भाद्र शुक्लपक्षको तृतीयाका दिन पर्ने पर्वलाई हरितालिका तीज र पञ्चमीका दिन पर्ने पर्वलाई ऋषिपञ्चमी भनिन्छ । ‘अलिभिः (सखिभिः) हरिता यस्मात् तस्मात् सा हरितालिका’ अर्थात् सखीहरूले हरण गरेका कारण यस पर्वलाई हरितालिका भनिएको हो । हरिता भनेको हरण गरेकी भन्ने अर्थ लाग्छ भने आलिकाको अर्थ साथी भन्ने हुन्छ । साथीले हरणगरी व्रतमा परिपूर्णता प्राप्त गरेको भन्ने हरितालिकाको अर्थ हुन्छ । माता पार्वतीले जब मेनका र हिमालय पर्वतकी छोरी भएर जन्म लिनुभयो त्यस बखत पनि नारदजी आएर नारायणका लागि कन्या माग्नुहुन्छ । यो कुरा पार्वतीले थाह पाउनुभयो र आफ्ना साथीहरूसँग आफूलाई भगाउनू (हरण गर्नू) नत्र अनर्थ हुनेछ भन्नुभयो ।
सोही सल्लाह अनुरूप साथीले माता पार्वतीलाई हरण गरी एउटा गुफामा पु¥याउछन् । त्यहाँ गएर माता पार्वतीले शिवजीको व्रत उपासना गर्नुहुन्छ । गुफामै बसेर जे जस्ता वस्तु प्राप्त हुन्छन् सोही उपचारले शिवजीको आराधना गर्नुहुन्छ । बालुवाको शिवलिङ्ग बनाई पत्र पुष्प जे उपलब्ध थिए त्यसैले भगवान् शिवजीको पूजा गर्नुहुन्छ । यसरी एकाग्र चित्तले भगवान्को उपासना गरेको देखी शिवजी प्रसन्न भई दर्शन दिनुहुन्छ र तथास्तुको वरदान दिनुहुन्छ । यसरी माता पार्वतीले व्रत धारण गरी शिवजीको दर्शन प्राप्त गरेको र अभीष्ट वर प्राप्त गरेको समय यही भाद्रशुक्ल तृतीया रहेको थियो । यसरी साथीले हरण गरी भगवान्को उपासनापश्चात् वरप्राप्त भएको समय अर्थात् भाद्र शुक्ल तृतीयलाई इच्छित वर प्राप्तिका निम्ति उत्तम दिनका रूपमा लिइन्छ । यसैले यसदिन शिवजीको उपासना गर्नाले आफ्ना अभीष्ट सिद्धि हुन्छन्, इच्छित वर प्राप्त हुने गर्दछ भन्ने शास्त्रीय मान्यता रहेको छ ।
टाढा रहेका चेलिबेटीले भेटघाट गरी एक आपसमा सुखदुःख साटासाट गर्ने पर्वका रूपमा पनि तीजलाई लिने गरिन्छ । घरमा भए गरेका आलोच्य विषयवस्तु गीतका रूपमा व्यक्त गर्दै मनको मयल पखाली शुद्ध भावना जागृत गराउने पर्वका रूपमा समेत तीज पर्व मनाइन्छ ।
यहाँ वर शब्दले भन्नाले पति नै भन्ने अर्थ बहन गर्दैन । आफूले इच्छा गरिएको कुरा प्राप्त हुनु नै वरप्राप्ति हो । हरेक व्रत पर्वका उद्देश्य लौकिक र पारलौकि हुने गर्दछन् । आयु आरोग्य, सुख समृद्धिका साथै यो लोकको भुक्ति प्राप्त गर्ने कुरा लौकिक हुन् भने परलोकपश्चात् मुक्तिका कामना पारलौकिक उद्देश्य हो । पुरुषले पनि तीजको व्रत बस्न सकिन्छ । शिव पुराणअन्तर्गतको कथामा आधारित रहेकाले उत्तर वैदिककालबाट नै यो पर्वको अस्तित्व रहेको भन्ने आकलन गर्न सकिन्छ । विकासको क्रमसँगै सांस्कृतिक पर्वकोसमेत रूप ग्रहण गरी आजसम्म भव्यताका साथ तीज मनाउने गरिन्छ ।
शिवपुराणमा सतिदेवीले पनि यही समयमा भगवान्को व्रत एवं उपासना गरेको कथा पाइन्छ । दक्ष पुत्री सतिदेवीले आफ्ना इच्छित पति शिवजीलाई प्राप्त गर्न कठोर व्रत बस्नुभएको थियो । भगवान् शिव प्राप्त गर्न व्रत बसेकी सतिदेवीलाई अन्यत्रै विवाह गरिदिने माता पिताको इच्छा थियो । सतिदेवीको दृढसंकल्पका कारण अनेकौ बाधा आए पनि आफ्नो प्रतिज्ञा भङ्ग हुँदैन अन्ततः सोही व्रतको प्रभावले गर्दा सतिदेवी र शिवजीको विवाह सम्पन्न भएको थियो । यसरी माता सतिदेवीले पनि यही अवसरमा नै व्रत धारण गर्नुभएको थियो । अतः हरितालिका अर्थात् भाद्रशुक्लतृतीयामा तीजको व्रतधारणपूर्वक शिवआराधना गर्नाले आफ्ना मनोकामना पूर्ण हुने गर्दछन् ।
टाढा रहेका चेलिबेटीले भेटघाट गरी एक आपसमा सुखदुःख साटासाट गर्ने पर्वका रूपमा पनि तीजलाई लिने गरिन्छ । घरमा भए गरेका आलोच्य विषयवस्तु गीतका रूपमा व्यक्त गर्दै मनको मयल पखाली शुद्ध भावना जागृत गराउने पर्वका रूपमा समेत तीज पर्व मनाइन्छ । हरितालिका तीजको अघिल्लो दिन शुद्ध शाकाहारी दर खाइन्छ । यो हाम्रोे मौलिक संस्कृति हो । शास्त्रमा दर खाने विधान पाइँदैन । समाजले आवश्यकता महसुस गरी व्यवहारमा ल्याएका प्रचलन नै संस्कृति हुन् । यस्तै संस्कृति नेपाली परिवेशमा प्रचलित छन् । यसरी लिइने दर भने सात्विक हुनुपर्दछ । किनकि व्रतरहने पहिलो दिनदेखि नै आहार, विहार व्यवहारमा सात्विक रहनुपर्दछ भनिएको छ ।
हरितालिका तीजका दिन प्रातः स्नान गरी शुद्ध चोखो वस्त्र धारण गरेर प्रतिज्ञा सङ्कल्पपूर्वक अर्घ स्थापना गरी दीप, कलश र गणेशको पूजा गर्नुपर्दछ । यसपछि बालुवाको शिवलिङ्ग बनाई त्यसमा उमा र महेश्वरको आवहनपूर्वक षोडशोपचारले पूजा गर्ने शास्त्रीय विधान रहेको छ । यसैगरी भोलिपल्ट लोपामुद्रा पूजा, अगस्तिपूजा, अघ्र्य दान, पूर्णपात्र दानपूर्वक विसर्जन गरी व्रत समापन गरिन्छ । शस्त्रीय विधानका साथ साथै लोक परम्परा अनुसार मन्दिर जाने, उमा महेश्वरको पूजा गर्ने र भजन कीर्तन पूर्वक नाचगान गर्ने चलन पनि रहिआएको पाइन्छ ।
जसरी सतीले शिवजी प्राप्त गर्ने मनोकांक्षा पूरा गर्नुभयो, जसरी माता पार्वतीले शिवजी प्राप्त गर्नभयो त्यसैगरी तीजको व्रत बस्नेले पनि आ-आफ्ना मनोकामना पूर्ण हुन्छन् भन्ने शास्त्रीय मान्यताका आधारमा सुख, शान्ति र समृद्धिको कामना गर्दै यो पर्व मनाउने गरिन्छ ।
हरितालिका तीज एवं ऋषिपञ्चमीका धार्मिक एवं सांस्कृतिक दुवै विशेष महिमा रहेका छन् । दर खानु, नारीका पीर वेदनाहरू तीजका गीतका रूपमा व्यक्त हुनु सांस्कृतिक पक्ष हुन् भने भगवान्को व्रत उपवास गर्नु, ऋषि पूजन गर्नु, दान पुण्यादि गर्नु आदि धार्मिक पक्ष हुन् ।
व्रत नीराहारै (केही नखाइकन) बस्नुपर्छ भन्ने छैन । आफ्नो स्वास्थ्यलई ध्यानमा राखी जल फल आदि पवित्र वस्तु ग्रहण गरेर पनि व्रत उपासना गर्न सकिन्छ । व्रत रहनु भनेको मनमा पवित्र भावनाको जागृत गर्नु हो । रीस, राग, द्वेष रहित हुनु हो । व्रत रहेर पनि मनमा राग द्वेषको भावना रहृयो भने त्यसको कुनै अर्थ रहँदैन । स्वस्थ चित्तले पवित्र आत्माको उपासना नै वास्तवमा व्रत हो । यसैले चित्तको पवित्रता व्रतका निम्ति विशेष महत्व रहने गर्दछ ।
ऋषिपञ्चमीको महिमा
भाद्र शुक्ल पञ्चमीको दिनलाई ऋषिपञ्चमी भनिन्छ । महिला विशेषले विधिपूर्वक स्नान गरी अरुन्धतीसहित सप्तर्षिको पूजा यस दिन गर्ने विधान रहेको छ । सप्तर्षिको विशेष पूजा आराधना गरिने पञ्चमी तिथिको दिन भएकाले यस दिनलाई ऋषिपञ्चमी भनिएको हो । शारीरिक एवं आत्मिक रूपमा पवित्र रही आयु आरोग्य र ऐश्वर्यको कामना यस पर्वको मुख्य विशेषता हुन् । यसैगरीे वर्ष दिनसम्म भए गरेका ज्ञात अज्ञात स्पर्श, भक्ष्य, आदि दोषबाट निवृत्त हुन पञ्चमीको स्नान एवं अरुन्धतीसहित सप्तर्षिको पूजा अर्चना गर्ने गरिन्छ ।
यो नारी विशेषको पर्व हो । विशेष गरी रजस्वला हुने नारीहरूले यस दिन विशेष स्नान गरी ज्ञात अज्ञात दोषहरूको प्रायश्चित्त गर्ने शास्त्रीय विधान छ । पञ्चमीका दिन बिहान नदी वा तलाउमा गई पूर्वाभिमुख भएर ३६० अपामार्गले दाँत माझ्नुपर्दछ । यसपछि तीन सय साठी पटम शरीरमा माटो लेपन गरी स्नान गरिन्छ । यसरी स्नान गरेपछि ३६० अपामार्गले जल अभिषेचन गर्नुपर्दछ । स्नान पश्चात् पूजास्थानमा आई पञ्चगव्य प्राशन पूर्वक दीपकलश गणेश स्थापना गरी अरुन्धती सहित कश्यादि सप्तर्षि (कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ) को षोडशोचारले पूजा हुने गर्दछ ।
सप्तर्षिको स्थापना गर्दा कुशका ऋषि प्रतिमा बनाइन्छन् । यसरी पूजा गरेपछि ३६० तिल, जौ, अक्षता, पुुष्प, दीपसहितका गनौट अर्पण गरिन्छ । गनौट अर्पण पश्चात् भूमिमा पाउ घिसार्दै सप्तर्षिको प्रदक्षिणा गरिन्छ । यसरी प्रदक्षिणा गरिसकेपछि पूर्णपात्र दानसहित विसर्जन गर्ने विधान शास्त्रमा उल्लेख रहेको छ । पुरुष विशेषको यस्तै पर्व ऋषितर्पणी अर्थात् रक्षाबन्धका दिन हुने गर्दछ । जुन दिन पनि यसैगरी स्नान एवं सप्तर्षि पूजा गर्नुपर्ने विधान रहेको छ ।
हरितालिका तीज एवं ऋषिपञ्चमीका धार्मिक एवं सांस्कृतिक दुवै विशेष महिमा रहेका छन् । दर खानु, नारीका पीर वेदनाहरू तीजका गीतका रूपमा व्यक्त हुनु सांस्कृतिक पक्ष हुन् भने भगवान्को व्रत उपवास गर्नु, ऋषि पूजन गर्नु, दान पुण्यादि गर्नु आदि धार्मिक पक्ष हुन् । चित्त शुद्ध गरी पुनः स्वकर्ममा प्रवृत्ति गराउने चाड पर्वले धर्म र संस्कृति दुवैको महत्ता बढाइरहेका हुन्छन् । आजको परिवेशसँगै यस्ता पर्वमा पनि केही नकारात्मक पक्ष देखिन थालेका छन् । गरगहनाको तडकभडक हुनु सोही कारण चोरी डकैती बढ्नु, गीतमा मौलिकता हराउनु असभ्य बन्दै जानु, दरखाने चलन महिना दिनअघिबाटै सुरु हुनु आदि कुरा नकारात्मक पक्ष हुन् । धार्मिक सांस्कृतिक पर्वलाई तडक भडकको नभई सभ्य र भव्य चाड मान्नतर्फ सबै अभिप्रेरित हुनु आज आवश्यक देखिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच