तीन दिनमा ५१ हजारले हेरे फर्निचर एक्स्पो

Read Time = 2 mins

काडमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पोमा आकर्षण देखिएको छ । सार्वजनिक बिदाका कारण एक्स्पो अवलोकन गर्न आउनेको संख्या शनिबारमात्रै २२ हजार पुगेको आयोजकले जनाएको छ । बिहीबार सुरु भएको एक्स्पोमा शनिबारसम्म ५१ हजारले अवलोकन गरेको एक्स्पोको व्यवस्थापक इभेन्ट सोलुसन प्रालिले जनाएको छ ।

बिहीबार १३ हजारले अवलोकन गरेको एक्स्पो शुक्रबार १६ हजारले अवलोकन गरेकोमा आइतबार र सोमबार थप ३० हजारले अवलोकन गर्ने इभेन्ट सोलुसनको अपेक्षा छ । इभेन्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानका अनुसार प्रदर्शकहरूले चाडपर्वलाई लक्षित गरी एक्स्पो अवलोकनकर्तालाई विभिन्न किसिमका अफर सञ्चालन गरेका छन् । साथै प्रत्येक दिन डोर प्राइजको पनि व्यवस्था गरिएको छ । एक्स्पो अवलोकनका लागि प्रवेश निःशुल्क गरिएको छ ।

एक्स्पोकै अवसरमा शुक्रबार र शनिबार प्रदर्शनीस्थलमा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघ तथा लायन्स क्लब अफ काठमाडौं सेन्ट्रलसँगको सहकार्यमा रक्तदान कार्यक्रमसमेत सञ्चालन गरिएको थियो । सोे अवसरमा एक सय आठ पिन्ट रगत संकलन भएको संघका प्रथम उपाध्यक्ष मनिष अग्रवालले जानकारी दिनुभयो । एक्स्पोमा स्वदेशी तथा विदेशी गरी एक सयभन्दा बढी प्रदर्शकको सहभागिता छ । किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इन्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री एक्स्पोका मुख्य आकर्षण बन्ने आयोजकको भनाइ छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?