
झापा । चैत ३० गते शनिबार झापाको दमकमा हुने कोशी प्रदेश स्तरीय सभालाई व्यवस्थित बनाउन एमाले झापा अहिले प्रचारात्मक अभियानमा जुटेको छ ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने जागरणसभालाई व्यवस्थित र भव्य बनाउने उद्देश्यले प्रचारात्मक कार्य अन्तिम चरणमा पुगेको एमाले झापा उपाध्यक्ष शिव ढुंगेलले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, " सभालाई व्यवस्थित बनाउन जिल्ला पार्टी निरन्तर लागिपरेको छ, सभा शक्ति प्रेरितभन्दा पनि उपलब्धिमुलक बनाउन जिल्ला पार्टी लागेको छ ।" जिल्लाको कुनै पनि स्थानमा नगरिने र सामान्य मञ्च निर्माण गरिने जनाइएको छ । पार्टीले खर्च गरेर सवारी साधनको प्रबन्ध नगरेको उपाध्यक्ष ढुंगेलले बताउनुभयो ।
" यो सभामा आउने, जाने सवारीको लागि पार्टीले कुनै खर्च गर्दैन " उहाँले भन्नुभयो, " आफ्नो सवारी साधन नहुने र सभामा आउन इच्छुकलाई पार्टीले स्थानीय कमिटीलाई आफ्नै लगानीमा आउन भनिएको छ ।" यद्यपि, एमाले झापाले जागरणसभा आयोजना गर्नुको औचित्य प्रष्ट्याएको छ ।
एमाले झापाले राजावादीको जारी आन्दोलनको नाम नै नलिइ बुँदागत रूपमा छ विषय अघि सारेको छ । एमाले झापाले लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, लोकतन्त्रको उपलब्धिको रक्षा र प्रचार , लोकतन्त्र र परिवर्तन विरुद्ध फैलाइएका भ्रमपूर्ण अफवाहको चिरफार जागरणसभाको उद्देश्य भएको स्पष्ट पारेको छ ।
त्यसैगरी प्रतिगामी षड्यन्त्रको भण्डाफोर, जारी अराजकता, हिंसात्मक क्रियाकलाप , लुटपाटको भण्डाफोर र विदेशी हस्तक्षेप विरुद्धको भण्डाफोर गर्न जागरणसभा आयोजना गरिएको एमाले झापाले जनाएको छ ।
जिल्लाको कुनैपनि स्थानमा कुनै विशेष किसिमकाे स्वागत गेट निर्माण नगरिने कार्यक्रमस्थलमा सामान्य मञ्चमात्र निर्माण हुने आयोजकले जनाएको छ ।
कार्यक्रमलाई व्यवस्थित र भयरहित बनाउन बिहीबार ( आज ) स्वयंसेवक प्रशिक्षण सम्पन्न गरेको छ । नगर पार्टी कार्यालयमा भएको प्रशिक्षणमा सयौं युवाको सहभागिता थियो । पार्टीकाका कोशी प्रदेश इञ्चार्ज शेरधन राई लगायतका नेताले युवा संघ आबद्ध र एमाले युवा पंक्तिलाई प्रशिक्षण दिएको एमाले झापाले जनाएको छ ।
जनसभाको प्रचारका लागि एमाले झापाले २९ गते ( भोलि ) मोटरसाइकल र्याली आयोजना गरेको छ । दमकबाट सुरु हुने र्याली बाह्रघरे–स्कुलचौन, गौरीगञ्ज, गौरादह हुँदै पाँडाजुँगी पुगेर समापन जनाएको छ ।
कार्यक्रम सफल बनाउन एमालेका प्रदेश तहका नेता झापा र दमक केन्द्रित भएका छन् । पार्टी अध्यक्षले सम्बोधन गर्ने भएकोले उहाँसँग को को नेताहरू आउनु हुन्छ त्यो त्यही दिन थाहा हुने र भौगोलिक रूपमा कार्यक्षेत्र भएका बाहेक कोही पनि केन्द्रीय नेता झापा नआएको उपाध्यक्ष ढुंगेलको भनाइ छ ।
कोशी प्रदेश स्तरीय जागरणसभामा एक लाख बढी मानिस उतार्ने योजना छ । उपाध्यक्ष ढुंगेलले भन्नुभयो," एक लाख सहभागी गर्ने भनिएको हो , त्योभन्दा बढी नै संख्या ३० गते दमकमा उत्रने छ ।" जनसभा सरकारको कामसँग सम्बन्धित नभएको, जनताको बलिदानीबाट प्राप्त गरेको उपलब्धी माथि धावा बोल्ने षड्यन्त्र भएकोले सभाको आयोजना गरेको यो जनताको मुद्दा स्पष्ट पारेको छ ।
एमाले कोशी प्रदेश कमिटी आयोजक रहेकोले सभालाई कोशी प्रदेश स्तरीय भनिए पनि झापा, मोरङ र सुनसरीबाट सहभागी आउने एमाले झापाले जनाएको छ । जिल्ला पार्टीले झापा केन्द्रित सहभागिताको रणनीति तय गरेको उपाध्यक्ष ढुंगेलले जानकारी दिनुभयो ।
सभामा पार्टी अध्यक्ष ओली र प्रदेश इञ्चार्ज राई लगायत थोरै वक्ता रहने उपाध्यक्ष ढुंगेलले बताउनुभयो । शुक्रबार भोलि दिउँसो २ बजे जनसभा आयोजक स्टेरिङ कमिटीको बैठक बसेर वक्ताको टुङ्गो लगाउनु उहाँले जानकारी दिनुभयो ।
सो दिन पश्चिम तर्फबाट आउने सवारी साधन क्याम्पसमोडमा रोकिने छ । पूर्वबाट जाने सवारी साधन पाडाजुँगी आसपासमा रोकिने छ । दमक बजारभित्र अनियन्त्रित भीड हुन नदिन सवारीलाई व्यवस्थित बनाउन त्यस्तो प्रबन्ध गरिएको हो ।
सो दिन गोर्खा डिपार्टमेन्ट अगाडि सहभागी एकीकृत भएर र्यालीसहित कार्यक्रम स्थल पशुहाट पुग्ने रुट निर्धारण गरिएको उपाध्यक्ष ढुंगेलले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच