
आधुनिक जीवनशैलीका कारण खासगरी शहरवासीमा स्वास्थ्य जोखिम बढ्दै गएको छ । अस्वस्थकर र असन्तुलित खानपानले अनेकौं स्वास्थ्य जोखिम बढाइरहेको छ भने पछिल्लो समय सर्नेभन्दा नसर्ने रोगले हुने मृत्युदर बढ्दैछ । त्यसमा पनि असुरक्षित खानेपानीका कारण हुने स्वास्थ्य जोखिमदर सबैभन्दा उच्च रहेको विज्ञहरू बताउँछन् । बस्तीनजिकै रहेका प्रदूषित नदीनाला, खाद्यान्न पदार्थमा हुने मिसावट, पशुपक्षीहरू एण्टिबायोटिक र फलफूल तरकारीमा विषादी प्रयोगलगायतका कारण कतिपय रोगमा औषधिहरूले समेत काम गर्न छाडेको छ । बढ्दो एण्टिबायोटिक्स रेसिस्टेन्सदरका कारण विगतमा सिटामोलले निको हुने ज्वरो अहिले एण्टिबायोटिकले समेत नछुने अवस्था रहेको चिकित्सकहरूले नै बताउने गरेका छन् । जब जीवाणुले एण्टिबायोटिकको प्रतिरोध गर्छ, त्यस्तो अवस्थालाई ‘एण्टिबायोटिक्स रेसिस्टेन्स’ भनिन्छ । यस्तो अवस्थामा संक्रमित व्यक्तिमा एण्टिबायोटिकले काम गर्न छोड्छ ।
त्रिभुवन विश्वविद्यालय(टियू), माइक्रो बायोलोजी केन्द्रीय विभागका सह-प्राध्यापक डा. देवराज जोशीका अनुसार विभिन्न अध्ययनले विश्वमा हरेक २५ सेकेण्डमा एकजना व्यक्तिको एण्टिबायोटिक्स रेसिस्टेन्सका कारण मृत्यु हुने गरेको देखाएको छ । सन् २०१९ तथ्यांकअनुसार उक्त वर्षमा नेपालमा झण्डै छ हजार चार सय मानिसको एण्टिबायोटिक्स रेसिस्टेन्सका कारण मृत्यु भएको थियो । जुन अस्पतालमा रेकर्डमा आएका बिरामीहरूको मात्रै तथ्यांक हो । सन् २०५० सम्म पुग्दा एण्टिबायोटिक्स रेसिस्टेन्स नै संसारमा सबैभन्दा ‘टप किलर’ हुनेछ । त्यबिबेला औषधिले काम नगर्दा सामान्य चोटपटक वा सामान्य बिरामीसमेतको मृत्यु हुन सक्ने वैज्ञानिकहरूले चेतावनी दिँदै आएका छन् । एण्टिबायोटिक्सको विकल्प नखोज्ने हो भने सन् २०५० सम्म पुग्दा विश्वको झण्डै दुर्ई देखि तीन प्रतिशतले जिडिपी घट्ने उनीहरूको प्रक्षेपण छ ।
टियू माइक्रो बायोलोेजी विभागका सह-प्राध्यापक डा. जोशी विगत लामो समयदेखि विभिन्न किसिमका ब्याक्टेरियाबाट हुन सक्ने स्वास्थ्य जोखिमबारे अध्ययन अनुसन्धान गर्दै आउनुभएको छ । राष्ट्रिय उपभोक्ता दिवसका अवसरमा उल्लेखित विविध विषयहरूमा केन्द्रित रही डा. देवराज जोशीसँग हिमालय टाइम्सका लागि लेखनाथ पोखरेलले गर्नुभएको कुराकानी ।
पछिल्लो समय औषधिहरूले काम गर्न छाड्दै गएको बताइन्छ, यसमा माइक्रो बायोलोजी विभागले पनि केही अध्ययन गरेको छ कि ?
हो, विभिन्न अध्ययनहरूले पछिल्लो समय एण्टिबायोटिक्स (औषधि)को प्रभावकारिता घट्दै गएको देखाएका छन् । बढ्दो प्रदूषण, प्रदूषित खानेपानी, अस्वस्थकर खानपानलगायतले मानिसमा रोगप्रतिरोधी क्षमता घट्दै गएको र संक्रमण फैलाउने ब्याक्टेरियाको क्षमता बढ्दै गएको अवस्था देखिन्छ । हामीले पनि यसमा केही अध्ययनहरू गरेका छौं । हामीले खासगरी काठमाडौंको फोहोर पानी र नदीनालाहरूमा एण्टिबायोटिक्सबाट नमर्ने तर मानिस तथा जनावरहरूमा रोग ल्याउन सक्ने कीटाणुहरू कत्तिको छन् भन्ने अध्ययन गरेका थियौं । काठमाडौंको पानी र नदीनालाहरूमा हामीले त्यस्ता ब्याक्टेरियाहरू भेटेका छौं, जुन ब्याक्टेरियाहरू एण्टिबायोटिक्सले पनि मर्दैनन् । मानिसहरूमा हुने इन्फेक्सनको ट्रिटमेन्टमा प्रयोग हुने एण्टिबायोटिक्सले ती ब्याक्टेरियाहरू मरिरहेका छैनन् ।
- एण्टिबायोटिकको विकल्प नखोजिए ठूलो संकट आउनेछ ।
- एण्टिबायोटिक रेसिस्टेन्सले हरेक २५ सेकेण्डमा एकको मृत्यु हुँदैछ ।
- औषधिको मात्रामा बढाउँदै जाँदा साइड इफेक्ट पनि बढ्दै जान्छ ।
- औषधिले काम नगर्दा सामान्य चोटपटकमै मृत्यु हुन सक्नेछ ।
- सन् २०५० मा संक्रमण व्यवस्थापनमै १० ट्रिलियन डलर खर्च हुनेछ ।
- प्रदूषित पानीका कारण ब्याक्टेरियाहरूमा औषधि प्रतिरोधी क्षमता बढ्दैछ ।
- मानिसले जीन अर्को जेनेरेसनमा तर ब्याक्टेरियाले एउटै जेनेरेसनमा सार्छ ।
- हामीले त्यस्ता ८, १० वटा भाइरसको मनिटरिङ गरिरहेका छौंं ।
त्यस्ता ब्याक्टेरिया कहाँबाट आउने रैछन् ?
फोहोर पानी वा नदीनालाहरूमा ती ब्याक्टेरिया उत्पादन हुने होइनन्, ती मान्छेबाटै त्यहाँ जाने हुन् । जस्तो मलाई कुनै इन्फेक्सन भने मेरो शरीरमा त्यो ब्याक्टेरिया छ, अनि त्यो मेरा दिसापिसाब वा शरीरका अन्य द्वारहरूबाट फोहोरमा जाने हो । फोहोर पानी, नदीनालामा त्यस्ता ब्याक्टेरियाहरूको उपस्थितिको अर्थ के हो भने हाम्रो समुदायमा त्यस प्रकारका ब्याक्टेरियाले इन्फेक्सन गरिरहेका छन् । त्यस्ता ब्याक्टेरियाको इन्फेक्सनले हस्पिटलको कष्ट एकदमै बढाउँछ । हस्पिटलको बसाइ पनि लम्बिन्छ, किनभने एउटा एण्टिबायोटिक्सले काम गर्दैन, कम्बिनेसन एण्टिबायोटिक्स दिनुपर्यो । अर्को कुरा, फोहोर पानी र नदीनालाका ब्याक्टेरियाहरूमा मान्छेमा हुन नसक्ने एउटा गुण के छ भने उसको एउटै जेनेरेसनमा एउटा ब्याक्टेरियाबाट अर्को ब्याक्टेरियामा रेसिस्ट गर्ने जीन सर्न सक्छ । मानिसको जीन एउटा जेनेरेसनबाट अर्को जेनेरेसनमा मात्रै सर्छ तर एउटै जेनेरेसनमै एउटा ब्याक्टेरियाबाट अर्को ब्याक्टेरियामा त्यो जीन सर्न सक्छ । त्यो जीन दिने उपयुक्त वातावरण फोहोर पानी र फोहोर नदीनालामात्रै हुन् । त्यसको अर्थ के हो भने हाम्रो शरीरमा थोरै एण्टिबायोटिक्सबाट ट्रिटमेन्ट गर्न सकिने ब्याक्टेरिया पनि फोहोर वातावरणमा गयो भने थोरै एण्टिबायोटिक्सबाट ट्रिटमेन्ट गर्न नसकिने अवस्थामा हुन्छ ।
वातावरणमा भएका सबै सूक्ष्म जीवाणुहरूले अन्ततः मानिसमा संक्रमण गर्छन् किनभने ती जीवाणुहरू बस्ने मुख्य ठाउँ भनेको त मानव शरीर नै हो । अर्थात् हामी कम रेसिस्टेन्ट भएका ब्याक्टेरियाहरू इन्भायरोमेन्टमा छाड्छौं, इन्भायरोमेन्टबाट ती ब्याक्टेरियाहरू बलिया भएर हाम्रो शरीरमै आउँछन् । त्यही अवस्था के छ भनेर हामीले हेरिराख्या छौं ।
अर्को कुरा, हाम्रो जुन फोहोर पानी ट्रिटमेन्ट गर्ने क्षमता छ, खासगरी काठमाडौंमा, त्यो अत्यन्त न्यून छ । त्यस्तो पाँच-सात प्रतिशत पानीमात्रै ट्रिटमेन्ट हुने गरेको छ । बाँकी फोहोर पानी त्यत्तिकै नदीनालामा मिसाइरहेका छौं । सञ्चालनमा रहेका फोहोर पानी ट्रिटमेन्ट प्लान्टहरूले केमिकल र ब्याक्टेरिया घटाएका त छन् तर खोलामा मिसिएपछि उस्तै हुने गरेको छ । अर्थात् ट्रिटमेन्टले पशुपति, गुहृयेश्वरीतर्फ बागमतीको पानीमा ब्याक्टेरिया घटाएको भए पनि चोभारमा परीक्षण गर्दा त्यहाँ फेरि बढेको देखिन्छ । त्यसैले काठमाडौं उपत्यका विकास तथा वातावरण क्षेत्रका नीति निर्माताहरूलाई हाम्रो के सल्लाह छ भने फोहोर पानी ट्रिटमेन्ट प्लान्टको क्षमता बढाऔं । त्यसो गरियो भने नदीनालाहरूमा हुने प्रदूषण घटाउँदै जान सकिन्छ । नदीनाला भनेका सभ्यताका प्रतीक हुन् । इतिहासदेखि मानव सभ्यता नदी किनाराहरूमात्रै विकसित हुँदै आएको पाइएको छ । काठमाडौंमा पनि नदीहरू थिए र सभ्यताको विकास हुँदै गएको हो । त्यही नदी हामीले प्रदूषित बनायौं भने नदी डेड रिभरमा परिणत हुन्छ, जसलाई मृत नदी भनिन्छ । काठमाडौंमा रहेका सबै नदीहरू लगभग मृतप्रायः अवस्थामा छन् ।
त्यस्ता ब्याक्टेरिया संक्रमितहरूमा कस्ता लक्षण देखिन्छन् ?
मानिसमा संक्रमण गर्ने कतिपय सूक्ष्म जीवाणुहरूले लक्षण देखाउँदैनन् तर भित्रभित्रै संक्रमण गरिराखेका हुन्छन् । लक्षण नदेखिएपछि त अस्पताल जाने कुरा भएन । अस्पताल नगएपछि कुन मानिसमा कुन ब्याक्टेरियाको कति संक्रमण छ भन्ने थाहा नहुने र त्यो सरकारी रेकर्डमा पनि नआउने भयो । त्यसको विकल्पमा हामीले खासगरी फोहोर पानी र नदीनालामा मानिसमा संक्रमण गर्ने ब्याक्टेरिया र भाइरसको अवस्था के छ भन्ने अनुसन्धान गरिरहेका छौं । त्यसका लागि ८, १० वटा भाइरसको मनिटरिङ गरिरहेका छौंं । त्यसको दुईवटा लक्ष्य छ, संक्रमण कहाँ–कहाँ, कुन समुदायमा छ भन्ने कुरा मानिसलाई परीक्षण नगरी फोहोर पानी परीक्षणबाटै भन्न सकिनेछ । त्यो ठाउँमा जनस्वास्थ्यका इन्टरभेन्सन प्रोग्रामबाट घटाउन सकिने भयो । त्यसलाई हामी वेष्ट वाटरबेस्ड इपिडियोमोलोजी भन्छौं हाम्रो भाषामा । जस्तै इन्फ्लुयन्जा भाइरस । अस्पतालमा रोगीहरू आइरहेको अवस्था नभए पनि नदीनालाहरूमा इन्फ्लुयन्जा भाइरस देखिरहेका छौं । यसको अर्थ कहीँ न कहीँ त छ इन्फ्लुयन्जा इन्फेक्सन । लक्षण नदेखिएका तर संक्रमण भएका त झन् खतरनाक हुन्छन् । उनीहरू आइसोलेसनमा पनि जाँदैनन्, अस्पताल पनि पुग्दैनन् । अनुसन्धानबाट त्यसमा अर्लि वार्निङ दिएर हामीले संक्रमण घटाउने काम गरिरहेका छौं । अर्को चाहिँ एण्टिबायोटिक्स विकासका लागि प्रारम्भिक चरणको अनुसन्धानमा छौं । सोही क्रममा भर्खरै हामीले नयाँ ब्याक्टेरिया पनि विकास गरेका छौं । जसले नेपालको विज्ञानको क्षेत्रमा ठूलै योगदान दिन सक्ने देखिएको छ । त्यसको नाम पनि हामीले नेपाल एन्सिस राखेका छौं ।
अहिले एण्टिबायोटिक्स रेसिस्टेन्स दर कस्तो छ ?
विभिन्न अध्ययनले विश्वमा हरेक २५ सेकेण्डमा एकजना व्यक्तिको एण्टिबायोटिक्स रेसिस्टेन्सका कारण मृत्यु भइरहेको देखाएका छन् । मरिरहेको कसरी हो भने तपाईलाई कुनै इन्फेक्सन भयो भने अहिले उपलब्ध एण्टिबायोटिक्सले जीवाणु मार्न सक्दैन, त्यस्तो जीवाणु मार्ने अर्को विकल्प पनि छैन भनेपछि मृत्युदर त बढ्ने नै भयो । नेपालकै सन् २०१९ को आधिकारिक तथ्यांकअनुसार नेपालमा झण्डै छ हजार चार मानिसको एण्टिबायोटिक्स रेसिस्टेन्सका कारण मृत्यु भइरहेको छ । यो अस्पतालमा रेकर्डमा आएका बिरामीको मात्रै तथ्यांक हो । त्यसैले एण्टिबायोटिक्सको विकल्प नखोज्ने हो भने मृत्युदर बढेर जाने निश्चित छ ।
वैज्ञानिकहरूका अनुसार सन् २०५० सम्म पुग्दा संसारमा सबैभन्दा ‘टप किलर’ एण्टिबायोटिक्स प्रतिरोधी ब्याक्टेरिया संक्रमणले मर्नेछन् । त्यतिबेला औषधिले काम नगर्दा सामान्य चोटपटक वा सामान्य बिरामीसमेतको मृत्यु हुन सक्नेछ । एण्टिबायोटिक्सको विकल्प नखोज्ने हो भने सन् २०५० सम्म पुग्दा विश्वकै झण्डै दुई देखि तीन प्रतिशतले जिडिपी घट्नेछ, विश्वलाई गरिबीतर्फ धकेल्नेछ । किनभने सबै पैसा संक्रमण व्यवस्थापनमै खर्च हुन्छ । ल्यान्सेट पत्रिकामा प्रकाशित एक अनुमानअनुसार त झण्डै १० ट्रिलियन डलर संक्रमण व्यवस्थापनमा खर्च हुनेछ । हामी माइक्रो बायोलोजीका विद्यार्थीहरू भन्छौं, उल्लेखित अवस्था मानव जातिमा आउन सक्ने ठूलो संकट हो । नसर्ने रोगहरूमा पनि हामीले हाम्रो शरीरमा विभिन्न औषधिको मात्रा बढाउँदै जाँदा ती औषधिले साइड इफेक्ट पनि बढ्दै जान्छ । एण्टिबायोटिक्स पनि दुई प्रकारका हुन्छन् । निश्चित सूक्ष्म जीवाणुमात्रै मार्न सक्ने एण्टिबायोटिक्स र सबै किसिमका जीवाणु मार्ने एण्टिबायोटिक्स अर्थात् न्यारो स्पेक्ट्रम र ब्रोड स्पेक्ट्रम । विगतमा डाक्टरहरूले सीमित जीवाणु मार्ने अर्थात् न्यारो स्पेक्ट्रम प्रयोग गर्नुहुन्थ्यो र त्यसले काम पनि गथ्र्यो तर अहिले ब्रोड स्पेक्ट्रमको प्रचलन छ ।
काठमाडौंमा त धेरैजसो जमिनमुनिको पानी उपयोग हुन्छ । त्यो पानीको गुणस्तर कस्तो छ ?
एउटा कुरा त काठमाडौंको जमिनमुनिको जलस्तर एकदमै घटिसक्यो । अर्थात् हामीले जमिनमुनिबाट अत्यधिक पानी तानिसक्यौं । जलस्तर घट्दा जमिनको सहतमुनि हुने प्राकृतिक सन्तुलन बिग्रिने र अन्य जोखिमहरू बढ्न सक्ने खतरा रहन्छ । त्यसै पनि काठमाडौं भूकम्पीय जोखिममा छ । जमिनमुनिको पानीको गुणस्तरको कुरा गर्दा त्यो पनि सिधै खानयोग्य छैन । त्यसमा हानिकारक जीवाणु, अमोनिया भन्ने रसायनको मात्रा बढी छ, हेभी मेटल, सिसालगायतको मात्रा पनि बढी छ, त्यसैले प्रशोधन गरेरमात्रै खानुपर्ने हुन्छ ।
जार र बोटल वाटरको अवस्था ?
यसमा पनि दुईवटा आयाम छन्। एक त प्लाष्टिक बोटलमा राखिएको पानी खानै हुँदैन । किनभने पानीसँगै प्लाष्टिकका सूक्ष्म कणहरू हाम्रो शरीरमा जान्छ । प्लाष्टिक त हामीले पचाउन सक्ने कुरा भएन । अर्को कुरा, प्लाष्टिकको जार, प्लाष्टिक बोटलको पानीमा पनि कोलीफर्म भेटिएको छ । त्यस्तो प्रशोधित पानीमा समेत दिसामा हुने कोलीफर्म भेटिएको हो । कोलिफर्मको मात्रा बढी छ तर सबै जार र बोटल पानीमा होइन । त्यसो त कोलीफर्म नभए पनि प्लाष्टिक बोटलको पानी खानयोग्य हुँदैन । म बोटल वाटर उद्योगीलाई पनि सकेसम्म प्लाष्टिक बोटल युज नगर्न सल्लाह दिन्छु । विकसित मुलुकले प्लाष्टिक बोटलको पानी प्रयोग गर्दैनन् । हामीले विगत २० वर्षदेखि खानेपानीका विभिन्न स्रोतहरू परीक्षण गर्दै आएका छौं ।
मेलम्चीको पानी चाहिँ कस्तो छ ?
मेलम्चीको पानी सुन्दरीजलसम्म ठीक छ किनभने त्यो कम प्रदूषित क्षेत्रबाट ल्याइएको पानी हो । तर, वितरण प्रणालीमा आइसकेपछि प्रदूषित हुने गरेको देखिएको छ । किनभने हाम्रो वितरण प्रणाली एकदमै अस्तव्यस्त छ । व्यवस्थित र सुरक्षित छैन । उपभोक्तामा पनि जनचेतनाको अभाव छ ।
कोल्ड ड्रिंक्सहरूमा के छ, कोल्ड ड्रिंक्स पनि प्लाष्टिक बोटलमै हुन्छ ?
हो, यो महत्वपूर्ण प्रश्न हो । कोल्ड ड्रिंक्समा पानीमात्रै पनि हुँदैन । अन्य वस्तु पनि मिसाइएको हुन्छ । ठूला मल्टिनेसनल कम्पनीका उत्पादन भएकाले पानीभन्दा गुणस्तर मेन्टेनमा बढी ध्यान दिने भएकाले पानीजत्तिकै जोखिम त छैन तर प्लाष्टिकमै हुने भएकाले प्लाष्टिकबाट हुने स्वास्थ्य जोखिम त छँदैछ । किनभने उत्पादनस्थलमा त्यसको तापक्रम मेन्टेन भए पनि उपभोक्तासम्म पुग्दा माइक्रो प्लाष्टिक रिलिज भइसकेको हुन सक्छ । हुन त कोल्ड ड्रिंक्सहरूमा माइक्रो प्लाष्टिकको मात्रा हामी आफैंले परीक्षण गरेका त छैनांै तर अन्तर्राष्ट्रिय लिट्लेचरहरूमा प्रकाशित तथ्यांकहरू अध्ययन गरेका छौं ।
बालकदेखि वृद्धासम्मले उपयोग गर्ने दूधको अवस्था के छ ?
दूधमा पनि समस्या छ । विगतमा कुनै कुनै दूधमा कोलीफर्म पनि भेटिएको थियो । अहिले पनि होला तर दूध कोटेड प्लाष्टिक प्याकेजिङमा हुने भएकाले अन्य प्लाष्टिक प्याकेजिङको तुलनामा जोखिम कम हुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच