
म्याग्दी । पाँच महिना पछि भएको वर्षा र फागुन दोस्रो साता लागेपछि बिहीबार (हिजो) परेको हिमपातका कारण म्याग्दीका किसानहरु खुसी भएका छन् ।
गत असोजमा मनसुन बहिरिएपछि पहिलो पटक म्याग्दी लगाएत धौलागिरि क्षेत्रमा वर्षा र हिमपात भएको हो । लामो समयपछि वर्षा भएकाले बाली सप्रिने भन्दै किसान खुसी भएका हुन् ।
बेनी नगरपालिका २ बगरफाँटका किसान भीमबहादुर कार्कीले भन्नुभयो, “लामो समयसम्म वर्षा नहुँदा हिउँदेबालीमा समस्या देखिन थालेको थियो । जंगलमा जंंगली फलफूल र कन्दमुल सप्रिन पाएका थिएनन् । अहिले ढिलै भएपनि वर्षा भएपछि गहुँ, तरकारी, फलफूललगायत हिउँदे खेतीका लागि राम्रो भएको छ ।” किसान टीका मिजारले लामो समयसम्म वर्षा नहुँदा सिंचाइ नभएको ठाउँमा बालीनाली सुक्न थालेका र ढिलोगरी भए पनि वर्षा भएपछि किसानलाई ठूलो राहत मिलेको बताउनुभयो ।
घोडेपानी,पुनहिल,खोप्रालेक लगाएतका उच्च हिमाली क्षेत्रमा बिहीबार हिमपात भएको थियो । तल्लो क्षेत्रमा वर्षा र उपल्लो क्षेत्रमा हिमपात भएपछि किसानहरुलाई ठूलो राहत मिलेको बेनी नगरपालिकाकी कृषि अधिकृत आकृति ढुङ्गानाले बताउनुभयो । गत असोजमा मनसुनी वर्षा बाहिरिएपछि पहिलो पटक बिहीबार वर्षा भएको छ । वर्षा र हिमपातले हिउँदे बालीका लागि राम्रो हुनुका साथै वायुमण्डल पनि सफा भएको छ ।
गहुँ, जौँ, आलुलगायतका हिउँदेबाली पानी नभएर सुक्न थालेको अवस्थामा पानी परेपछि राहत भएको मंगला गाउँपालिका २ का किसान रणबहादुर क्षेत्रीले बताउनुभयो । “खेतबारीको हिउँदेबाली पानी नपाएर सुक्ने डर थियो, ढिला भए पनि वर्षा भयो राम्रो भयो”, उहाँले भन्नुभयो ।
त्यसैगरी म्याग्दीको उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । जिल्लाको मुख्य पर्यटकीयस्थल पुनहिल, घोडेपानी, खोप्रा, खयरलेक, मोहरेडाँडा, टोड्के, गाम्फाधुरी, भेडिओढारलगायतका ठाउँमा हिमपात भएको स्थानीयले जनाएका छन् ।
पर्यटकीयस्थलमा यो यामको पहिलो हिमपात भएपछि पर्यटक हिउँमा रमाइरहेका छन् । यस वर्षको पहिलो हिमपात भएकाले यसले हिउँदे खेतीबालीमा किसानलाई राहत भएको अन्नपूर्ण गाउँपालिका २ का शेरबहादुर पुनले बताउनुभयो ।पश्चिमी वायुको प्रभावस्वरुप वर्षा भएको जल तथा मौसम विभागले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच