नेपाल हृयाट्रिकको लक्ष्यमा

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपाली टोलीकी कप्तान अरुणा शाहीले नेपालमा आयोजना हुन लागेको काभा महिला भलिबल च्यालेन्ज कपमा उपाधि हृयाट्रिक गर्ने अवसर भएको बताउनुभएको छ । नेपाल भलिबल संघले आइतबार खेलअघि आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाली टोलीकी कप्तान अरुणाले तयारी राम्रो गरेको भन्दै उपाधिमा हृयाट्रिक गर्ने अवसर भएको बताउनुभएको हो ।

उहाँले अघिल्ला दुई संस्करणमा उपाधि उचालिसकेको र यस संस्करणमा घरेलु कोर्टको फाइदा हुने भन्दै हृयाट्रिकको अवसर भएको बताउनुभयो । भलिबल इतिहासमा नेपालमा अहिलेसम्मकै ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुन लागेको हो । सोमबारबाट आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नेपाल भलिबल संघले जनाइसकेको छ ।

नेपाली महिला खेलाडीले घरेलु कोर्टको भरपूर सदुपयोग गर्दै राम्रो प्रतियोगिता खेल्ने बताएका छन् । १४ गतेसम्म चल्ने प्रतियोगितामा आयोजना हुनुपूर्वको पत्रकार सम्मेलनमा अन्य देशका कप्तानले पनि कम्तीमा पनि मेडलका लागि प्रतिस्पर्धा गर्ने बताए । प्रतियोगिताका लागि नेपाली टोली तीन महिनादेखि बन्द प्रशिक्षणमा रहेर तयारी गरेको छ । टोलीलाई बेल्जियन प्रशिक्षक जान डी ब्रान्टले प्रशिक्षण दिइरहनुभएको छ । प्रतियोगितामा नेपालसहित आठ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।

खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा हुनेछ । प्रतियोगितामा सहभागी आठ राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा घरेलु टोली नेपालसहित भारत, बंगलादेश र किर्गिस्तान छन् । त्यस्तै, समूह ‘बी’मा श्रीलंका, माल्दिभ्स, काजगिस्तान र उज्वेकिस्तान रहेका छन् । प्रतियोगितामा सहभागी हुने टोलीका लागि सबै व्यवस्थापन अन्तिम चरणमा पुगेको हो ।

आयोजक नेपालले उद्घाटन खेलमा किर्गिस्तानसँग खेल्नेछ । सोही दिन उज्वेकिस्तान र श्रीलंका, बंगलादेश र भारत तथा माल्दिभ्स र काजकिस्तानबीच खेल हुनेछ । नेपालले दोस्रो खेल जेठ ९ गते बंगलादेशसँग र तेस्रो खेल जेठ १० गते भारतसँग खेल्नेछ । राउण्ड रोविन लिगपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा र पुछारमा रहेका दुई टोलीले वरीयताका लागि प्रतिस्पर्धा गर्नेछन् । कुल २० खेल हुने च्यालेन्ज कपमा उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समापन युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले गर्ने भलिबल संघले जनाएको छ ।

दुई करोड ७१ लाख अनुमानित बजेट रहेको प्रतियोगिताका लागि आयोजकले विभिन्न समिति बनाएर तयारी गरेको बताइएको छ । यसअघि दुवैपटक बंगलादेश गएर खेलेको नेपाल यसपटक घरेलु कोर्टमा घरेलु समर्थकअघि खेल्न उत्साहित छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?