काठमाडौं । नेपाली राजनीतिमा निकै परिपक्क, शालीन, समन्वयकारी र सबैलाई मिलाएर लैजान सक्ने साझा व्यक्तित्वको छवि बनाउनुभएका संविधान सभाध्यक्ष सुवास नेम्वाङको निधनले नेपाली राजनीतिमा अपूरणीय क्षति पुगेको छ ।
सभामुखको पर्यायवाचीका रुपमा परिचय बनाउनु भएका उहाँको निधनले नेपालको संसद् सञ्चालनमा कमी आउने आँकलन समेत हुन थालेको छ । पटक पटक सभामुख भइसक्ने भएका नेता नेम्वाङले एमालेबाट राजनीति गरेपनि सत्तापक्ष र प्रतिपक्ष सबैको विश्वास पात्रका रुपमा परिचय बनाउनु भएको थियो ।
विसं २००९ मा माता अपिन्द्रकुमारी र पिता रामबहादुर नेम्वाङको सुपुत्रका रूपमा जन्मनुभएका नेम्वाङ नेपालको राजनीति र संवैधानिक क्षेत्रकै सुपरिचित व्यक्तित्व हुनुहुन्थ्यो ।
उहाँले प्रतिनिधिसभा र अन्तरिम व्यवस्थापिकको सभामुख तथा पहिलो र दोस्रो संविधानसभा अध्यक्ष, नेकपा (एमाले)को उपाध्यक्ष र संसदीय दलको उपनेताको जिम्मेवारी सम्हाल्नुभयो ।
इलाम नगरपालिका–७ सुन्तलाबारी स्थायी ठेगाना रहेका नेम्वाङ पछिल्लो समय बालुवाटारस्थित निजी निवासमा बस्दै आउनुभएको थियो । प्राध्यापन, वकालत र राजनीतिलाई पनि उहाँले सँगसँगै अघि बढाउनुभएको थियो ।
उहाँको सबैलाई मिलाएर लैजान सक्ने समन्वयकारी क्षमताले समकालीन नेपाली राजनीतिका पत्याइएका अभिभावकजस्तै हुनुहुन्थ्यो । संसद् सञ्चालनका क्रममा तत्काल आएका चुनौतीलाई सहजरूपमा अघि बढाउन खप्पिस नेम्वाङ प्रतिवाद गर्ने नेता तथा सांसदलाई व्यङ्ग्यात्मक र मीठो शैलीमा जवाफ दिएर सभालाई रोचक बनाउनुहुन्थ्यो ।
विसं २०५६, २०६४, २०७०, २०७४ र २०७९ को चुनावमा इलाम निर्वाचन क्षेत्र नं २ बाट विजयी नेम्वाङले नेपालको संसदीय लोकतान्त्रिक अभ्यासमा आफूलाई परिपक्व राजनीतिज्ञको रूपमा प्रमाणित गराउन सफल हुनुभयो ।
पार्टीभित्र कतिपय मुद्दामा फरक विचार र धारणा राख्दै आउनुभएका नेम्वाङ पछिल्लोपटक दलले गर्दै आएको संसद् अवरोधप्रति असहमति जनाउँदै अभिव्यक्ति दिनुभएको थियो । दलहरूबीच बेलाबखत घटना विशेषका कारण देखिने तिक्ततालाई निरन्तर वार्ता र संवादबाट सहमतिमा पुग्न सकिने धारणा राख्नुहुने नेम्वाङले सबैसँग भेटघाट र वार्ता छलफलका लागि सहज हुनुहुन्थ्यो ।
सञ्चारकर्मीसँग निरन्तर सम्पर्कमा रहने नेम्वाङ कुनै घटना र सूचना प्राप्त गर्नासाथ त्यसको पुष्ट्याइँ र सूचना दिन निकै सहज हुनुहुन्थ्यो । उहाँका पिता स्व रामबहादुर न्यायाधीश हुुनुहुन्थ्यो भने छोरा सुहाङ नेम्वाङ पनि कानुन व्यवसायी नै हुनुहुन्छ । कानुनसहित दुई विषयमा स्नातक नेम्वाङ लामो समय प्राध्यपन पेसामा रहनुभएकाले पार्टी प्रशिक्षणमा पनि अब्बल हुनुहुन्थ्यो ।
उहाँका श्रीमती, दुई छोरा र दुई छोरी हुनुहुन्छ । सधैँभर सिंहदरबारस्थित संसदीय दलको कार्यालय रहने नेम्वाङ गत शनिबार गृहजिल्ला पुगेर फर्केपछि रुघाखोकी लागेका कारण आउनुभएन । संविधानसभाबाट संविधान जारी गर्ने क्रममा उहाँले खेलेको भूमिका निकै महत्त्वपूर्ण रहेको उहाँका सहकर्मी नेताहरू बताउनुहुन्छ ।
नेपालको राजनीतिक तथा लोकतान्त्रिक परिवर्तनलाई संस्थागत गर्ने नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएकामा नेम्वाङलाई नेपाली जनताले पुस्तौँपुस्तासम्म स्मरण भने अवस्य गर्नेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच