तातोपानी नाका खुलेसँगैका अपेक्षा

हिमालय टाइम्स
Read Time = 9 mins

नेपालको उत्तरी नाकामध्येको बढी चल्तीको तातोपानी नाका खुला भएको छ । नेपाली चाडपर्वहरूको पूर्वसन्ध्यामा खुला भएको नाकाले व्यापरी र स्थानीयहरूमा प्रसन्नता हुनु स्वाभाविक हो । यद्यपि पूर्ण सञ्चालनमा आउन समय लाग्ने भए पनि यसबाट स्थानीय नागरिक र विशेषगरी नेपालीहरूलाई केही सहज हुने आशा पलाएको छ । यो नाका विगत आठ वर्षदेखि सञ्चालनमा थिएन । त्यसभन्दा अघि यस नाकाबाट नेपाल-चीन व्यापार सबैभन्दा बढी हुने गरेको थियो । अरनिको राजमार्ग खुलेपछि नेपाल-चीन व्यापार यही नाकाबाट बढी मात्रामा सहज रूपमा हुने गरेको थियो । चीनको स्वशासित क्षेत्र तिब्बतसँग नेपालको ऐतिहासिक सम्बन्ध रहँदै आएको छ । हिमालवारि भएर चीनकै भूमिका रूपमा रहेको खासा नेपालका लागि सुलभ रूपमा तयारी पोशाक, खेलौना, विद्युतीय सामग्रीलगायत उपभोग्य सामग्री, तिनका पार्टपुर्जा सहज र सुलभ मूल्यमा नेपालमा यही मार्गबाट आउने गरेका थिए ।

पहिले खासामा अन्न नहुने र नेपालको सिन्धुपाल्चोकका त्यस क्षेत्रका केही गाउँका बासिन्दालाई खासाका मानिसलाई अन्न दिएर आफूलाई आवश्यक सामग्री आदानप्रदानका लागि दुई देशबीच भएको सम्झौता पछि अरू क्षेत्रका मानिसहरूले समेत उपभोग गर्न थालेकाले यस नाकाबाट हुने व्यापार फष्टाएको थियो । ठूला व्यापारीहरूले आयात गर्ने ठूलो परिमाणका सामग्रीदेखि साना व्यापारीले गर्ने सानातिना व्यापारसमेत त्यसपछि मौलाएका थिए । हुन त नेपाली मुद्रा अत्यधिक मात्रामा बाहिरिने कुरा त छँदैछ तर आफ्नो उत्पादन नहुने र अरूकै उत्पादनमा भर पर्नुपर्ने नेपालजस्तो मुलुकले जोसँग भए पनि किनेर प्रयोग गर्नुपर्ने बाध्यता भएकाले चीनबाट आउने सामग्री कम मूल्यमा पाइन्थ्यो । खासा व्यापारबाट धेरै नेपालीको जीविका पनि चलेको थियो भने नेपाली बजार खासाकै सामानले छपक्कै ढाकिएको हुन्थ्यो ।

२०७२ साल वैशाख १२ गतेको महाभूकम्पले देशका विभिन्न ठाउँमा क्षति पुर्‍यायो । यसबाट नेपाल-चीनबीच व्यापार हुँदै आएको तातोपानी नाकाका विभिन्न भौतिक संरचनामा क्षति पुग्यो । त्यसपछि सडकलगायतका संरचनाको मर्मत गर्न धेरै समय लाग्ने भनेर चीनले तातोपानी नाका खोल्न नामञ्जुर गर्दै आएको अवस्थामा पुनः चीनकै वुहान क्षेत्रबाट सुरु भई संसारव्यापी बनेको कोरोनाका कारण चीनले उक्त नाका खोल्न आलटाल गर्दै आयो । यसको सट्टा बरू चीनले केरुङ नाका खोलिदियो । नेपालका लागि लामो र असहज बाटो भएका कारण यो त्यति उपयुक्त भएन । नेपाली व्यापारीहरूका सामान बोकेका कन्टेनरहरू बाटाबाटामै रोकिए ।

विगत वर्षहरूमा दशैँतिहारलाई लक्षित गरेर झिकाइएका मालसामानहरू उचित समयमा आइनपुगेर व्यापारीहरूको लगानी खेर गयो भने उपभोक्ताहरूले उपभोग्य सामान सही समयमा उपभोग गर्न पाएनन् । समस्या र आवश्यकतालाई ध्यानमा राखेर नेपालले चीनसँग तातोपाली नाका खोल्नका लागि पटक-पटक कूटनीतिक पहल गर्दै आएकोमा अहिले चीनले पनि त्यसमा सहमति जनाएर उक्त नाका सञ्चालनमा आएको हो । मानिसहरू आउजाउका लागि रोक लागेको थियो, अब भने त्यस्तो अवस्था रहने छैन । मालसामान बोकेका गाडीहरूलाई केही समय पहिलेदेखि सञ्चालन गर्न दिइएको थियो तर मानिसहरूले भने भूकम्प र कोराना पहिलेको अवस्थामा जसरी आउजाउ गर्न पाएका थिएनन् ।

भूकम्प पहिले दिनभरि दोहोरीलत्त मानिसहरू आ-आफ्ना पोकापन्तुरा बोकेर आउजाउ गरिरहेका हुन्थे भने पर्यटकीय दृष्टिकोणबाट तातोपानीमा नुहाउने, मितेरी पुल र सम्भव भएका खण्डमा खासासम्मको भ्रमण गरेर फर्किनेहरूको संख्या निकै बाक्लो हुनेगरेको थियो । महाभूकम्प र कोरानाले तहसनहस पारेको क्षेत्रमध्ये यो तातोपानी नाका पनि एक हो । भन्न त यो क्षेत्रको आवागमन र व्यापारिक वातावरण सहज बनाउन उपस्थित भएका नेपाली तथा चिनियाँ अधिकारीहरूले यस क्षेत्रको व्यापारिक कारोबार, मानिसको आवागमन पूर्ववत् अवस्थामा आउन अझै एक वर्ष लाग्ने बताएका छन् तर अब यसको थालनी भइसकेकाले विस्तारै सहज हुँदै जाने कुरामा आशावादी बन्न सकिन्छ ।

नेपाली बजारको आवश्यकता र नेपालीहरूको क्रयक्षमता हेरेर चीनले आफ्ना उत्पादनहरू यहाँ पठाउने गर्नाले नेपालका सबै आर्थिक हैसियतका उपभोक्ताले आफ्नो हैसियत अनुसारका सरसामान किनेर प्रयोग गर्थे । भारतीय सामग्रीले खाद्यान्न, फलफूलबाहेक हलुका प्रयोजनका चिनियाँ सामग्रीले जसरी बजार लिन सकेको छैन । हुन त भारतसँग पनि नेपालको प्राचीन कालदेखि नै व्यापारिक सम्बन्ध रहँदै आएको छ तर चीनले जसरी सबै क्षेत्रमा एकनास बजार कायम गर्न भारत-चीन जति सफल छैन । चीनले त वर्तमान सन्दर्भमा विश्वबजार ओगट्दै आएको छ । नेपाल त एउटा सानो देश भएकाले यहाँको बजारमा आफ्नो प्रभाव कायम गर्न चीनका लागि कुनै कठिन काम होइन । नेपालीहरूलाई सुलभ रूपमा आफूले चाहेको सामग्री पाउनुपरेको छ । त्यो चाहना अब तातोपानी नाका खुलेसँगै पूरा हुने अपेक्षा गर्न सकिन्छ ।

आमनेपालीहरू महँगीको तीव्र प्रताडना सही रहेका छन् । त्यसमा पनि शहरी जीवन दुष्कर भएको छ । युद्धले जर्जर भएको, अनिकाल र सुख्खाग्रस्त भएको देशले भोगेजस्तो महँगी नेपालीहरू भोग्न बाध्य भएका छन् । कृषिनिर्भर अर्थतन्त्र भएको देशमा एक किलो मूलाको भाउ डेढ सय पुगेको छ । एक वर्षको अन्तरमा चामलको भाउ करिब पचास प्रतिशतले वृद्धि भएको छ । अरू तरकारीको भाउ आकाशमा पुगेको छ । चामल महँगो हुनुमा भारतले निर्यात निषेध गरेका कारण बताइए पनि सम्बन्धित व्यापारी र सरकारी सम्बन्धित कर्मचारीदेखि विचौलियाहरूको खेलमा महँगी अत्यधिक बढेको प्रत्यक्ष छ । बजार अनुगमन छैन । राजधानीको कलंकीदेखि कपनसम्म अथवा साँगादेखि सानेपासम्म अनुगमन गर्ने हो भने उपभोक्ता कुन रूपमा शोषित रहेछन् थाहा हुन्छ । सामग्रीको मूल्य यतिविध फरक छ कि यी स्थान एउटै देशको भूगोलमा छैनन् कि भन्ने लाग्छ । नाका खुल्नु र व्यापार सहज हुनुमात्रै महत्वपूर्ण हुँदैन अनुगमन गर्ने र उपभोक्ताप्रति बजारलाई जवाफदेहीसमेत बनाउनु जरुरी छ । तातोपानी नाका खुला भएपछि उपभोक्ताहरूका हितमा केही होला भन्ने आशा पलाएको छ । जसका लागि नेपाल सरकारको पहल र चीन सरकारको निर्णयको सम्मान गर्नैपर्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?