पहिरोले गल्छी-देवीघाट सडकखण्ड अवरुद्ध

रासस
Read Time = 2 mins

त्रिशुली । ‘गल्छी-रसुवागढी सडक योजना’ अन्तर्गत नुवाकोटको बेलकोटगढी नगरपालिका-७ लामासोतीमा बिहीबार अपराह्न गएको सुक्खा पहिराले सडक अवरुद्ध भएको छ ।

नुवाकोट र रसुवावासीलाई अन्य जिल्लासँग जोड्ने मुख्य राजमार्गमा पहिरो जाँदा आवागमन पूर्णरूपमा बन्द भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक गुणनिधि खकुरेलले जानकारी दिनुभयो । चारपाङ्ग्रे सवारीसाधन आउजाउ गराउन वैकल्पिक सडक नहुँदा काठमाडौं पुगेर टोखा छहरेको सडक हुँदै आउन उहाँले आग्रह गर्नुभयो ।

‘गल्छी-देवीघाट सडकखण्ड’ अन्तर्गत पर्ने बुधसिंहघाटस्थित लामासोतीमा गत वर्ष ठूलोभिर काटेर ‘गल्छी-रसुवागढी सडक योजना’ अन्तर्गतको दायाँबायाँ ११ मिटर सडक निर्माण गरिएको थियो । उक्त स्थानमा करिब पाँच सय मिटरमाथिबाट खसेको सुक्खा पहिराले दुई सय मिटर सडक पूर्णरूपमा अवरुद्ध बनाएको छ ।

सडक खुलाउन ‘गल्छी-रसुवागढी सडक योजना’को कार्यालय र डिभिजन सडक नुवाकोटले प्रयास गरिरहेका छन् । ठूलो भिरमा माथिबाट थप ढुङ्गासहितको माटो खसिरहेकाले सडक खुलाउन चुनौतीपूर्ण बनेको ‘गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी योजना कार्यालयका सूचना अधिकारी सन्तराम पाण्डेले जानकारी दिनुभयो । पहिरो गएको स्थानमा नुवाकोबाट धादिङ लगिएको विद्युतीय प्रसारण लाइन र केही खम्बामा समेत क्षति पुगेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?