काठमाडौं । राजनीति कसका लागि ? यो प्रश्नको एउटै उत्तर छ- जनताका लागि राजनीति गर्नेहरूको एउटै उद्देश्य जनसेवा हो र हुनुपर्छ । हरेक पेसा व्यवसाय वा क्षेत्रमा मानिसहरू अधिकतम् उपल्लो तहमा पुग्न चाहन्छन् । नेपालको सन्दर्भमा राजनीति गर्नेहरू पुग्ने उपल्लो थलो राष्ट्रपति र उपराष्ट्रपति हो । सभामुख/राष्ट्रिय सभाध्यक्ष पनि ‘सम्मानित’ दर्जाको राजनीतिक पद हो । कार्यकारी भूमिकामा जान चाहनेहरू प्रधानमन्त्री ताक्न सक्छन् । यी पदमा पुगेका सबैलाई ‘सम्माननीय’ सम्बोधन गरिन्छ । संघीय लोकतान्त्रिक गणतन्त्रपछि यी पदमा पुग्ने व्यक्तिहरू सीमित छन् । अझै एउटै कार्यकालमा दोहोरिएका कारण राष्ट्रपति र उपराष्ट्रपति हुनेहरूको सूची त झन् छोटो छ । हालसम्म दुई÷दुईजना पूर्वराष्ट्रपति र उपराष्ट्रपति छन् । पूर्व-राष्ट्रपतिद्वय डा. रामवरण यादव र विद्यादेवी भण्डारी, उपराष्ट्रपतिद्वय परमानन्द झा र नन्दबहादुर पुन हुनुहुन्छ । चारमध्ये दुई पूर्वसम्माननीय यादव र झा ‘रिटायर्ड’ जीवन बिताइरहनु भएको छ । तर, अर्को दुई पूर्व-सम्माननीयद्वय भण्डारी र पुन भने पुनः राजनीतिमा फर्किने तरखरमा हुनुहुन्छ । पुन त पूर्ववत् दल नेकपा (माओवादी केन्द्र)को बैठकमै सहभागी भइसक्नु भएको छ ।
संविधान वा कुनै कानुनले राष्ट्रपति, उपराष्ट्रपतिलाई पदावधि सकिएपछि राष्ट्रपतिमा सक्रिय हुन छेकेको छैन । भण्डारी र पुन वा यसपछिका राष्ट्रपति र उपराष्ट्रपतिलाई सक्रिय राजनीतिमा फर्कने ढोका खुलै छ । तर, प्रश्न उठ्छ एक होइन, लगातार दुई/दुई कार्यकाल राष्ट्र प्रमुख र उपराष्ट्र प्रमुखसम्म भइसकेका व्यक्ति पुनः राजनीतिमा किन ? ‘सम्माननीय’ सम्बोधन पाइसकेका व्यक्तिहरू पुनः राजनीतिमा आएर गर्ने के हो ?
आम मानिसमा राजनीतिप्रति वितृष्णा बढ्दो छ । मतदाताले विकल्प खोजिरहेका छन् । वैकल्पिक राजनीतिको नारा दिएर आएका नयाँ दलहरू त टिक्न नसकिरहेका बेला उपल्लो पदमा पुगिसकेका ‘टेस्टेड’हरू राजनीतिमा आएर जनअपेक्षा पूरा हुन्छ ? वितृष्णा घट्छ ? अहँ ! उनीहरूले कुनै चामत्कारिक काम गर्छन् भन्ने धेरैलाई विश्वास लाग्दैन । पुन र भण्डारी सक्रिय राजनीतिमा आउने तरखर गरिरहँदा अर्को दुई पूर्व-सम्माननीय भने सक्रिय राजनीतिबाट टाढै छन् । पूर्वराष्ट्रपति यादव र उपराष्ट्रपति झा आफ्नै निवासमा दिन बिताइरहनु भएको छ ।
दुवैका आ-आफ्नै दाउ
पूर्वराष्ट्रपति भण्डारी र पूर्व-उपराष्ट्रपति पुन सक्रिय राजनीतिमा आउन चाहनुमा उनीहरू मात्रै होइन पूर्ववत् दलको भूमिका पनि महत्वपूर्ण छ । एमाले र माओवादीका उच्च तहका नेताहरूले नै भण्डारी र पुनलाई सक्रिय गराउन चाहिरहेको चर्चा राजनीति वृत्तमा छ । पुन त सक्रिय राजनीतिमा फर्किसक्नु भएको छ । माओवादी केन्द्रले पुनलाई पार्टी उपाध्यक्ष मनोनयन गर्ने तयारी गरेको छ । माओवादी पदाधिकारी बैठकले पुनलाई उपाध्यक्ष बनाउने निर्णय गरिसकेको छ । पदाधिकारी बैठकले विधान संशोधन गर्न वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोजकत्वमा महासचिव देवप्रसाद गुरुङ तथा उपमहासचिवहरू वर्षमान पुन र जनार्दन शर्मा सदस्य रहेको कार्यदल बनाएको छ । केन्द्रीय समिति बैठकमा संशोधित विधान पारित गर्ने र पुनलाई उपाध्यक्षमा मनोनीत गर्ने माओवादीको तयारी छ ।
उहाँ वरिष्ठ नेताको हैसियतले बिहीबार स्थायी समितिको बैठकमै उपस्थित हुनुभएको थियो । उहाँलाई पदाधिकारी बस्ने कुर्सीको लाइनमा बस्ने व्यवस्था गरिएको थियो । पुनलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाचल ‘प्रचण्ड’ले उपाध्यक्ष पद दिने आश्वासन दिएर बैठकमा बोलाएको राजनीतिक वृत्तमा चर्चा छ । प्रचण्डकै चाहनामा पुन सक्रिय राजनीतिमा फर्कने माओवादीभित्रै चर्चा छ ।
यसैगरी, भण्डारी सक्रिय राजनीतिमा आउने चर्चा भए पनि उहाँले खुलेर आइसक्नु भएको छैन । तर, विभिन्न घटनाक्रमले उहाँ सक्रिय राजनीतिमै आउने संकेत गरेका छन् । उहाँले गत असोजमा बोल्दै आफू पार्टीमा फर्केर अध्यक्ष बन्ने सम्भावना टरिनसकेको बताउनुभएको थियो । राष्ट्रपतिको कार्यकाल पूरा भएपछि २०८१ जेठ १६ मा विद्या पहिलोपटक एमालेनिकट अखिल नेपाल महिला संघद्वारा आयोजित एक कार्यक्रममा प्रमुख अतिथि बन्नुभएको थियो । असार ३ गते मदन भण्डारी फाउन्डेसनको स्थलगत अवलोकन गरेर उहाँले राजनीतिक सक्रियताको छनक दिनुभएको थियो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि बेला बेलामा भण्डारीबारे सार्वजनिक टिप्पणी गर्दै आउनुभएको छ । त्यति मात्रै होइन उहाँले भण्डारीसँग राजनीतिक सन्देश दिनेगरी भेटवार्ता पनि गरिरहनु भएको छ । प्रधानमन्त्रीसमेत रहनुभएका ओलीले बिहीबार अपराहृन मात्रै पार्टी बैठकलगत्तै पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न उहाँकै निवास पुग्नुभएको थियो । उहाँहरूबीच करिब दुई घण्टा वार्ता भएको बताइन्छ । यसअघि असार २८ मा ओली प्रधानमन्त्री नियुक्त भएको सूचना सार्वजनिक हुनासाथ पूर्वराष्ट्रपति भण्डारी भेट्न चपली पुग्नुभएको थियो । भण्डारी शुक्रबार फेरि सार्वजनिक कार्यक्रममा देखिनुभएको थियो । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको ‘आमा सपना र ताराहरू’ पुस्तक लोकार्पणमा उहाँ प्रमुख अतिथि बन्नुभएको थियो । कार्यक्रममा प्रधानमन्त्री ओली भने सहभागी हुनुभएको थिएन ।
यसलाई कतिपयले पूर्वराष्ट्रपति भण्डारीलाई मात्रै बोलाएर पोखरेलले आफ्नोे कित्ता ‘क्लियर’ गरेको रूपमा समेत अथ्र्याएका छन् । एमालेको ११औँ महाधिवेशन नजिकिँदै छ । २०७८ मंसिर १० गते सौराहामा १०औँ महाधिवेशन गरेको एमालेले २०८२ मंसिरभित्र ११औँ महाधिवेशन गरिसक्नु पर्दछ । ११औँ महाधिवेशनको पूर्वसन्ध्यामा खासगरी भण्डारी पुनः सक्रिय राजनीतिमा फर्किने कुराले धेरैको सबैको ध्यान खिचेको छ । कतिपयले यसलाई ओलीको विकल्पका रूपमा समेत हेरेका छन् ।
राजनीतिबाट पर बस्न महामन्त्री शर्माको सुझाव
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिभन्दा पर बस्न सुझाव दिनुभएको छ । शुक्रबार एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको ‘आमा सपना र ताराहरू’ पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै महामन्त्री शर्माले राजनीतिभन्दा परै बसेर सामाजिक परिवर्तनको नायक बन्न सुझाव दिनुभएको हो । फेरि राजनीतिमा आउँदा केहीको मात्रै बन्ने शर्माको भनाइ थियो । ‘फेरि राजनीतिमा आउन चाहनुभएका, साथीहरूले इच्छा राख्नुभएको भन्ने पनि चर्चा छ । मेरो शुभकामना छ । यहाँको सफलताको म सम्मान गर्छु । यदि कसैले मलाई तिम्रो देशको शीतल निवासबाट निस्किएको पूर्व-राष्ट्रपतिले के गर्नुपर्छ ? भनेर सोध्नुभयो भने मैले सामाजिक अभिभावक यो देशलाई चाहिएको छ । राजनीतिमा आएर कसैको मात्रै बन्ने पनि सुविधा छ । राजनीतिभन्दा पर सामाजिक परिवर्तनको नायक बनेर सबैको बन्ने अवसर पनि छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच