काठमाडौं । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)ले ६ अर्ब ८० करोड अतिरिक्त सहायता रकम प्रदान गर्ने भएको छ । अमेरिकी अनुदान र नेपाल सरकारको लागत साझेदारीमा गत २०८० साल भदौदेखि कार्यान्वयन भएको ९२ अर्ब बराबरको एमसिसी अन्तर्गतका आयोजनाका निम्ति उक्त रकम प्रदान गर्ने निर्णय भएको एमसिसी सञ्चालक समितिले जनाएको हो ।
‘एमसिसी सञ्चालक समितिले नेपाल कम्प्याक्टका लागि थप पाँच करोड अमेरिकी डलर स्वीकृत गरेको छ । बोर्डको यो निर्णयले रूपान्तरणकारी, उच्च गुणस्तरीय पूर्वाधार परियोजनामार्फत नेपालको विकास प्राथमिकता कार्यान्वयन गर्ने एमसिसी र नेपाल सरकारबीचको साझा प्रतिबद्धतामा जोड दिएको छ,’ एमसिसीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।
अतिरिक्त सहायता रकमबाट नेपालको विद्युत् प्रसारणलाई सुदृढ गर्न, दीर्घकालीन आर्थिक वृद्धिका साथै ‘कम्प्याक्ट’को सफलता सुनिश्चित गर्न योगदान पुग्ने विश्वास एमसिसी कम्प्याक्ट अपरेसनका उपाध्यक्ष क्यामरन अल्फोर्डले व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसले कम्प्याक्टको कुल बजेटलाई ७४७ मिलियन अमेरिकी डलरसम्म पु¥याउने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ । यो कदमले अमेरिका र नेपालबीचको लगातार र सशक्त साझेदारीलाई प्रदर्शन गरेको छ । यसले नेपाली नागरिकहरूको जीवनस्तर सुधार गर्नका लागि रूपान्तरणकारी पूर्वाधार परियोजनाहरू अघि बढाउनका लागि दुवै देशको समर्पणलाई थप प्रगाढ पनि बनाउने बताइएको छ । यस थप सहयोग प्रस्तावलाई अब नेपाल सरकारको स्वीकृतिका लागि पठाइनेछ ।
आर्थिक वृद्धिमार्फत विश्वव्यापी गरिबी निवारण गर्नका निम्ति कार्यरत मिलेनियम च्यालेञ्ज कर्पोरेसन अमेरिकी सरकारको एक स्वतन्त्र विकास निकाय हो । सन् २००४ मा स्थापित एमसिसीले सुशासन, भ्रष्टाचार विरुद्धको लडाइँ र लोकतान्त्रिक अधिकारको सम्मानसम्बन्धी कडा मापदण्डहरू पूरा गर्ने देशहरूलाई अनुदान उपलब्ध गराउँदै आएको छ । यस्तो सहयोग पूर्वाधार निर्माण वा सुधारका साथै नीतिगत तथा संस्थागत सुधारमा लगानी गर्नका निम्ति समय सीमामा बाँधिएका अनुदान उपलब्ध गराउने गरिएको छ ।
एमसिसी परियोजनाअन्तर्गत चार सय केभीको डबल सर्किट ३१५ किलोमिटर विद्युत् प्रसारण लाइन बन्नेछ । काठमाडौंको लप्सीफेदी र नुवाकोटको रातमाटेमा सबस्टेसन, मकवानपुर, धादिङ, तनहुँ, पाल्पा, चितवन, नवलपरासी हुँदै भारतको महेशपुरसम्म प्रसारण लाइन बनाइने छ । प्रसारण लाइन निर्माणपछि नेपाल-भारतबीच तीन हजार मेगावाट बिजुली आदानप्रदान सम्भव हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच