टिमुरे खोलामा रेन्बो ट्राउट माछापालन

Read Time = 5 mins

-ध्रुवसागर शर्मा
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–३ डाँडागाउको पुछारमा रहेको टिमुरे खोलामा विदेशबाट फर्केका ३ जना युवाले गरेको रेन्बो ट्राउट माछा पालन यस क्षेत्रकै नमूना माछा पालन व्यवसाय बनेको छ ।

क्लकल बगीरहने संङ्लो, सफा अनि चिसो पानीलाई सदुपयोग गदैं विदेशबाट फर्किएका तीन यूवाले खहरेखोलामा रेन्बो ट्राउट जातको माछा पालन गरेका हुन् ।

१० बर्ष कतार र मलेसिया विताएका पूर्णबहादुर रोका, बहराइनबाट फर्किएका तेजेन्द्र बुढा र कतारबाट २ बर्ष पसिना बगाएर गाउँ फर्केका हरिबहादुर रोकाले संयुक्त लगानीमा गरेको माछापालन यस क्षेत्रकै नमुना माछा पालन बनेको छ ।

टिमुरेखोला नजिकै बनाइएको पोखरीमा ५ हजार माछाका भुरा हुर्किएपछि उत्साहित यूवाले थप पोखरी निर्माणमा जुटेका छन्। विदेशमा बगाएको पसिनाबाट सन्तुष्ट हुन नसकेपछि गाउँघरमै खेर गएको जमिनको सदुपयोग गर्ने गरी फर्किएर माछापालन सुरू गरेको हरिबहादुरले रोकाले बताउनुभयो ।
“माछाका अण्डा ल्याएर व्यवसाय सुरु गरेका थियौ, अहिले निकै राम्रो भएपछि थप संरचना थप्दै छौ” रोकाले बताउनुभयो ।

उहाँले दुधजस्तै संग्लो र सफा अनि चिसो पानी भएकाले उत्पादन राम्रो भएको जानकारी दिनुभयो । खाडीमा बगाएको पसिनाभन्दा गाउँघरकै हावापानीमा ब्यवसाय गर्ने पहिलो प्रयास सफल भएपछि तीनैजना यूवा उत्साहित छन् ।
अहिले पोखरीमा २ सय ग्रामदेखि आधा केजीसम्मको माछा छ । सामान्य तालिम लिएर सुरू गरेको माछा पालनलाई थप ब्यवस्थित बनाउन यूटुव, विभिन्न जानकारीमुलक पुस्तकबाट समेत सिक्ने गरेको अर्का यूवा पूर्णबहादुृर रोकाले बताउनुभयो ।

“माछा पालन सोचेजस्तो वा देखेजस्तो सजिलो भने छैन,दिनरात खट्नुपर्छ, उत्पादन गरेका माछाको बजार राम्रो छ” उहाँले भन्नुभयो । हावापानी पनि उपयुक्त भएको र उत्पादन भएको माछालाई पनि बिक्री वितरणमा समस्या नभएपछि २ बर्षभित्र १० वटा पोखरी, खोलाको छेउमै बसेर माछा विशेष परिकार खुवाउने गरी रेष्टुरेन्ट सञ्चालनको योजना समेत बनाएको ब्यवसायी रोकाले जानकारी दिनुभयो ।

उहाँले माछापालन, रेष्टुरेन्ट सहित अन्य कृषिजन्य उत्पादनको सोच समेत बनाउनुभएको छ । हालसम्म ७ लाख लगानी भएको छ भने थप २० लाखको लगानी थप्ने योजना रहेको उहाँले बताउनुभयो । ट्राउट माछा लोकप्रीय र सबैको रोजाइ रहने माछा हो। खानमा स्वादीलो, बीच बाहेक काँडा नहुने र प्रोटिन युक्त पोषिलो माछाका रुपमा ट्राउट लिने गरिएकाले गाउँघरका साथै दरबाङ र बेनीबजारमा समेत उच्च माग छ । यस क्षेत्रमा पहिलो पटक गरिएको परीक्षणमा रेन्बो ट्राउट जातका माछा पालन सफल भएपछि अन्य यूवाहरुलाई समेत ब्यवसायमा लाग्न सहज भएको छिमेकी बेली गाउँका यूवा संगम पुनमगरले बताउनुभयो ।

रेन्बो ट्राउट माछा शून्यदेखि २१ डिग्री सेन्टिग्रेड तापक्रममा बाँच्न सक्छ । यसको राम्रो वृद्धिका लागि १० देखि २० डिग्री सेन्टिग्रेड उपयुक्त मानिन्छ, उक्त हावापानी खहरेखोला र बाहै महिना चिसो भएको क्षेत्रमा रहेको छ । रेन्बो ट्राउट माछा प्रतिकेजी १२ सयमा पोखरीबाटै बिक्री हुन्छ ।

म्याग्दीको मालिका गाउँपालिका–३ डाँडागाउको पुछारमा रहेको टिमुरे खोलामा रेन्बो ट्राउट माछा पालन गरेको पोखरीबाट माछा निकाल्दै माछा पालक किसान हरिबहादुर रोका । यहाँ ६ वटा पोखरीमा ५ हजार माछाका भुरा पालन गरिएको छ ।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?