
काठमाडौं । सोमबारदेखि काठमाडौंमा सुरु भएको अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप-२०२५ मा नेपाल र म्यानमारले विजयी सुरुवात गरेका छन् । दशरथ रंगशालामा सम्पन्न खेलमा म्यानमारले लेबनानलाई ३-१ गोलअन्तरले हरायो भने नेपालले किर्गिस्तानलाई १-० गोल अन्तरले हरायो । च्याम्पियनसिपअन्तर्गत सोमबार सम्पन्न दोस्रो खेलमा नेपालले किर्गिस्तानलाई १-० ले पराजित गरेको हो । करिब सात हजार घरेलु दर्शकबीच नेपालका लागि अट्याकिङ मिडफिल्डर विमला चौधरीले पहिलो हाफमा गरेको एकमात्र गोल निर्णायक बन्न पुग्यो ।
चार देश सम्मिलित प्रतियोगितामा जितसँगै नेपाल तीन अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । दिनको पहिलो खेलमा लेबनानलाई ३-१ ले पराजित गरेको म्यानमार शीर्ष स्थानमा छ । छैटौं मिनेटमा नेपालले पहिलो अवसर सृजना गर्यो । फरवार्ड रेखा पौडेलको प्रहार किर्गिस्तानकी कप्तान तथा गोलकिपर दिलनुरा किजीले बचाउनुभएको थियो । प्राप्त रिबाउन्डलाई मिडफिल्डर सविता रानामगरले लेफ्ट फुटमार्फत बललाई पोस्टको दिशा दिने प्रयास गर्नुभयो । तर, सविताको फितलो प्रहार गोलमा परिणत हुन् सकेन ।
खेलको १०औं मिनेटमा नेपालले अग्रता लियो । राइट साइडबाट सविताले दिएको क्रसमा अर्की मिडफिल्डर विमला चौधरीले हेडमार्फत पहिलो गोल गर्नुभयो । खेलको १९औं मिनेटमा नेपाल दोस्रो गोलको करिब रहृयो । तर, प्रीति राईको फ्रिकिक क्रसमा विमलाको प्रहार गोलकिपर दिलनुराले बचाउनुभयो । यसअघि विपक्षी रक्षक असेम तुर्गुमबेइभाले सवितालाई फउल गरेपछि नेपालले बक्स नजिकै राइट साइडमा सेटपीस अवसर प्राप्त गरेको थियो । २७औं मिनेटमा दिलनुरा पुनः बाधक बन्नुभयो । विमलाको पासमा प्रीतिको प्रहार दिलनुराले बचाउनुभयो । इन्जुरी समयमा नेपाललाई भाग्यले साथ दिएन । बक्स बाहिरबाट फरवार्ड रश्मीकुमारी घिसिङको प्रहार क्रस बारमा लागेर फर्किएको थियो । दोस्रो हाफमा नेपालले विरलै मौकाको सृजना गरेको थियो । पाएको मौकाको पनि सदुपयोग गर्न सकेन ।
म्यानमार तीन-एक गोलअन्तरले विजयी
सोमबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा म्यानमार तीन–एक गोलअन्तरले विजयी भएको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा चार गोल भएका थिए । म्यानमारले पहिलो हाफमा थुप्रै अवसर पाए पनि सदुपयोग गर्न नसक्दा गोल गर्न सकेन । लेबनानकी गोलरक्षक मार्सेल सिकीले सानदार बचाउहरू गर्नुभएको थियो । लेबनानले पनि पहिलो हाफमा गोल गर्ने उत्कृष्ट अवसर गुमाएको थियो । लेला इस्कानडरले किपरलाई बिट गरिसकेको अवस्थामा प्रहार गरेको सट बारमा लागेर फर्किएको थियो ।
खेलको ५७औँ मिनेटमा म्यानमारकी कप्तान विन थेइंगगी तुनले एजबाट उत्कृष्ट गोल गर्दै अग्रता दिलाउनुभएको थियो । मे हेट मोन माइन्टले दिएको पासलाई सदुपयोग गर्दै विनले गोल गर्नुभएको थियो । त्यसको तीन मिनेटमै लेबनानकी लेला इस्कानडरले गोल गर्नुभएको थियो । लाएलाले मैदानको मध्यभागबाट आएको पासलाई सदुपयोग गर्दै गोलकिपरसँग वान भर्सेस वानको अवस्थामा बिट गर्दै गोल गर्नुभएको थियो । तर, त्यसपछि म्यानमारले थप दुई गोल ग¥यो । ७२औँ मिनेटमा यु पेर खिनेले दायाँ भागबाट दिएको क्रसमा स्वे यी तुनले हेडमार्फत् गोल गर्दै म्यानमारलाई पुनः अग्रता दिलाउनुभयो । ७५औँ मिनेटमा सान थव थवले गोल गर्दै अग्रता अझ बढाउनुभयो ।
चार देश (नेपाल, म्यानमार, लेबनान र किर्गिस्तान) सम्मिलित महिला च्याम्पियनसिप त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबारदेखि सुरु भएको हो । प्रतियोगिताका खेलहरू राउण्ड रोबिन आधारमा खेली शीर्ष दुई टोलीबीच फाइनल खेल हुने एन्फाले जनाएको छ । शीर्ष दुईमा रहने टोलीबीच फागुन १४ गते फाइनल खेल हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच