सिद्धबाबा सुुरुङ्गमार्गको काम सुुस्त, राति सवारी आवागमन बन्द

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 5 mins

पाल्पा । सिद्धबाबा सुुरुङ्गमार्गको काम सुुस्त गतिमा अगाडि बढेको छ । सुरुङमार्ग निर्माणको जिम्मा पाएको निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले काममा ढिला सुुस्ती गरेको हो ।

निर्माण व्यवसायीले काम गर्न सहज बनाउने उद्देश्यले पटक–पटक राजमार्गमा आवागमन बन्द गर्न माग गरे पनि काममा भने तीव्रता नदिएकाले यात्रुले विरोध गर्दै आएका छन् ।

यसअघि पनि फागुन १३ देखि २७ गतेसम्म दैनिक आठ घण्टा सडक बन्द गरिएको थियो । त्यसपछि चैत २१ गतेदेखि पुनः दैनिक ९ घटना सडक बन्द गरेर काम गर्दै आए पनि निर्माण व्यवसायीले काममा गति दिन नसक्दा यात्रुुहरुले विरोध गर्दै आएका हुन् । चौतर्फी विरोध भएपछि जिल्ला प्रशासन कार्यालयको समन्वयमा शुक्रबारदेखि भने दिउँसोमा हुँदै आएको बन्द खुला गरिएको छ । रातीको समयमा गरिएको बन्द भने यथावत् राखिएको छ । सिद्धबाबामा सुरुङमार्ग निर्माणका लागि रामापिथेकस पार्क नजिक डाइभर्सन निर्माणको काम भइरहेकाले चैत २१ गते दिउँसो र रातिको समयमा सिद्धार्थ राजमार्ग बन्द गरिदै आइएको थियो । डाइभर्सनको काम सुुरु भएको र माथिबाट खुुकुुला ढुँगाहरु पहरोबाट झरी काम गर्न जोखिम हुने भन्दै सिद्धबाबा सुुरुङ्ग मार्ग योजना बुटवलले अर्को सूचना प्रकाशित नहुँदासम्म राती १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्दलाई यथावत् राखिएको जनाएको छ । योजनाले एक सूूचना जारी गर्दै रातीको समयमा सडक बन्द गरेर काम गर्ने र दिउँसोको समय खुला गरिएको जनाएको छ । निर्माण व्यवसायीले सुस्त काम गरी दिउँसोमा सवारी चाप अधिक रहेकाले यात्रु र सवारी चालकको दबावका कारण दिउँसोमा गरिएको बन्द हटाइएको पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिनुुभयो ।

रातिको समयमा सडक बन्द हुुँदा सो समय अवधिभर रोक्ने व्यवस्था मिलाइएको सुुरुङ्गमार्ग योजनाले जनाएको छ । उक्त समयमा पाल्पाबाट जाने सवारी साधनहरु जडिबुुटीचोक, सत्यवती जाने बाटोमा व्यवस्था मिलाइएको छ भने, बुटवलबाट आउने सवारी साधानहरु चिडियाखोला तल्तो सिद्धबाबा मन्दिरमा रोक्ने व्यवस्था गरिएको योजनाले जनाएको छ । सडक बन्द रहेको समयमा आकस्मिक रुपमा यात्रा गर्नुपर्ने र साना÷मझौला सवारी साधनका लागि दोभान– नुवाकोट खण्डको भित्री सडक प्रयोग समेत गर्न सकिने छ ।

तिनाउ गाउँपालिका–३, दोभान बजार नजिकै रामापिथेकस पार्क नजिकबाट सडक डाइभर्सनको काम गत फागुन दोस्रो हप्तादेखि भइरहेको छ । तर निर्माण व्यवसायीले थोरै कामदार, हेभी इक्विपमेन्ट दुई वटा मात्र राखेर काम गरेको छ । जसका कारण सडकमा यात्रा गर्ने यात्रु, चालक, सवारी धनीले सास्ती खेप्दै आएका छन् । सडकदेखि माथिल्लो भागमा रहेका खुकुला ढुंगाहरु खस्दा दुर्घटनाको जोखिम हुने भएकाले राजमार्गको दोभानदेखि तल्लो सिद्धबाबासम्म सवारी साधन आवागमन बन्द गरेर काम गर्ने वतावरण बनाइएको हो ।

सिद्धबाबा मन्दिरदेखि रामापिथेकस पार्कसम्म १ हजार १ सय २६ मिटर दुरी रहेको सुरुङको काम भइरहेको सिद्धबाबामा सुरुङमार्ग योजनाले जनाएको छ । निर्माण कम्पनीसँग पाँच वर्ष अवधिका लागि ठेक्का सम्झौता गरेकोमा त्यसमा नौ महिना आयोजनाको डिजाइनमै सकिएको छ । अब बाँकी रहेको चार वर्ष तीन महिनामा आयोजनाको निर्माण सम्पन्न गर्नुपर्ने छ । ठेक्का सम्झौताअनुसार निर्माण सम्पन्न भएपछि थप पाँच वर्ष आयोजनाको सञ्चालन तथा मर्मत गर्ने कामसमेत चिनियाँ कम्पनीले गर्नुपर्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?