साढे दुई सय वर्ष पुरानो मुखौटो लगाएर लाखे नाँच प्रदर्शन गर्दै बेनीका नेवार समुदाय

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 6 mins

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा साढे दुई सय वर्ष पुरानो मुखौटो (मुकुण्डो) लगाएर नागपञ्चमीको दिन (सोमबार) देखि सुरु भएको एक महिने वर्खे नाच अन्तर्गत लाखे नाचको प्रदर्शन गरिएको छ ।

सोमबार नागपञ्चमीको दिनदेखि बेनीमा नेपाल भाषा मंकाखल अन्तरगत ल्याम्हः पूचः (नेवार समुदायका युवा) हरुले बर्खे नाच देखाउन सुरु गरेका हुन् । आजभन्दा करिब तीनसय वर्षअघि भक्तपुरबाट नेवार समुदाय बेनीमा आएसँगै बेनीमा नेवार संस्कृति भित्रिएको हो ।
लाखे नाच नेवार संस्कृतिको धरोहर हो । यसरी भित्रिएको नेवार संस्कृतिमध्ये वर्षे नाचअन्तर्गत हरेक वर्षको नागपञ्चमीका दिनदेखि बेनीमा विभिन्न नाचका साथै लाखे नाच देखाउने गरिन्छ ।

घण्टाकर्ण चतुर्दशीका दिन परापूर्वकालमा समाजमा दुःख दिएको र विकृति फैलाएको भनिएको घण्टाकर्ण नाम गरेको राक्षसको प्रतिमालाई म्याग्दी नदी र कालीगण्डकीको दोभानमा लगेर विसर्जन गरिएपछि बेनीमा वर्षे नाच सुरु हुने गर्दछ ।

पति वियोगमा विक्षिप्त बनेकी घण्टाकर्णकी श्रीमतीको चरित्र लाखे नाचमा प्रदर्शन गरिन्छ । ठूलाठूला आँखा भएकी, दाह्रा निस्केकी, जगल्टा फिँजाएकी देख्दै डरलाग्दी घण्टाकर्णकी श्रीमतीलाई लाखेको सङ्ज्ञा दिएर प्रदर्शन गरिने यो नाच बेनीको प्रशिद्ध नाच हो ।

यस्तो छ लाखे नाचको विशेषता

बेनीका नेवार समुदायका व्यक्तिहरूले लाखे बन्ने व्यक्ति परिवर्तन गरिरहन्छन् तर, लाखे बन्न लगाइने मुखौटो भने साढे दुई सय वर्ष अघिकै प्रयोग गर्दै आइरहेका छन् ।

“समय र प्रविधिसँगै नेवार समुदायको संस्कृतिमा पनि निकै उतारचढाव र परिवर्तन आए । कैयौँ पुस्ता बिते । अनेकौँ मौलिक संस्कृति लोप भए तर लाखे नाचका लागि प्रयोग गरिने मुखौटो (मुकुण्डो) मा भने कुनै परिवर्तन आएन । करीब साढे दुई सय वर्ष अर्थात् १० औं पुस्तादेखि एउटै मुकुण्डो प्रयोग हुँदै आएको छ” नेवार समुदायका अगुवा युवा सुविन श्रेष्ठले बताउनुभयो ।

लाखे नाचमा अन्य गतिविधिभन्दा पनि मुखौटो विशेष आकर्षणको केन्द्र हुने गर्छ । बेनी बजारमा मानवबस्तीको विस्तारसँगै नेवार समुदायले पनि हरेक वर्ष लाखे नाच देखाउँदै आएका छन् । अहिले पनि साढे दुई सय वर्ष पहिलाको उही मुखौटो लगाएर नाच देखाउने गरिन्छ ।

पहिलो पुस्ताले ल्याएको मुखौटोलाई अहिलेका नवौँ पुस्ताका सदस्यले समेत प्रयोग गर्दै आएको बेनी नगरपालिका–७ का वडाअध्यक्ष समेत रहनु भएका नेवार समुदायका अगुवा रमेश श्रेष्ठले बताउनुभयो । बेनीका नेवार समुदायसँग रहेको मुखौटो नेपालभरिका नेवार समुदायको भन्दा विशेष आकर्षक रहेको र यसको चर्चा सर्वत्र हुने गरेको श्रेष्ठले जानकारी दिनुभयो ।

बेनीमा लाखे नाच, गोरु नाच, रोपाइँ नाच, जोगी नाच, नागनागिनी नाच, श्रीकृष्ण रथयात्रासहित विविध नाच देखाइने गरिन्छ ।
जनशक्तिको अभाव हुन थालेपछि हनुमान नाच र रोपाइँ नाच भने लोप हुने अवस्थामा रहेको छ । पहिले तोरीको तेलले सफा गरिने मुखौटोलाई आकर्षक देखाउन अहिले इनामेल प्रयोग गर्ने गरिएको ल्यामपुचका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो ।

बर्खे नाचको सुरुवात लाखेको पतिअर्थात् घण्टाकर्ण नामक राक्षसको पुत्ला दहन गरेर हुन्छ भने तीजको साँझमा दानवीय स्वरूपको लाखेलाई भगवान् श्रीकृष्णरुपी शक्तिले बध गरेपछि यो नाचको अन्त्य गरिन्छ ।

हिन्दू धर्म ग्रन्थमा वर्णित द्वापरयुगमा भगवान् श्रीकृष्ण र उनका मामा कंशबीचको लडाइँको अभिनय गरी यो नाच नाच्ने गरिन्छ ।
नेपाल भाषा वंशावलीअनुसार लाखे नाचको चलन राजा गुणकामदेवले सुरु गरेको बताइए पनि राजा प्रताप मल्लका पालादेखि मुकुट लगाएर लाखे नाच्ने गरिएको नेवार समुदायका अगुवाले बताएका छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?