✍️ स्वयम्भुनाथ कार्की
सर्वहारावर्गको पक्षमा भनेर हुने गरेका राजनीतिक क्रियाकलापहरू, राष्ट्रिय अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको विशेष ध्यान वा विभिन्न दबाब समूहहरूको अभियानले गर्दा धेरैजसो मध्यमवर्गीयलाई आफू सर्वहारा हो कि भन्ने भ्रम रहेको पाइन्छ । निम्न मध्यमवर्गमा पर्ने व्यक्तिहरू, सर्वहारावर्गको नेतृत्व गर्ने राजनीतिक दलका सदस्यहरू वा भेदभाव नराम्रो कुरा मान्ने चेतनशील समूहहरू पनि आफूलाई सर्वहारावर्गको सदस्य ठान्दछन् ।
सर्वहारा, मध्यम अनि पुँजीपति आर्थिक हैसियतको कारणले होइन राजनीतिक सिद्धान्तसँगको आबद्धताले हुन्छ भन्ने सोच स्थापित हुँदैछ । त्यसैले अपवादबाहेक विश्वका वामपन्थी नेताहरू सम्पन्न भेटिने गर्दछन् । सर्वहाराको नेतृत्व गर्ने यस्ता नेताहरू सम्पन्नहरूको भन्दा ज्यादा सम्पत्ति हुने गर्दछ । मजदुरका उच्च नेताहरूमा कति वास्तविक मजदुर छन भनेर खोज्ने हो भने अनौठो परिणाम देखिन सक्छ ।
सम्पत्ति तथा उत्पदन प्रणालीको व्याख्या गरेर आर्थिक र उत्पादन प्रणालीमा व्यक्तिको स्थानको आधारमा वर्गहरूको आधिकारिक परिभाषा माक्र्स र एंगेल्सबाहेक अरूको शायदै होला । सर्वहारावर्गको पार्टी भनेर स्थापित कम्युनिष्ट पार्टीको घोषणापत्रको भूमिकामा २४ जुन, १८७२ मा कार्ल माक्र्स र फ्रेडरिक एंगेल्स लेख्नु हुन्छ ‘घोषणापत्र त एक ऐतिहासिक दस्तावेज बन्यो, जसलाई बदल्ने अब हामीलाई कुनै अधिकार रहेन ।’ यस परिपेक्षमा सर्वहारावर्गको जुन परिभाषा यस ग्रन्थमा गरिएको छ त्यो अपरिवर्तनीय तथा आधिकारिक हो जसलाई परिवर्तन गर्ने अधिकार कसैलाई छैन ।
यही माक्र्सको घोषणा पत्र विश्वका सबै कम्युनिष्ट पार्टीहरूको आधार हो भन्दा फरक हुँदैन । माक्र्सको नाम पार्टीको नाममा जोडेर विश्वका धेरै कम्युनिष्ट पार्टीहरूले उनलाई सम्मान दिएका छन् । उनको तस्वीर, उनको नाम अनि उनको दर्शनको चर्चा विश्व क्म्युनिष्ट आन्दोलनको प्रतिरूप हो । त्यसैले सर्वहारा र मध्यमवर्गको बारेमा उनको भनाइ मानक हो ।
कम्युनिष्ट पार्टीको घोषणपत्रमा परिभाषा गरिए अनुसार सर्वहारा भनेको त्यो मजदुर हो जोसँग उत्पादनको कुनै साधन हुँदैन । जीवित रहन आफ्नो श्रमशक्ति बेच्न विवश हुन्छ । शायद यसैलाई आधार मानेर होला डा. नरेन्द्र चापागाई आफ्नो नेपाली शब्दभण्डार नामक शब्दकोषमा सर्वहारा अर्थ लेख्नु हुन्छ ‘सबै कुरा नष्ट भएको, श्रीसम्पत्ति, जग्गाजमिन तथा अधिकार केही पनि नभएको’ । यी परिभाषाको कसीमा हेर्दा आफूलाई सर्वहारा ठान्ने धेरै मध्यमवर्गमा पर्दछन् । अझ मध्यमवर्ग भन्न असजिलो लागेमा निम्न मध्यमवर्ग भने पनि हुन्छ तर सर्वहारा किमार्थ भन्न सकिँदैन । माक्र्सले निम्न मध्यमवर्गलाई सर्वहारावर्गको मित्रको रूपमा मानेको छैनन्, उनीहरूलाई रूढिवादी तथा प्रतिगामी भनिएको छ (कम्युनिष्ट पार्टीका घोषणापत्र, दुसरा संशोधित संस्करण १९८६ पृ. ४२-४३) ।
बुर्जुवाको उत्पादन साधनमा काम गरेर ज्याला लिने सर्वहारा हो । कुनै साधन भाडामा वा ठेक्कामा लिएर श्रम गर्ने श्रमिक पनि सर्वहारा होइन (उही पृ.७६) । यस परिभाषा अनुसार किस्तामा रिक्सा लिएर पसिना बगाई किस्ता तिरेर बाँकी रहेको खर्च गर्ने रिक्सावाला पनि सर्वहाराको कोटीमा पर्दैन । अर्काको जमिन कमाएर ठेक्का वा अधियाँ बुझाउनेहरू त निर्विवाद मध्यमवर्ग नै हुन् । एक दु्ई कम्प्युटर वा यस्तै कमाइका साधन आफ्नो स्वामित्वमा राखेर त्यसमा श्रम गर्ने सर्वहारमा पर्दैनन् ।
ऋणपान गरेर अलिकति साधन जुटाई आफ्नो साधनमा श्रम गर्ने पनि सर्वहारा होइनन् । भूमिहीनको श्रेणीबाट केही भूमिप्राप्त गर्ने कोही पनि उत्पादन साधनमा आफ्नो स्वमित्व हासिल गर्ने बित्तिकै सर्वहारा रहँदैनन् । व्यक्तिगत सम्पत्तिको आर्जन वा उत्तराधिकार हुने बित्तिकै त्यो व्यक्ति सर्वहारा हुँदैन भन्ने कुरा सर्वहाराको परिभाषाले नै निश्चित गरेको छ ।
वर्ग विश्लेषणमा मध्यमवर्गमा परेर पनि आफूलाई सर्वहारा भनेर भ्रममा पर्ने जमातबाट मध्यमवर्गको अहित हुने त छँदैछ सर्वहारावर्गलाई पनि त्यो जमातबाट हानी नै पुग्दछ । सर्वहारावर्गको पार्टीको रूपमा स्थापित कम्युनिष्ट पार्टीको सिद्धान्तलाई एक वाक्यमा समेट्न सकिन्छ : निजी स्वमित्वको उन्मोलन (उही पृ.४७) । यस वाक्यले अझ भावनात्मक विषेशता पनि देखाउँछ त्यो के हो भने सर्वहारासँग निजी सम्पत्ति नहुनेमात्र होइन निजी सम्पत्तिको मोह पनि हुन हुँदैन ।
यदि कसैको निजी सम्पत्ति छ भने त्यसको उन्मोलन हुनुपर्दछ । मध्यमवर्ग त्यो हो जोसँग बेच्ने उसको श्रमबाहेक केही निजी स्वामित्वको सम्पत्ति पनि हुन्छ । त्यो सम्पत्ति खर्चबाट उवारेर भविष्यको निमित्त साँचेको केही नगद हुनसक्छ । पछि पर्ने आवश्यकता पूरा गर्न बेच्न योग्य समान हुनसक्छ । जो माक्र्सकोे परिभाषामा भनिएको आफ्नो श्रमबाहेक बेच्ने अरू कुरा नभएको सर्वहारासँग मेल खाँदैन ।
पुँजीपति र सर्वहारा दुवै वर्ग एक अर्काको विपरीत तर परिपूरक हुन्, चुम्बकमा उत्तरी र दक्षिणी ध्रुव झैँ, विद्युत्मा ऋणत्मक र धनात्मक तार भएजस्तै । यदि माक्र्सले परिकल्पना गरेको साम्यवाद भएको खण्डमा सर्वहारा आफ्नो निजी नभएर अरू कसैको उत्पादन साधनमा काम गरिरहेको हुनेछ । सामूहिक स्वामित्वको अस्तित्व स्वीकार गर्दा पनि कुनै विशाल कारखानाको शेयरधनी त्यसै कारखानाको मजदुर भए सरह त्यस साधनमा उसको स्वमित्व रहने छ । यसरी कुनै स्वामित्व रहने बित्तिकै त्यहाँ सर्वहारा हुँदैन । सर्वहारा कायम हुन त्यो स्वामित्व त्याग्नुपर्ने हुन्छ । कुनै वर्ग विशेषलाई दिइने सहुलियत केवल त्यो वर्गलाई मात्र होे भर्खरै भए पनि त्यसबाट अर्को वर्गमा पर्ने बित्तिकै त्यसलाई होइन ।
स्वरोजगार र त्यसबाट पैदा हुने आत्मनिर्भरता मध्यमवर्गमा आधारित उत्पादन प्रणालीमा मात्र सम्भव छ । सामन्यतया जीवनयापनका निमित्त आवश्यक पर्ने साजसमानहरूको प्रमुख उत्पादक र उपभोक्ता मध्यमवर्ग आफैँ हुँदा यो वर्ग आत्मनिर्भर हुन्छ । ठूलाठूला दर्शनशास्त्रका ठेली खार्ने, अर्थशास्त्रका प्रकाण्ड पण्डितहरू वा अन्य बुद्धिजीविलाई यो कुरा अपच हुन सक्छ । तीन चार दशकमात्र पहिलेको मुलुकको गाउँले समाजमा चलेको चलन हेर्ने हो भने यो कुरा स्वतः सावित हुन्छ । त्यस बखतको समाज धेरै कम वस्तुको निमित्तमात्र अरूमा निर्भर थियो । अरूमा निर्भर हुनुपर्ने वस्तुमा पनि नभई नहुने किसिमका वस्तु त नगन्य नै थिए । खेतीमा आधरित त्यतिबेलाको उत्पादनमा नगदको आदानप्रदान न्यून थियो ।
वस्तु विनिमयको आधारमा मूल्य चुकाइने परम्परामा मुद्रामा हुने अवमूल्यन वा वस्तुको मोलको तलमाथिले खासै फरक पार्दैन थियो । बाली उठाउने बेलामा दिने भनेर उत्पादनको निश्चित हिस्सा ज्याला दिने चलन अहिले छँदैछ । यो वस्तु विनिमय हो । पैसाको मोलमा हुने तलमाथिले यसमा फरक पार्दैन । मानौं कुनै बेला त्यो ज्यालाको नगद मूल्य सय रुपैयाँ थियो भने ज्यालामा पाउने दिनेको मोल पनि त्यसै हाराहरीमा हुन्छ । अब मुद्राको मोल घटेर ज्याला डेढ सय भयो भने ज्यालामा पाएको वस्तुको मोल पनि बढेर लगभग त्यही नै हुन्छ अर्थात् डेढ सय ।
मध्यमवर्गमा आधारित उत्पादन प्रणाली बिक्री विनिमयको मात्रा र उत्पादको क्षमता जस्ता कारणले गर्दा पहिले स्थानीय आवश्यकतामै खपत हुने गर्दथ्यो । त्यसपछि बचेको मात्रा मात्र स्वस्थानबाट बाहिर निकासी हुने कारणले गर्दा बाली उठाउने बेलामा सबै बाहिर निकासी गरेर अरू बेला आफ्नो त्यो उत्पादन फेरि महँगोमा खरिद गर्नुपर्ने अवस्था सामन्यतया थिएन । यसरी उत्पादक समुदायको खाद्य संप्रभुता कायम थियो ।
पुँजीपति र सर्वहाराको संघर्षको यो हुरीमा मध्यमवर्ग आफ्नो अस्तित्वलाई अभिशाप ठान्न थालेको छ । यसैले ऊ भित्री मनले पुँजीपति हुने चाहना राखेर पनि सकेसम्म सर्वहारा कहलिन चाहन्छ । यसको यो चाहत नै अहिलेको निमित्त खतरनाक छ । स्वरोजगार र आत्मनिर्भरताको निमित्त मध्यमवर्गीय उत्पादन प्रणाली नै एक मात्र विकल्प हो जसले संघर्ष होइन मायाँ पैदा गर्छ । विश्वका कुनै पनि मुलुकको तेजीमन्दी यसका सामुन्ने बेअसर छ ।
परिभाषा अनुसारको सर्वहारा हमेशा कायम रहन सक्दैन । त्यसैले आर्थिक हैसियत बढाउँदै सर्वहाराबाट मध्यमवर्गमा आइसकेपछि केवल सर्वहारालाई भनेर दिइँने सुविधाको लोभ गर्नु ठीक होइन । केवल बेठीकमात्र होइन वास्तविक सर्वहारको शोषण पनि हो । मध्यमवर्गलाई गर्व हुनुपर्दछ कि यही वर्गले नै विश्व थामेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच