✍️ विमल भौकाजी
साहित्य, सङ्गीत, कलाक्षेत्रका व्यक्तिहरू सामान्यतः अरूको दाँजोमा केही भिन्न हुन्छन् । त्यो, यस अर्थमा कि तिनले गर्ने कर्म अलिकति भए पनि असामान्य हुन्छ । सम्भवतः यस्तो असामान्यता तिनको आफ्नो वंशकै निरन्तरता हुनुपर्छ । विजयध्वज थापा एउटा त्यस्तै नाम हो, जसको शरीरका नसाहरूमा आफ्नो वंशको रगत बगेको छ । दशकौँ अघि मदन पुरस्कार प्राप्त गर्ने उपन्यास ‘मन’का लेखक लीलध्वज थापाका सुपुत्र हुन् उनी । त्यसो त, नेपाली साहित्यमा आफ्ना पिताजीको नाम देखाएर परिचय गराउनुपर्ने लेखक होइनन् विजयध्वज थापा । आफ्नै नामबाट साहित्यको क्षेत्रमा स्थापित छन् उनी । प्रसङ्गवश, रगतको नाताले बाबु-छोराको नाम यहाँ जोडिन पुगेको हो ।
विधागत रूपमा विजयध्वज बहुआयामिक छन् । मूलतः कविका रूपमा नै उनी बढी परिचित छन् भने गीति-लेखनमा पनि उनको कलम निकै तिखारिएको देखिन्छ । र, उनको यो कलम गीत-कवितामा मात्रै सीमित छैन । तिनले यात्रा गर्दा त्यो कलम पनि उनले आफू सँगसँगै साथी लैजान्छन् । साँच्चै भन्ने हो भने, यसरी कलम बोकेर यात्रा गर्ने यात्राकर्ताहरूमध्ये विजयध्वज थापाको नाम अग्रपङ्क्तिमा आउँछ । जहाँ-जहाँ पुग्छन् उनी आफूलाई महत्वपूर्ण लागेको तत्तत् ठाउँ-विशेषका बारेमा उनी टिपोट गरिहाल्छन् । यसरी, टिपोट गर्दै जाने क्रममा उनीद्वारा अहिले एउटा सिङ्गो पुस्तक नै तयार भएको छ, जसको नाम रहेको छ- ‘दश घुम्ती’ ।
लेखकले भने जस्तो-यात्रा गर्दाका स्थान र त्यहाँको परिवेशलाई यी लेखनहरूमा प्राथमिकता दिइएका छन् । वास्तवमै पढ्दै जाँदा यिनमा तत्सम्बन्धी तथ्याङ्कहरू नै बढी पाइन्छन् । जस्तो कि-पहिलो शीर्षक ‘क्यान्डीको टेम्पल अफ टूथ’भित्र लेखकले भगवान् बुद्धको दाँत राखिएको ठाउँको वर्णन गरेका छन् ।
किताबको नामले नै सङ्केत गर्छ-यसभित्र १० वटा शीर्षकका विभिन्न स्थानका यात्रा वर्णन छन् । त्यसो त उनले आफ्नो भनाइमा स्पष्ट लेखेका छन्- ‘...आफ्नो अनुभूतिले ढपक्कै ढाकेर प्रस्तुत गर्नुभन्दा यात्राका क्रममा जे-जस्तो भेटिएका र देखिएका थिए तिनै कुरालाई जस्ताको तस्तै पस्किएको (प्रस्तुत गरिएको)... साधारणतयाः स्थान र परिवेशको बारेमा स्पष्ट पार्ने प्रयास गरेको छु ।’
‘धनकुटाको बसाइ’ शीर्षकको एउटा पुरानो स्मृति समेटिएको यो नियात्रासङ्ग्रहमा गत ०८० सालको बैशाख महिनामा यात्रा गरिएका देशभित्रका स्थानहरूको यात्रावर्णनरहेका छन् । ती स्थानहरूसम्म जाँदा बाटोमा पर्ने स्थानहरूको समेत वर्णन गरिएको छ । यसका अलावा, पुस्तकभित्रै देशबाहिर- श्रीलंका, भारतको कलकत्ता, थाइल्याण्डको बैंककमा यात्रा गर्दाका अनुभवहरूसमेत सङ्गृहीत भएका छन् । र, माथि नै पनि भनियो कि लेखकले भने जस्तो-यात्रा गर्दाका स्थान र त्यहाँको परिवेशलाई यी लेखनहरूमा प्राथमिकता दिइएका छन् । वास्तवमै पढ्दै जाँदा यिनमा तत्सम्बन्धी तथ्याङ्कहरू नै बढी पाइन्छन् । जस्तो कि- पहिलो शीर्षक ‘क्यान्डीको टेम्पल अफ टूथ’भित्र लेखकले भगवान् बुद्धको दाँत राखिएको ठाउँको वर्णन गरेका छन् । उनका अनुसार-श्रीलंकाको क्यान्डीस्थित एक स्तुपमा सजाइएको उक्त दाँतलाई सुवर्णको मुकुटले ढाकिएको थियो ।
यसरी नै बैंकक-यात्रामा त्यहाँका राजाको प्रतिमा बग्गीमा सजाएर बाजागाजासहित शहरको परिक्रमा गराउँदा त्यहाँका नागरिकले आफ्ना राष्ट्रनायकप्रतिको सद्भाव, आस्था र विश्वासलाई खुशीपूर्वक व्यक्त गरेको अवस्थाको वर्णन गरिएको छ । अर्कातिर, नेपालमा देख्न नसकिने खालको ठूलो-अग्लो भूमिबोल ड्याम, डोइ सुतेप नामक झलझलाउँदो सुनौल मन्दिरको अवलोकनको विस्तृत विवरण प्रस्तुत गरिएको छ । यही शहरको भ्रमणबीच रोयल पार्क राजाप्रुक पुग्दा लेखकले त्यहाँ थुप्रै देशका स्टलहरूमा आ-आफ्ना देशका झण्डा देख्छन् । त्यहीँनिर नेपालको स्टल पनि रहेछ-जहाँ लुम्बिनी झल्कनेस्तूप, सगरमाथा, पशुपतिनाथ र स्वयम्भूको पित्तलको मन्दिर सजाइएका थिए । यस्तो दृश्य देख्दा लेखकको मनमा आउँछ– “विदेशमा साधारण ठाउँलाई स्वर्गजस्तै बनाउँछन् । हामी आफ्नै पाइला-पाइलामा देखिने स्वर्गलाई भत्काउँछौँ, वास्ता गर्दनौँ ।”
देशभित्रैको स्थानहरूको यात्रा गर्ने क्रममा एउटा रोमाञ्चक दृश्य प्रस्तुत गरिएको छ, जहाँ लेखकले देख्न पुग्छन्- एउटा बारीको सबै ड्याङहरूमा धुस्नो तथा सुकेको स्याउलाले छोपेर आगो लगाइएको थियो । यसप्रति चासो राख्दा उनले थाहा पाउँछन्- त्यो जमीन चिसो भएको कारण त्यहाँ रोपिएका आलुको बीउ उम्रन नसक्ने भएकोले आगो बालिएको रहेछ । आगो बालिएपछि त्यसको रापले माटो तातो हुने र आलुको बिउमा टुसा लाग्ने यस खालको प्रविधि (सामान्यतः धैरैलाई थाहा नभएको) को जानकारी उनले गराएका छन् ।
त्यसो त, पुस्तक पढ्दै जाँदा पाठकलाई अधिकांशतः धार्मिक यात्रामा हिँडेको अनुभूत हुन्छ । कालिञ्चोक भगवती जाँदा, त्यो मन्दिर १२५०० फीटको उचाइमा रहेको र त्यहाँ केबुलकार चढेर गएको तर त्यहाँ पुग्दा देवी (भगवान्) को कुनै मूर्ति नै नरहेको,अझ त्यति अग्लो स्थानमा पानीको कुण्ड देखेर लेखक आश्चर्यचकित हुन पुगेका छन् । यसरी नै, लेखकले ‘हलेसीमा आरती’ शीर्षकअन्तर्गत हलेसी महादेव-गुफा एवम् नुवाकोटस्थित दुप्चेश्वर महादेवबारेमा भनिआइएको किंवदन्ती बताएका छन् । सो बताउने क्रममा ती स्थानहरूमा पुग्नुअघिका बाटाहरूमा हिँडिएका वा देखिएका दृश्यहरूलाई शब्दहरूमार्फत जस्ताको तस्तै प्रस्तुत गरेका छन् ।
समग्रमा, भूमिकाकामा पनि निष्कर्ष निकालिएको छ-‘यिनमा नियात्राकारको अध्यात्मचेतना र जीवनदर्शन विशेष रूपमा अभिव्यक्त भएको पाइन्छ ।’ अन्तमा, अलिकति खट्किएको कुरा के भने, यात्रा गर्दा तस्वीरहरू खिचिएका भनिएको छ-तिनलाई पनि पुस्तकका सम्बन्धित पृष्ठहरूमा समावेश गर्न सकेका भए यो ‘दशघुम्ती’ झन् मज्जाको फराकिलो राजमार्ग नै बन्ने थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच