काठमाडौं । नेपालमा समाजवादी क्रान्ति र यसको मार्गचित्रबारे बहस चर्किंदै गएको छ । त्रिभुवन विश्वविद्यालयमा आयोजित एक परिचर्चा कार्यक्रममा समाजवादी क्रान्ति, कम्युनिष्ट आन्दोलन र राज्य व्यवस्थाको भविष्यबारे विभिन्न बौद्धिक तथा राजनीतिक व्यक्तित्वहरूले आ-आफ्ना तर्क प्रस्तुत गरे । कतिपयले नेपालमा समाजवाद स्थापनाका लागि बलप्रयोग अपरिहार्य रहेको जिकिर गरेका छन् भने केहीले अहिंसात्मक बाटो रोज्नुपर्ने धारणा राखे ।
त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. जगदीशचन्द्र भण्डारीकाअनुसार नेपालमा सामन्तवाद विरोधी पूँजीवादी जनवादी क्रान्ति अझै सम्पन्न भइसकेको छैन । उहाँले संविधानमा 'समाजवाद उन्मुख' शब्द राख्दैमा समाजवाद नआउने जिकिर गर्नुभयाे । भण्डारीकाअनुसार, देश साँच्चिकै समाजवादतर्फ उन्मुख भएको भए सर्वहारा वर्गको नेतृत्वमा जनवादी अधिनायकत्व स्थापित भइसक्ने थियो ।
उहाँको भनाइलाई अर्थराजनीतिका विश्लेषक डीपी ढकालले आफ्नो पुस्तक समाजवादी क्रान्तिका दुई चरण मा थप स्पष्ट पार्ने प्रयास गर्नुभएकाे छ । उहाँले नेपालमा समाजवादी क्रान्ति चरणबद्ध रूपमा अघि बढ्नुपर्ने तर्क गर्नुभएकाे छ, यद्यपि यो अवधारणा पारंपरिक मार्क्सवादी सिद्धान्तमा उल्लेख छैन ।
परिचर्चामा सहभागी त्रिविका सह-प्राध्यापक डा. गुमानसिंह खत्रीले समाजवाद स्थापनाका लागि बलप्रयोग अनिवार्य रहेको जिकिर गर्नुभयाे । उहाँले शासक वर्गबाट शासित वर्गमा स्वामित्व र अधिकार सजिलै हस्तान्तरण नहुने उल्लेख गर्दै राष्ट्रिय पूँजीको विकास र सामूहिक पूँजीको निर्माण बलप्रयोग नगरी सम्भव नहुने बताउनुभयाे ।
तर, सबै वक्ताहरूले सशस्त्र संघर्षलाई समाधानको रूपमा हेरेका छैनन् । कतिपय वक्ताहरूले नेपालमा समाजवादी क्रान्ति अहिंसात्मक रूपमा अघि बढ्नुपर्ने धारणा राखे । त्रिवि सह-प्राध्यापक डा. रमेश पौडेलकाअनुसार, वर्तमान पुस्ता हिंसात्मक क्रान्तिबाट थाकिसकेको छ । उहाँले अब सशस्त्र विद्रोह प्रभावकारी नहुने दाबी गर्नुभयाे ।
डा. पौडेलले नेपालका कम्युनिष्ट नेताहरू व्यक्तिगत स्वार्थमा केन्द्रित भएकाले समाजवाद प्राप्त गर्न कठिन भइरहेको आरोप लगाउनुभयाे । उहाँकाअनुसार, कम्युनिष्ट नेताहरू सामूहिक विचारभन्दा व्यक्तिगत स्वार्थमा अल्झिएका कारण समाजवादी यात्रा अवरुद्ध भएको छ ।
त्यस्तै, सह-प्राध्यापक डा. सूर्यबहादुर थापाले नेपालमा समाजवादी आन्दोलनको स्पष्ट दिशा नभएको बताउनुभयाे । उहाँले समाजवाद आवश्यक भए पनि नेपालको कम्युनिष्ट आन्दोलन अन्योलग्रस्त रहेको र नेताहरूबीच समाजवादतर्फ जाने मार्गचित्रमा गम्भीर मतभेद रहेको जिकिर गर्नुभयाे ।
परिचर्चामा वक्ताहरूले नेपालका समाजवादी क्रान्तिका लागि मौलिक रणनीति आवश्यक रहेको बताएका छन् । लेखक डीपी ढकालले समाजवादी क्रान्ति प्रत्येक देशको विशिष्ट परिस्थितिअनुसार अघि बढ्नुपर्ने बताउनुभयाे । उहाँले नेपालका मौलिक उत्पादन सम्बन्ध, सामाजिक संरचना, र ऐतिहासिक विशेषतालाई ध्यानमा राखेर नयाँ बाटो पहिल्याउनुपर्नेमा जोड दिनुभयाे ।
नेपालमा समाजवाद प्राप्तिका लागि सशस्त्र संघर्ष आवश्यक छ कि छैन भन्ने विषयमा मतभेद देखिएको छ । कतिपयले बलप्रयोग नगरी समाजवाद सम्भव नरहेको तर्क गरे भने केहीले अहिंसात्मक परिवर्तनमार्फत् समाजवादतर्फ जानुपर्ने बताए । बहस जारी रहे पनि समाजवादी क्रान्ति कसरी सम्भव हुन्छ भन्ने स्पष्ट दिशा अझै तय भइसकेको छैन ।
सो अवसरमा उपप्राध्यापक ताराप्रसाद न्यौपाने, बामपन्थी राजनीतिज्ञ सुरेश न्यौपाने त्यसैगरी बामपन्थी लेखकद्वय श्रीराम खाइजू र शिव फुयाँल र प्रकाशक ननस्टप मिडियाका निर्देशक संजीप घिमिरेलगायतले विश्वविद्यालयले समाजवादलाई बहसको विषय बनाउनु सकारात्मक रहेको प्रतिक्रिया दिनुभयाे । राजनीतिक बिचार निर्माण र पथप्रदर्शनमा बौद्धिक एवं प्राज्ञिक जगतले योगदान गर्न सके समाजवादमा सजिलै पुग्न सकिने उनीहरुको बुझाइ रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच