
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सरकारको वार्षिक प्रतिवेदन पेस गर्नुभएको छ । प्रधानमन्त्री ओली राष्ट्रपति भवन, शीतलनिवास पुगेर आइतबार आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो । प्रधानमन्त्री ओली प्रतिवेदन बुझाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उच्च अधिकारीहरूसहित पुग्नुभएको थियो ।
वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति रामचन्द्र पौडेलले राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको प्रभावकारी कार्यान्वयनबाट मात्र विकास र समृद्धिको लक्ष्य हासिल गर्न सकिने बताउनुभएको छ । उहाँले स्रोत साधनको उचित परिचालन गरी संविधानको मर्मअनुसार नीति कार्यान्वयनमा सरकार तदारुक रहनुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रपतिले दिगो शान्ति, सुशासन, सामाजिक न्याय र समतामूलक समाज निर्माण गर्न सरकारले संविधानमा तोकिएको नीति र दायित्व प्रभावकारी रूपमा लागू गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले संविधानका प्रावधानलाई व्यवहारमा उतार्न सरकार अझ सक्रिय र क्रियाशील बन्नुपर्ने बताउनुभयो ।
साथै, आर्थिक तथा सामाजिक रूपान्तरणका लागि उपलब्ध स्रोत साधनको अधिकतम उपयोग आवश्यक रहेको उहाँको भनाइ छ । राष्ट्रपति पौडेलले भन्नुभयो, ‘नेपाल सरकार संविधानको मर्म र भावनाअनुसार निर्देशक सिद्धान्त तथा नीति कार्यान्वयनमा अझै बढी सक्रिय रहने विश्वास लिएको छु ।’ उहाँले सरकारलाई समृद्ध नेपालको लक्ष्य प्राप्त गर्न नीतिगत प्रभावकारिता सुनिश्चित गर्न आग्रह गर्नुभयो ।
यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यले नागरिकलाई प्रदान गर्दै आएका सेवा प्रवाहलाई थप प्रभावकारी, झन्झटमुक्त र सहज बनाई राज्यप्रदत्त सेवामाथि सबैको पहुँच पु-याउन सरकारले आफ्नो प्रयास केन्द्रित गरेको बताउनुभएको छ । उहाँले सरकारले लिएका नीति र कार्यक्रमबाट विद्यार्थीले विद्यालयमा भर्नासँगै पाठ्यपुस्तक पाउने अवस्था सुनिश्चित भएको बताउनुभयो ।
उहाँले बाली लगाउने समयमा किसानलाई मल उपलब्ध गराइएको र मल खरिद एवं आपूर्ति व्यवस्थापनमा बजेटको अभाव हुन नदिने गरी चालु आर्थिक वर्षका लागिसमेत बजेट सुनिश्चित गरिएको दाबी गर्नुभयो । उहाँले नागरिकता, राहदानी, लाइसेन्स, विदेश अध्ययनका लागि ‘नो अब्जेक्सन लेटर’ लगायतका सेवाहरूमा घण्टौँ लाइन लाग्ने अवस्थाको अन्त्य गरिएको बताउनुभयो । प्रधानमन्त्री ओलीले शीघ्र सार्वजनिक सेवा र सुशासनका क्षेत्रमा वर्तमान सरकारले सुरु गरेको नागरिक एप त्यसैको एउटा पहल भएको बताउनुभयो । सरकारी सेवालाई झन्झटरहित र पारदर्शी बनाएको र यसमा ५० भन्दा बढी सेवा आबद्ध रहेको उहाँको भनाइ छ ।
प्रधानमन्त्री ओलीले नेपालको संविधानको धारा ५३ बमोजिम राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम आर्थिक वर्ष २०८०/०८१ मा नेपाल सरकारले गरेका काम र प्राप्त उपलब्धि सहितको वार्षिक प्रतिवेदन पेस गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । सो अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निकाल्ने उक्त प्रतिवेदन गत वर्ष ७ जेठ २०८० मा सरकारले आफ्नो साइटमा राखेको थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच