
काठमाडौं । देशभरका शिक्षकहरूले काठमाडौं केन्द्रित आन्दोलन गर्ने भएका छन् । नेपाल शिक्षक महासंघले चारणबद्ध आन्दोलनको घोषणा गरेको हो । यही माघ १६ र १७ गते बसेको महासंघको तेस्रो पूर्ण राष्ट्रिय बैठकपछि आन्दोलनको घोषणा गरिएको हो । बैठकपछि आयोजित पत्रकार सम्मेलनमार्फत पहिलो चरणको आन्दोलनबारे जानकारी दिइएको छ ।
आन्दोलनका कार्यक्रमअन्तर्गत माघ २० गते सबै शिक्षक कर्मचारीले फेसबुक वालमा आयतकार रातो स्टिकर प्रयोग गरी ‘२०८१ को हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गरियोस्’ लेख्नेछन् । त्यस्तै, माघ २५ गते दिउँसो १ बजे सबै पालिकामा ध्यानाकर्षण तथा जानकारी पत्र बुझाउने कार्यक्रम तय गरिएको छ । यस्तै, माघ २५ गते नै स्थानीय स्तरमा आन्दोलन परिचालन समिति गठन गर्नेसमेत तय भएको छ । माघ २९ गते हरेक विद्यालयमा विद्यार्थी, अभिभावक तथा विद्यालय व्यवस्थापन समितिबीच अन्तरक्रिया कार्यक्रम गर्ने र शिक्षक–कर्मचारीका माग मुद्दा तथा आन्दोलनको आवश्यकताबारे सुसूचित गराउने कार्यक्रम तय भएको छ ।
माघ ३० गते बुधबार दिउँसो पालिका कार्यालयमा भेला भई ‘हाम्रा माग सम्बोधन हुनेगरी यो हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गरियोस्’ भन्ने नारासहित हातमा कालो पट्टी बाँधी खबरदारी जुलुस प्रदर्शन गरिनेछ । त्यस्तै, जिल्ला स्तरका कार्यक्रमअन्तर्गत माघ २६ गते हरेक जिल्लामा आन्दोलन परिचालन समिति गठन गरिनेछ । फागुन २ गते देशका ७७ वटै जिल्लाको शिक्षा विकास तथा समन्वय एकाइमा ध्यानाकर्षण तथा जानकारी पत्र बुझाइनेछ ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीलले फागुन ११ गते जिल्ला आन्दोलन परिचालन समितिले जिल्लाका सबै निर्वाचन क्षेत्रबाट निर्वाचित संघीय सांसदलाई सरकार र महासंघबीच भएका विगतका सबै सहमति समावेश गरी ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको जनाकारी दिनुभयो । उहाँका अनुसार प्रदेश तहअन्तर्गत फागुन ७ गते प्रदेश स्तरको आन्दोलन परिचालन समिति गठन गरिनेछ । फागुन ९ गते देशका सातैवटै प्रदेशका मुख्यमन्त्री÷सामाजिक विकासमन्त्रीसमक्ष ध्यानाकर्षण तथा जानकारी पत्र बुझाउने कार्यक्रम तय भएको छ ।
राष्ट्रिय तहको कार्यक्रमअन्तर्गत माघ १८ गतेदेखि फागुन १० गतेसम्म विभिन्न सरोकारवालासँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।
सबै राजनीतिक पार्टीका संसदीय दलका प्रमुख सचेतकलाई भेटेर आन्दोलनबारे जानकारी गराउने कार्यक्रम रहेको छ । त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति, शिक्षामन्त्रीलाई समेत आन्दोलनबारे जानकारी पत्र बुझाउने कार्यक्रम छ । त्यस्तै, सबै राजनीतिक दलका प्रमुख÷महासचिवलाई भेटेर आन्दोलनको जानकारी गराउने, सभामुखलाई आन्दोलन र त्यसको उद्देश्यबारे लिखित जानकारी गराउने कार्यक्रमसमेत तय भएका छन् ।
यस्तै, प्रधानमन्त्रीलाई समेत आन्दोलनबारे ध्यानाकर्षण तथा जानकारी पत्र बुझाउने कार्यक्रम महासंघले तय गरेको छ । अभिभावक महासंघ, विद्यालय व्यवस्थापन समिति महासंघ, विद्यार्थी संघ संगठनहरूसँग समेत अन्तरक्रिया गर्ने कार्यक्रम छ ।
यस्तै, फागुन १७ गते काठमाडौंमा कालोपट्टीसहित जुलुस प्रदर्शन तथा खबरदारी सभा गर्ने कार्यक्रम तय महासंघले गरेको छ । फागुन १९ गते दोस्रो चरणका कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । दोस्रो चरणको आन्दोलनको कार्यक्रममा राजधानीमा सांगठनिक शक्ति प्रदर्शन, असहयोग, अवज्ञा (बहिष्कार) तथा अवरोधजन्य कार्यक्रम ल्याइने महासंघ अध्यक्ष सुवेदीले बताउनुभयो ।
आन्दोलनका क्रममा ‘हाम्रो आन्दोलन जारी छ’, ‘हाम्रा माग सम्बोधन हुनेगरी यही हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गरियोस्’, नेपाल शिक्षक महासंघ जिन्दावाद जस्ता नारा तय भएको अध्यक्ष सुवेदीले जानकारी गराउनुभयो । यसअघि तत्कालीन शिक्षामन्त्री अशोककुमार राईले गत वर्ष भदौ २७ गते विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सदनमा दर्ता भएको थियो । त्यसबेला विधेयकमा विमति जनाउँदै महासंघले विद्यालय बन्द गरेरै असोज ३ गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गरेको थियो । देशभरबाट काठमाडौं आएका शिक्षकहरूलाई सडकमा उतारेर प्रदर्शन गरिएको थियो । दुई दिनपछि असोज ५ गते सरकारसँग भएको सहमतिपछि आन्दोलन स्थगित गरिएको थियो ।
गत वर्षकै सिको सिक्दै महासंघले आन्दोलन गर्ने तयारीमा जुटेको छ । ‘आन्दोलनमा जाने निर्णय गरेका छौँ, सुरुमा प्रचारात्मक हुनेछ । त्यसपछि शक्ति बढाउँदै राजधानी केन्द्रित आन्दोलन गर्नेछौँ,’ अध्यक्ष सुवेदीले भन्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच