
म्याग्दी । आज मार्च २२ अर्थात् विश्व पानी दिवस । विश्वभर मनाइने यो दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरि मनाइएको छ ।
पृथ्वी,जल,तेज,वायु र आकाशलाई पञ्च तत्व भनिन्छ । पञ्च तत्वमध्येको एक पानी सबै जीव र वनस्पतिका लागि अत्यन्तै महत्वपूर्ण मानिन्छ । पानी विना मानवको मात्र होइन सम्पूर्ण प्राणीहरुको अस्तित्व नै रहदैन ।
केही वर्षयता नेपालमा तीब्र रुपमा भैरहेको सडक विस्तार र डोजरको प्रयोगका कारण ग्रामीण क्षेत्रमा रहेका वन जंगल,सीमसार र चिस्यानयुक्त ठाउँहरुको विनास भए पछि पानीका मुहान र स्रोतहरु सुक्दैजान थालेका छन् ।
यही कुरालाई मनन् गर्दै संयुक्त राष्ट्रसङ्घको आयोजनामा सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको पर्यावरण र विकाससम्बन्धी महासभाले विश्व पानी दिवसको घोषणा गरेको हो । सन् १९९२ मा एजेण्डा २१ मा समाहित गरिएको पानी दिवसको रुपरेखालाई आत्मसाथ गर्दै सन् १९९३ देखि मार्च २२ तारिखका दिन विश्वभर यो दिवस मनाउन थालिएको थियो ।
नेपाल जलस्रोतको दोस्रो धनी देश भएर पनि विगत केही वर्षयता देशका शहरी क्षेत्रमा मात्रै होइन ग्रामीण भेगमा समेत खानेपानीको समस्या उत्पन्न भैरहेको छ ।
पानीका मुहानहरु सुक्दै गएका छन् । चिस्यान रहीरहने ठाउँहरु डोजर संस्कृतिका शिकार बनेका छन् । सीमसार क्षेत्रहरु सुख्या ठाउँमा परिणत हुँदैछन् । जसले गर्दा ग्रामीण जीवनको अभिन्न अङ्गका रुपमा रहेका पँधेरा र ढुङ्गेधाराहरु गाउँघरबाट नै लोप हुन थालेका छन् । बढ्दो शहरीकरण र संरक्षणको अभावमा सांस्कृतिक र ऐतिहासिक महत्व बोकेका यस्ता पँधेरा र ढुङ्गेधाराहरू दिन–प्रतिदिन हराउँदै जान थालेका हुन् ।
बढ्दो जनसङ्ख्या र अव्यवस्थित वस्ती विकासका कारण परम्परागत प्रविधि र कलात्मक शैलीमा निर्माण गरिएका पँधेरा र ढुङ्गेधाराहरू भत्काइनाका साथै संरक्षण र जीर्णोद्धारको अभावमा पुरिएपछि अहिले गाउँघरमा यी सम्पदाहरु लोप हुँदै गएका बगरफाँटका ९० वर्षिय बेदप्रसाद उपाध्यायले बताउनुभयो ।
अव्यवस्थित रुपमा खनिएका मोटरबाटो र पाइपमार्फत घरघरमा पानी पुर्याउने होडबाजीमा कतिपय जलसम्पदाहरु पुरिएका बेनी नगरपालिकाका स्थानीय जेष्ठ नागरिकहरुको भनाइ रहेको छ ।
म्याग्दीका ग्रामीण भेगमा रहेका कैयौं पँधेरा र ढुङ्गेधाराहरु लोप भइसकेका र भावी पुस्ताले यस्ता परम्परागत मौलिक सम्पदाहरु देख्न नपाउने हुँदा भएका ढुङ्गेधाराहरुको संरक्षण गर्न स्थानीय तहहरुले नै सक्रियता देखाउनु पर्ने म्याग्दीको इतिहास र संस्कृतिका अध्येता कृष्णवहादुर बानियाँले बताउनुभयो ।
दुई दशक अघिसम्म ग्रामीण महिलाका लागि पानी पँधेरो नै दुःखसुख साट्ने र पीर ब्यथा कहने एक मात्र माध्यम हुने गरेको थियो । पँधेरा र ढुङ्गेधाराहरु केवल पानीका स्रोतहरु मात्र नभएर नेपाली ग्रामीण सभ्यता र संस्कृतिका स्रोतहरु पनि भएका पं निलकण्ठ शर्माले बताउनुभयो ।
“पँधेरा र ढुङ्गेधारा भएको ठाउँमा जलदेवताको पूजा गर्ने गरिन्थ्यो, जलदेवताको पूजा गर्ने, गाउँभरिका मानिसहरु भेला भएर दुःखसुख साट्ने, रमाइलो गर्ने, खिर पकाएर चढाउने र प्रसादको रुपमा खाने गरिन्थ्यो,” उहिलेका कुरा सम्झदै ज्यामरुककोटका ७८ वर्षिय दिलबहादुर कार्कीले भन्नुभयो ।
गाउँघरमा डोजर लगाएर बाटो खन्ने चलन शुरु भएसँगै ग्रामीण मौलिक सम्पदाहरुको विनाश हुने क्रम पनि शुरु भएको डिभिजन वन अधिकृत विष्णुप्रसाद अधिकारीले बताउनुभयो । “ग्रामीण जीवन पद्धतिका परम्परागत सम्पदाहरु पँधेरा, ढुङ्गेधारा, चौतारी, पोखरी, कुवा, पाटी, पौवा जस्ता नेपाली ग्रामीण परिवेशका अमूल्य सम्पदाहरुको संरक्षणमा ध्यानै दिएनन्” अधिकारीले भन्नुभयो ।
म्याग्दीका स्थानीय तहका केही जनप्रतिनिधिले मौलिक सम्पदाहरुको संरक्षण गर्न अभियान नै सञ्चालन गरेका छन् । बेनी नगरपालिका वडा नं ६ का अध्यक्ष कृष्णबहादुर बानियाँले आफ्नो वडाभित्रका विभिन्न ठाउँमा रहेका पँधेरा, चौतारी, पोखरी, पाटी, पौवाहरुको संरक्षणका लागि अभियान नै सञ्चालन गर्नुभएको छ । सम्भव भएसम्म वडाको बजेट प्रयोग गर्ने र सम्भव नभए आफ्नै निजी खर्चमा समेत चौतारी, पोखरी, पँधेराहरुको पुनःनिर्माण गरेर सन्ततिहरुका लागि सुरक्षित राख्ने प्रयास गरेको उहाँले बताउनुभयो ।
बेनपा–६ का अध्यक्ष बानियाँ जस्तै सबै स्थानीय तहका जनप्रतिनिधिले मौलिक सम्पदाहरुको संरक्षणका लागि चासो राख्ने र त्यस्ता सम्पदाहरुलाई महत्व दिने हो भने ग्रामीण जीवनका अजस्र सोत बनेका रैथाने सीप, स्रोत, साधन, प्रविधि र सम्पदाहरु आगामी पुस्ताका लागि आफ्नो सभ्यता, संस्कृति र पितापुर्खाको जीवन पद्धति हेर्ने आँखिझ्याल सावित हुने स्थानीय बुद्धिजीवीहरु बताउँछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच