नवलपरासी । नेपालको महत्वपूर्ण लाइफलाइन मध्येको एक पूर्व-पश्चिम राजमार्गको बुटवल-नारायणघाट खण्ड विस्तारमा ढिलाइ हुँदा स्थानीय बासिन्दा र यात्रुहरू सास्ती भोग्न बाध्य छन् । चाइना स्टेट इन्जिनियरिङ कर्पोरेशनले निर्माणको जिम्मा लिए पनि तोकिएको समयमा काम सम्पन्न गर्न नसक्दा धूलो, खाल्टाखुल्टी र जामका कारण सर्वसाधारण मर्कामा परेका हुन् । धूलो र खाल्टाखुल्टीको सास्ती व्यहोर्दै आएका सर्वसाधारणले सोमबार बेलुकीदेखि भने भारी शीतलहरको समेत सामना गर्दै आएका छन् । शीतलहरका कारण सडक चिप्लो बन्दा बुधबार त दाउन्ने सडक खण्डमा घण्टौंसम्म जाम पर्यो । अवरुद्ध यातायात बिहीबार दिउँसोमात्र एकतर्फी रूपमा सञ्चालनमा आएको थियो ।
शीतलहरका कारण बाटो चिप्लो हुँदा सवारी जाम र दुर्घटनाको जोखिमसमेत बढेको सवारी चालकहरूले बताएका छन् ।
बर्दघाट नगरपालिका-४ स्थित खुर्सानीखोलामा पहाड काटेर विस्तार गरिएको बाटोको माटो अत्याधिक चिप्लो हुँदा सवारीसाधन चल्न नसक्ने अवस्था आएको हो । हिउँदे वर्षात् र आगामी वर्षायाममा यो सडक अझ बढी जटिल बन्ने चिन्ता बढेको छ । पहाड काट्दा र सडक चौडा गर्दाको चिम्टाइलो माटोले अत्याधिक शीतका कारण सवारी नै अवागमन हुन नसक्ने गरी सडक चिप्लो बनाएपछि राजमार्ग अवरुद्ध बनेको थियो । ठेक्का पूरा गर्नुपर्ने समय सकिएर दुई पटकसम्म म्याद थप भइसकेको छ । ठेक्का लागेको ६ वर्ष पूरा भएको छ । २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजनाको शिलान्यास गर्नु भएको थियो । सम्झौता अनुसार ४२ महिनाभित्र निर्माण सम्पन्न हुनुपर्ने थियो तर करिब ६ वर्ष बितिसक्दा पनि ५५ प्रतिशत मात्र काम सकिएको छ ।
बुटवल-दाउन्ने र दाउन्ने-नारायणघाट गरी दुई खण्डमा विभाजन गरिएको सडक आयोजनाको बर्दघाट–दाउन्ने खण्ड (४८ दशमलव ५३ किमी)मा जम्मा ३२ किमीमात्र कालोपत्रे गरिएको छ । मुख्य बजार क्षेत्रहरू खैरेनी, घोडाहा, बर्दघाटमा एकतर्फी कालोपत्रेसमेत नभएर स्थानीय बासिन्दाले धूलो र ट्राफिक जामको सामना गर्नुपरेको छ । बर्दघाटका स्थानीय बासिन्दा तथा बर्दघाट उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष ताराप्रसाद गौतमले निर्माणको ढिलाइले बर्दघाटबासी पलायन हुनुपर्ने अवस्था आएको बताउनुभयो । उहाँले भन्नुभयो, तीन-चार वर्ष भयो बाटो बन्दैनन्, व्यापार छैन । बेच्न राखेका सामान नै धुलो-धुवाँले नचिनिने र करूरुप भएका छन् ।’ कम्तीमा एकतर्फी कालोपत्रे भएमात्रै अर्कोतर्फको बाटो बनाउने तयारी थालेको भए जनताले राहत पाउने गौतमको भनाइ छ ।
चाइना स्टेटका सूचना अधिकारी बेचन भट्टराईका अनुसार हाल पश्चिम खण्डमा करिब चार सयजना कामदार सडक निर्माणमा खटिएका छन् । उहाँका अनुसार असारसम्म एकतर्फी कालोपत्रे गर्ने लक्ष्य राखिएको छ । तर, मुख्य बजार क्षेत्रहरूमा सुस्त कामका कारण दुर्घटना जोखिम बढिरहेको छ । बर्दघाट बजार क्षेत्रमा दुई किलोमिटर दूरीमा चारवटा कल्भर्ट निर्माणको क्रममा छन्, जसले बाटो झन् असहज बनाइरहेको छ ।
विशेषगरी, दाउन्ने सडकखण्ड सबैभन्दा जोखिमपूर्ण रहेको छ, जहाँ १६ किलोमिटर सडक छिचोल्न कम्तीमा एक घण्टा लाग्छ । तर, बुधबार बाक्लो शीतलहरले सडक चिप्लो भएपछि सवारी जाम हुँदा उक्त सडक पार गर्न सवारीसाधनलाई ११ घण्टा लागेको थियो । सडकखण्डमा रातभरको जामले यात्रुहरू हैरान भएका थिए । कतिपय यात्रुहरू राति हिँडेरै गन्तव्यतर्फ गएका थिए । यहाँ अझै दुई किमी पहाड काट्न बाँकी छ । निर्माण कम्पनीले समय-समयमा धूलो कम गर्न पानी छर्कने गरे पनि खाल्डाखुल्डी पुर्न चासो नदेखाएको यात्रुहरू बताउँछन् । साना सवारी चालकहरू दाउन्ने खण्ड पार गरेपछि ‘युद्ध जितेझैं’ अनुभूति गर्ने अवस्था आएको छ ।
दाउन्ने पश्चिम खण्डमा कुल २६३ कल्भर्टमध्ये २१० वटा निर्माण सम्पन्न भएका छन् भने ५३ वटा अझै बन्न बाँकी छन् । साना पुलहरू ३८ मध्ये १९ अर्थात् आधामात्र बनेका छन् । ठूला पुलहरू भने करिब सबै बनिसकेका छन् । नौमध्ये सातवटा निर्माण सम्पन्न भइसकेका छन् । ४२ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको परियोजना आठ वर्ष पुगे पनि सकिने सम्भावना नदेखिँदा जनतामा निराशा छाएको छ । बुटवल-नारायणघाट सडक विस्तार कार्य शीघ्र सम्पन्न गरियोस् भन्ने माग सबै प्रयोगकर्ता, स्थानीय बासिन्दा र व्यवसायीले गरिरहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच