प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमण :

अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलनमा राख्न दलहरूको सुझाव, पूरा सम्झौता कार्यान्वयनमा जोड

अनिल क्षेत्री
Read Time = 12 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसंघ र चीन भ्रमणको पूर्वसन्ध्यामा पूर्वप्रधानमन्त्रीहरू र संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग परामर्श गर्नुभएको छ । आइतबार बिहान प्रधानमन्त्री प्रचण्डले आफ्नो न्युयोर्क र चीन भ्रमणका सम्बन्धमा पूर्व-प्रधानमन्त्रीहरू, संसद्मा प्रतिनिधित्व गर्ने दलहरू र पूर्व-परराष्ट्रमन्त्रीहरूसँग छलफल गर्न सर्वदलीय बैठक बोलाउनुभएको थियो । छलफलमा प्रधानमन्त्री प्रचण्डले आफू संयुक्त राष्ट्रसंघ हुँदै चीन भ्रमणमा जान लागेको जानकारी गराउनुभएको छ । प्रधानमन्त्रीले चीन भ्रमणको एजेण्डा भने सुनाउनुभएन । उहाँले मन्त्रालयहरूले एजेण्डा तय गर्दै गरेको मात्र ब्रिफिङ गर्नुभएको थियो । प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तन, शान्ति सुव्यवस्था र विकासका विषयमा केन्द्रित भएर राष्ट्रसंघमा भनाइ राख्ने जानकारी गराउनुभयो ।

प्रधानमन्त्रीले बोलाएको छलफलमा प्रमुख राजनीतिक दलहरूले प्रधानमन्त्री प्रचण्डलाई नेपाल र छिमेकी राष्ट्रहरूबीचको सम्बन्धलाई सन्तुलनमा राख्न सुझाव दिएका छन् । संयुक्त राष्ट्रसंघको महासभाका लागि न्यूयोर्क र त्यसपछि चीन भ्रमणमा जान लाग्नुभएका प्रधानमन्त्री प्रचण्डलाई दलहरूले सबै छिमेकी राष्ट्रहरूसँगको सम्बन्धलाई सन्तुलित राख्न सुझाव दिएका हुन् । उनीहरूले चीन र भारत दुवै देशहरू नेपालका असल छिमेकीहरू रहेको भन्दै त्यसको सन्तुलन कायम राख्न सुझाव दिएका थिए ।

चुच्चे नक्साको विषयमा कुरा उठाउन दलहरूको सुझाव
चीन भ्रमणमा हुँदा नेपालको चुच्चे नक्साको विषयमा कुरा उठाउनसमेत दलहरूले सुझाव दिएका छन् । छलफलपछि परराष्ट्रमन्त्री एनपी साउदले बैठकमा संयुक्त राष्ट्रसंघ र चीन भ्रमणका बेला प्रधानमन्त्रीले ध्यान दिनुपर्ने कुराहरू, राख्नुपर्ने प्रस्तावहरू, अपनाउनु पर्ने सावधानी र गर्नुपर्ने कामहरूका विषयमा पूर्वप्रधानमन्त्रीहरूसहित दलहरूबाट महत्वपूर्ण सुझाव र सल्लाह प्राप्त भएको जानकारी दिँदै भन्नुभयो, ‘प्रधानमन्त्रीज्यूले आसन्न चीन भ्रमणका विषयमा पूर्वप्रधानमन्त्रीहरू, प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरू, पूर्व-परराष्ट्रमन्त्रीहरूसँग छलफल गर्नुभएको छ । त्यसक्रममा अहिलेको अवस्थामा संयुक्त राष्ट्रसंघमा र चीन भ्रमणका बेलासमेत ध्यान दिनुपर्ने कुराहरू, राख्नुपर्ने प्रस्तावहरू, अपनाउनुपर्ने सावधानी र गर्नुपर्ने कामहरूका विषयमा पूर्व-प्रधानमन्त्रीहरूसहित दलहरूबाट महत्वपूर्ण सुझाव र सल्लाह प्राप्त भएको छ । प्रधानमन्त्रीको भ्रमणलाई सफल बनाउने विषयमा सबै राजनीतिक दलहरूको बीचमा सहमति भएको छ ।’

दलहरूले सबै छिमेकी राष्ट्रहरूसँगको सम्बन्धलाई सन्तुलनमा राख्न सुझाव दिएको जानकारी दिँदै बैठकमा सहभागी जनमत पार्टीका अध्यक्ष सिके राउतले भन्नुभयो, ‘गरिबी निवारणको सवालमा चीनले जुन सफलता हासिल गरेको छ, त्यसबाट हामीले थुप्रै सिक्न सकिने कुराहरू छन्, हामीले उनीहरूबाट सहयोग र सहकार्य प्राप्त गर्न सक्छौँ । हामीले प्रधानमन्त्रीजीलाई त्यस्तो वातावरण बनाउन पहल गर्न सुझाव दिएका छौँ ।’ प्रधानमन्त्री प्रचण्ड यही ३० भदौमा संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन अमेरिका जाँदै हुनुहुन्छ । महासभापछि प्रधानमन्त्री प्रचण्ड त्यतैबाट चीन भ्रमणमा जाने कार्यतालिका छ ।

भारत र चीन दुवैले नेपालबाट विश्वास गुमाउँदै गए : परराष्ट्रविद् पाण्डे
परराष्ट्रविद् रमेशनाथ पाण्डेले दुवै छिमेकी देशसँग विश्वासको सञ्चिति निरन्तर घट्दै गएको टिप्पणी गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले आइतबार आसन्न विदेश भ्रमणबारे सुझाव लिन बोलाएको छलफलपछि प्रतिक्रिया दिँदै पाण्डेले दुवै देशले नेपालप्रति विश्वास गर्न छोडिरहेको भन्दै प्रधानमन्त्रीले दुवै देशको विश्वास बटुल्ने काम गर्नुपर्ने बताउनुभयो । छिमेकी देशले कूटनीतिक रूपमा स्पष्ट गर्दागर्दै अब सार्वजनिक रूपमा व्यक्त गर्न थाल्नुले झनै चिन्ता थपिएको तर्क गर्दै परराष्ट्रविद् पाण्डेले भन्नुभयो, ‘नेपालको दुवै छिमेकी देशसँग विश्वासको सञ्चिति निरन्तर घट्दै गएको छ । दुवै देश हाम्रा छिमेकीले उनीहरूको चाहना सुरक्षित छैन भन्ने अनुभुति गरेका छन् । त्यसलाई उनीहरूले कूटनीतिक रूपमा स्पष्ट गर्दागर्दै अब सार्वजनिक रूपमा व्यक्त गर्न थालेका छन् । उनीहरूको व्यवहारबाट देखिन्छ । त्यसैले सहसचिव स्तरबाट हुनुपर्ने वार्ताका कुराहरू योजनाका कुरा गर्ने सट्टा प्रधानमन्त्रीजीले दुवै छिमेकीसँग विश्वासको वातावरण बनाउनुपर्छ ।’

रास्वपाले दियो सात बुँदे सुझाव
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्रीको चीन भ्रमणमा नेपाली नागरिकले थाहा पाउने गरी नेपालको नक्साबारे धारणा राख्न सुझाव दिएको छ । आइतबार सिंहदरबारमा प्रधानमन्त्रीले बोलाएको छलफलमा पार्टीको तर्फबाट सहभागी हुनुभएका उपाध्यक्ष डोलप्रसाद अर्यालले प्रधानमन्त्रीलाई नेपाली जनताले थाहा पाउने गरी नक्साको बारेमा चीनसँग देशको तर्फबाट धारणा राख्न सुझाव दिएको बताउनुभएको हो । उपाध्यक्ष अर्यालले भन्नुभयो, ‘प्रधानमन्त्रीज्यूको अहिलेको युएनसहितको चीन भ्रमणको विषय थियो । हामीले लिखित रूपमा सात बुँदा दिएको छौँ । नक्साको विषय पनि हामीले चासोका साथ जानकारी गराएका छौँ । जनताले थाहा पाउने गरी देशको नक्साको विषय राख्नुपर्छ भनेका छौँ । बोर्डर खुला गर्ने विषय र अनुशासनका कुरामा ध्यान दिन आग्रह गरेका छौँ ।’

विदेशी शक्तिसँग अपारदर्शी सम्झौता नगर्नुहोस् : डा. भट्टराई
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आसन्न चीन भ्रमणका क्रममा दलीय, गुटीय र निजी स्वार्थ निम्ति राष्ट्रिय हितविपरीत अपारदर्शी सम्झौता नगर्न सुझाव दिनुभएको छ । पूर्वप्रधानमन्त्री भट्टराईले बहुदलीय लोकतन्त्रमा दलहरूबीच अरू विषयमा मतभिन्नता भए पनि परराष्ट्र सम्बन्धको विषयमा राष्ट्रिय सहमति कायम गर्न सुझाव दिनुभएको छ । प्रधानमन्त्रीले अमेरिका र चीन भ्रमणको एजेण्डाबारे छलफल गर्न बोलाउनुभएको बैठकमा सहभागी नहुनु भएका डा.भट्टराईले सामाजिक सञ्जालमार्फत प्रचण्डलाई तीन बुँदे सुझाव दिनुभएको हो ।

चीनले नेपाललाई शंका गर्न थाल्यो : एमाले
प्रमुख प्रतिपक्षी नेकपा एमालेले नेपालसँगको सम्बन्धलाई लिएर उत्तरी छिमेकी चीनले अनेक आशंका गर्न थालेको जनाएको छ । आइतबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा एमालेको तर्फबाट आफ्ना भनाइ राख्ने क्रममा पूर्व–परराष्ट्रमन्त्रीसमेत रहनुभएका उपमहासचिव प्रदीप ज्ञवालीले चीनले नेपाललाई आशंकाको नजरले हेर्न थालेको बताउनुभएको हो । उपमहासचिव ज्ञवालीले प्रधानमन्त्रीलाई आफूले विश्वास बटुलेर आउन सुझाव दिएको जानकारी दिँदै भन्नुभयो, ‘पछिल्लो समय नेपाल-चीन सम्बन्धमा विश्वासको संकट देखिएको छ ।

चिनियाँ मित्रहरूको मनमा नेपाल कतै सन्तुलित छिमेक सम्बन्धको बाटोबाट अन्यत्र लागेको भन्ने शंका देखिएको छ । नेपालले चीन सम्बन्धलाई कम प्राथमिकता दिएको हो कि, नेपालमा भइरहेको चिनियाँ लगानीलाई निरुत्साहित गर्न खोजेको हो कि वा अरु कुनै सेक्युरिटी अम्ब्रेलातिर जान खोजेको हो कि भन्ने परेको छ । प्रधानमन्त्रीले त्यसलाई चिर्न सक्नुपर्छ । उचस्तरीय भ्रमणको क्रममा जे समझदारी भएका छन्, तिनको कार्यान्वयनमै केन्द्रित हुनुपर्छ भनेका छौँ ।’

सन् २०१९ मा चीनका राष्ट्रपति सि चिनफिङ नेपाल भ्रमणमा आएका बेला सीमा व्यवस्थापन, आपराधिक मामिलामा पारस्परिक कानुनी सहयोग, चीन–नेपाल क्रस बोर्डर रेलमार्ग परियोजनाको सम्भाव्यता अध्ययन, व्यापारमा संयुक्त कार्य समूहको स्थापना टनेल निर्माण सहयोग गर्नेलगायत विषयमा सम्झौता भएको थियो । तर, ती परियोजनाहरू अपेक्षित रूपमा अघि बढिरहेका छैनन् । कतिपय सम्झौताको कामसमेत सुरू भएको छैन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले राजनीतिक रूपमा को टाढाभन्दा पनि राष्ट्रहितलाई केन्द्रमा राखेर ‘डिलिङ’ गर्न सुझाव दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?