पाल्पामा एमालेको विरासत भत्काउन गठबन्धनको कसरत

Read Time = 6 mins

पाल्पा । २०७४ यता नेतृत्व तहमा एमालेको हालीमुहाली हुँदै आएको पाल्पामा काँग्रेस सहितको गठबन्धन भने भत्काउने कसरतमा छ ।

२०४८ सालमा भएको संघीय निर्वाचनमा तीनवटै सिटका साथै नगर प्रमुख र जिल्ला विकास समिति आफ्नो बचश्व राखेको नेपाली काँग्रेसले २०७४ सम्मका संघीय र स्थानीय निर्वाचनमा आफ्नो शाख गुमाएको थियो । एमालेको विरासत भत्काउदै काँग्रेसले आफ्नो शाख फर्काउन गठबन्धनको साथ लिएर चुनावी मैदानमा उत्रिएको छ ।

यहाँका दलहरुले विगतका नारालाई नै निरन्तरता दिएका छन् । सत्ता गठबन्धन दल नेपाली काँग्रेसले केही नयाँ योजना ल्याए पनि अधिकांस पुरानै छन् । एमालेले पनि उही पुरानै योजना र कार्यक्रमलाई प्राथमिकता दिएको छ । नेपाली काँग्रेसले शिक्षा, स्वास्थ्य र पर्यटनको पहिचान बोकेको पाल्पालाई नमूना जिल्ला बनाउने योजनाका साथ अगाडि बढेको जिल्ला सभापति हिमालदत्त श्रेष्ठले बताउनुहन्छ ।

स्थानीय तहको निर्वाचनका लागि पाल्पाका १० पालिका मध्ये ६ प्रमुख र उप प्रमुखमा नेपाली काँग्रेस, २ प्रमुख र उप प्रमुखमा नेकपा माओवादी, २ प्रमुख र उप–प्रमुखमा नेकपा एकिकृत समाजवादीले सिटको भागबण्डा गरी उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । गठबन्धनले २०७४ सालमा जितेका वडाहरु सोही पार्टीलाई, एमालेले जितेका स्थानमा दोस्रो स्थानमा रहेको पार्टीलाई दिने गरी भागबण्डा मिलाएका छन् ।

गठबन्धनका कारण नेपाली काँग्रेसमा भागबण्डा मिलाउँदा केही पालिकाहरुमा नेपाली काँग्रेस नेताहरुले असन्तुष्ट जनाएका छन् । लामो समय पार्टीमा योगदान पु-याएका केही नेताहरुले पार्टीले आफुहरुलाई पाखा लगाउँदै नयाँ व्यक्तिलाई टिकट दिएको भन्दै स्वतन्त्रमा उम्मेदवारी दिएका छन् । नेकपा एमालेका केही व्यक्तिहरुले पनि पार्टीमा असन्तुष्ट जनाउँदै पालिका प्रमुखदेखी वडा सदस्यसम्म स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

नेकपा एमाले पाल्पाले स्वास्थ्य, शिक्षा, पर्यटन तथा कृषि पशु रोजगारीमा केन्द्रित गर्दैै घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा उल्लेख गरिएका शिक्षा ,स्वास्थ्य सडक, खानेपानी लगायत जनतासँग प्रत्यक्ष सरोकार रहेका विषयहरु निर्वाचित जनप्रतिनिधिहरुले सम्बोधन गर्ने नेकपा एमालेका युवा नेता ठाकुर गैरेले बताउनुभयो ।
आगामी स्थानीय निर्वाचनका लागि पाल्पामा १४ दल दर्ता भएता पनि ५ दलिय गठबन्धन र नेकपा एमाले बिच नै मुख्य प्रतिष्पर्धा देखिएको छ । बैशाख ११ र १२ गते उम्मेदवार मनोनयन दर्ता गरेपछी राजनीतिक दलहरु प्रसार–प्रसारका लागि पालिकादेखी वडा–वडामा घरदैलो अभियानमा जुटेका छन् । मतदातालाई रिझाउनका लागि यहाँका राजनीतिक दलहरुले विगतमा जस्तै यस पटक पनि घोषणा पत्रलाई निरन्तरता दिएका छन् । तर विगतमा निर्वाचन जितेका दलहरुले घोषणा पत्र अनुसार काम नगर्दा मतदाता भने असन्तुष्ट छन् ।
पाल्पामा रहेका दुई नगरपालिका र आठ गाउँपालिकाको ८१ वडामा ४ सय २५ जना प्रत्यक्ष निर्वाचित जनप्रतिनिधिका लागि एक हजार एक सय ३३ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

यस अघि २०७४ सालको स्थानीय निर्वाचनमा १० पालिकाको ६ वटा प्रमुख र ७ वटा उप प्रमुखमा नेकपा एमाले, ४ प्रमुख, ३ उप प्रमुखमा नेपाली काँग्रेस, ८१ वडा मध्ये, ४१ वटा वडामा नेकपा एमाले, ३६ वडामा नेपाली काँग्रेस र ४ वडामा नेकपा माओवादी केन्द्रले विजयी हासिल गरेको थियो । यहाँका ९ वटा स्थानीय तहमा सत्ता गठबन्धनले आ–आफ्नै चुनाव चिन्हबाट उम्मेदवारी दिएका छन् भने, तानसेन नगरपालिकामा गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रका उम्मेदवारहरुले काँग्रेसको निर्वाचन चिन्हमा रुखबाट उम्मेदवारी दिएका छन् । १ लाख ९९ हजार ६ सय ९० जना मतदाता रहेको पाल्पामा ११८ मतदान स्थल र २४७ मतदान केन्द्र रहेका छन् ।

मतदाताहरु स्थानीय तहको पहिलो निर्वाचनमा जति उत्साहित देखिएका थिए, अहिले भने त्यो उत्साह जिल्लामा देखिदैन । निर्वाचनका बेला मात्र दलहरुले आश्वासन दिने तर पुराना नगर्ने प्रवृत्तिका कारण यहाँका मतदाताहरु अहिलेको चुनावमा उत्साहित नदेखिएका हुन् । मतदाताहरु उत्साहित नदेखिए पनि दलहरु भने आफ्नो पक्षमा मत बढाउन लागि परेका छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?