साफ च्याम्पियनसिपमा नेपाललाई फेयर प्ले अवार्ड

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । भारतमा मंगलबार सम्पन्न चौधौँ साफ च्याम्पियनसिपमा नेपाली फुटबल टोलीले फेयर प्ले अवार्ड प्राप्त गरेको छ । च्याम्पियनसिपको समापनका क्रममा नेपाललाई फेयर प्ले अवार्ड दिइएको हो । भारत र कुवेतबीचको फाइनल सञ्चालन गर्नुभएका नेपाली फिफा रेफ्री प्रज्वल क्षेत्रीले अवार्ड ग्रहण गर्नुभएको थियो ।

अघिल्लो संस्करणको उपविजेता नेपाल यस संस्करणमा भने समूह चरणबाटै बाहिरिएको थियो । नेपाल कुवेतसँगको पहिलो खेल तीन–एक, भारतसँगको दोस्रो खेल दुई–शून्यले गुमाउँदै प्रतियोगिताबाट बाहिरिएको थियो । अन्तिम खेलमा भने नेपालले पाकिस्तानलाई एक–शून्यले पराजित गर्दै प्रतियोगितामा सान्त्वना जित हात पारेको थियो ।

सडन डेथमा कुवेतलाई पाँच–चारले हराउँदै भारत नवौँपटक साफ च्याम्पियन बनेको थियो । बैंग्लोर रंगशालामा निर्धारित समय र थप समय एक-एकको बराबरीपछि टाइब्रेकर भएको थियो । टाइब्रेकरमा पनि चार-चारको बराबरीपछि सडन डेथमा भारतले बाजी मारेको हो ।

साफ च्याम्पियनसिपको चौधौँ संस्करण समाप्तिमा भारतले सबैभन्दा बढी नौ, माल्दिभ्सले दुई तथा बंगलादेश, श्रीलंका र अफगानिस्तानले समान एकपटक उपाधि जितेका छन् । नेपालको भने अघिल्लो संस्करणमा फाइनलमा पुग्नु नै सबैभन्दा ठूलो उपलब्धि हो ।

भारतीय टोलीका कप्तान सुनिल क्षेत्री च्याम्पियनसिपका सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभयो । पाँच गोल गर्नुभएका सुनिल च्याम्पियनसिपको सर्वाधिक गोलकर्तासमेत रहनुभयो । बंगलादेशका गोलकिपर अनिसुर रहमान जिकोले गोल्डेन ग्लोभ अवार्ड प्राप्त गर्नुभयो ।

यसपल्ट साफमा पहिलोपटक आमन्त्रित टोलीका रूपमा दक्षिण एसिया बाहिरका राष्ट्र कुवेत र लेवनानलाई पनि सहभागिता गराइएको थियो । भारतले सेमिफाइनलमा लेवनान र फाइनलमा कुवेतलाई पराजित गर्दै उपाधि जितेको हो ।

यसपल्ट दक्षिण एसियाका ६ राष्ट्र नेपाल, आयोजक भारत, बंगलादेश, पाकिस्तान, भुटान र माल्दिभ्सले प्रतियोगितामा सहभागिता जनाएका थिए । श्रीलंकाले भने फिफाको प्रतिबन्धका कारण सहभागिता जनाउन पाएन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?