अनुसार चालु आर्थिक वर्षमा पाँच सय पटक शीर्ष नेताहरूले सार्वजनिक कार्यक्रममा हेलिकोप्टर उडानमार्फत उडान भरेका छन् । सरकारको नेतृत्व गरेका प्रधानमन्त्री, मन्त्री र अन्य नेता तीन सय पटकभन्दा धेरै उडान भरेको उड्डयन प्राधिकरणको तथ्यांकमा छ ।

हेलिकोप्टर दुर्घटनाको इतिहास

नेपालको हवाई इतिहासमा ४१ वटा हेलिकोप्टर दुर्घटना भएका छन् । नेपाली आकाशमा अहिलेसम्म भएका ४१ वटा हेलिकोप्टर दुर्घटनामध्ये सबैभन्दा ठूलो ताप्लेजुङको घुन्सामा सन् २००६ मा भएको थियो । श्री एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा बहालवाला वन राज्यमन्त्री गोपाल राई, संरक्षणविद् हर्क गुरुङसहित त्यसमा सवार सबै २४ जनाको मृत्यु भयो । यसैगरी, सन् २०१९ मा पर्यटनमन्त्री रवीन्द्र अधिकारीले हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउनुभयो । त्यतिबेला नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ र निर्देशक ध्रुव भोछिभया तथा पर्यटन व्यवसायी आङछिरिङ शेर्पासहित सात जनाको निधन भएको थियो ।

नेपालको इतिहासमा पहिलो पटक सन् १९७९ मा लाङटाङमा हेलिकोप्टर दुर्घटना भएको थियो । लाङटाङमा भिभिआइपी हेलिकोप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भयो । दोस्रोपटक सन् १९९७ मा कर्णाली एयरको हेलिकोप्टर दुर्घटना हुँदा एकजनाले ज्यान गुमाए । यस्तै, सन् १९९८मा एसियन एयरआइन्सको हेलिकोप्टर मूलखर्कमा दुर्घटना हुँदा तीन जनाको ज्यान गयो ।

सन् २००१ मा रारा तालमा फिस्टेलको हेलिकोप्टर खस्यो । त्यतिबेला पनि चार जनाको मृत्यु भयो । फेरि सन् २००२ मा एसियन एयरकै हेलिकोप्टर सोलुखुम्बुमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भयो । सन् २००३ मा सिम्रिक एयरको हेलिकोप्टर सगरमाथा बेस क्याम्पमा दुर्घटनामा पर्दा दुई जनाको ज्यान गयो । २००५ मा रामेछापको ठोसेमा हेली हान्सको हेलिकोप्टर दुर्घटना हुँदा तीन जनाले ज्यान गुमाउनुपर्यो ।

सन् २००६ मा श्री एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा बहालवाला वन राज्यमन्त्री गोपाल राई, संरक्षणविद् हर्क गुरुङसहित त्यसमा सवार सबै २४ जनाको मृत्यु भयो । यस्तै, २०१० मा फिस्टेल एयरको हेलिकोप्टर अमादब्लम हिमालमा दुर्घटना हुँदा दुई जनाले ज्यान गुमाए । सन् २०१३ र २०१४ मा पनि फिस्टेल एयरको हेलिकोप्टर दुर्घटना हुँदा एक÷एक जनाले ज्यान गुमाएका थिए । दुर्घटना सिमिकोट र सिन्धुपाल्चोकमा भएको थियो । सन् २०१५मा माउन्टेन हेलीको हेलिकोप्टर सिन्धुपाल्चोकको यमुना डाँडामा खस्दा चार जनाको ज्यान गयो । २०१५ मै भूकम्प प्रभावितको उद्दारका लागि गएको अमेरिकी सेनाको हेलिकोप्टर दोलखाको घोर्थलीमा दुर्घटना हुँदा अमेरिकी सैनिकसहित १३ जनाको मृत्यु भयो । यता, २०१६ मा नुवाकोटको बेतिनीमा फिस्टेलको हेलिकोप्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भयो । यस्तै, २०१८ मा हिल्सामा मनाङ एयरको होलिकोप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भयो । सोही वर्ष अल्टिच्युड एयरको हेलिकोप्टर नुवाकोटको मैलुङमा खस्दा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

हेलिप्याडको समस्या

नेपालमा हेलिकोप्टर दुर्घटना हुनुको प्रमुख कारण नै प्राविधिक विषय भएको प्रश्न उठ्ने गरेको छ । देशमा हेलिकोप्टर दुर्घटना बढ्दै गएपछि छानविन आयोग गठन भएको थियो । तर, त्यसको कारण भने खुल्दैन । भूगोल र मौसमलाई गम्भीरतापूर्वक ख्याल गरेर हेलिकोप्टर उडाए दुर्घटना कम गर्न सकिने प्रतिवेदनमा औँल्याइएको भए पनि सोहीअनुसार कार्यान्वयन गरेको पाइँदैन । हेलिकोप्टर पाइलटले आँखाले देखेको भूगोलको आधारमा उडाउनुपर्ने यातायात साधन भएका कारण सानो गल्ती दुर्घटना हुने गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) प्रवक्ता जगनाथ निरौलाले जानकारी दिनुभयो ।

हेलिकोप्टर पाइलटले प्रविधिक विषयमा राम्रो जानकारी, मौसम र नेपालमा फेरिने मौसमका कारण पनि दुर्घटना हुने गरेको उहाँले बताउनुभयो । ‘भौगोलिक र मौसमको कारणले उडानमा बढी जोखिम पनि यस्तै क्षेत्रमा बढी हुन्छ । कठिन भौगोलिक क्षेत्रमा प्राकृतिक विपत र दुर्घटनाका बेला उद्दारका तथा ढुवानीमा पनि हेलिकोप्टर सबैभन्दा प्रभावकारी हुन्छ ।’ उहाँले भन्नुभयो । हेलिप्याडहरूमा सुधार गरेर मानवीय कम, प्रविधिको भर बढी बनाएर दुर्घटना न्यून गर्न सकिने र यो विषयमा अध्ययन भइरहेको उहाँको भनाइ छ । नेपालको भौगोलिक बनावट र मौसमको ख्याल नगरी उडान भर्ने प्रवृत्तिका कारण दुर्घटना बढ्दै गएको निष्कर्ष यस क्षेत्रका विज्ञहरूको आरोप छ ।

प्राविधिक पक्ष कमजोर

हेलिकोप्टर उडानअघि र पछि नियमित परीक्षण नगर्ने हेलिकोप्टरहरू नै दुर्घटनामा पर्छन् । प्राधिकरणका अनुसार एयर ट्राफिक कन्ट्रोलको निर्देशन नमान्ने, कुहिरोभित्र नछिर्ने मापदण्ड पालना नगर्ने, जमिनकै नजिक हेलिकोप्टर उडाएर हवाई गतिविधि गर्ने र तोकिएको भन्दाबढी भारी बोकेका हेलिकोप्टर दुर्घटनामा परेका छन् । नेपालमा हेलिकोप्टर दुर्घटना हुनुको प्रमुख कारण नै प्राविधिक विषय भएको यस क्षेत्रका विज्ञहरू बताउँछन् ।

दुर्गम भेगमा पर्यटकीय आकर्षणका कारण पनि हेलिकोप्टर प्रयोग बढेको छ । पर्यटकीय सिजनमा खुम्बु, अन्नपूर्ण र हुम्लाको सिमकोट क्षेत्रमा अधिक हेलिकोप्टर उडान हुन्छ । हेलिकोप्टरले त हेलिप्याड नभएको स्थानमा समेत ल्याण्ड गरी बिरामीको उद्धार गर्नुपर्ने हुन्छ । नेपालमा सुविधा सम्पन्न हेलिप्याड पनि छैनन् ।

सहसचिव लामिछानेको नेतृत्वमा दुर्घटनाको छानविन हुने

मनाङ एयरको हेलिकोप्टर दुर्घटनाबारे अध्ययन गर्न सरकारले छानबिन समिति गठन गरेको छ । सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मनाङ एयरको हेलिकोप्टर दुर्घटनाप्रति दुःख व्यक्त गर्दै दुर्घटनाको छानविन गर्न पर्यटन मन्त्रालयका सहसचिव बुद्धि सागर लामिछानेको नेतृत्वमा छानविन समिति गठन गरेको हो । मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता रेखा शर्माले उक्त जानकारी गराउनुभएको हो । यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किराँतीले पनि छानबिन समिति बनाएर मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे अध्ययन गरिने बताउनुभएको थियो । उहाँले सरकारले पहिलो दिनबाटै सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै सरकार नागरिकको सुरक्षामा काम गरिरहेको बताउनु भयो । हेलिकोप्टर दुर्घटनाप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुःख व्यक्त गर्दै मृतक यात्रुप्रति श्रद्धासुमन अर्पण गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?