काठमाडौं । संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले इजरायलमा प्यालेस्टाइनी लडाकु समूह हमासको आक्रमणमा परी निधन भएका नेपालीहरूको शव यथाशीघ्र स्वदेश ल्याउन सरकारलाई निर्देशन दिएको छ । मंगलबार बिहान सिंहदरबारमा बसेको समितिको बैठकले हमासको आक्रमणमा परेर इजरायलमा निधन भएका १० जना नेपाली विद्यार्थीको शव यथाशीघ्र स्वदेश ल्याउन सरकारलाई निर्देशन दिएको हो । सरकारलाई समितिको तर्फबाट निर्देशन दिँदै समिति सभापति राजकिशोर यादवले घाइतेहरूको स्वास्थ्योपचार गर्न, बेपत्ता नेपालीहरूको तत्काल खोजी गर्न र अप्ठ्यारोमा परेका नेपालीहरूको उद्धार एवं सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारलाई निर्देशन दिनुभएको छ । घटनाका पीडित एवं पीडित परिवारलाई राहतको व्यवस्था गर्न, स्वदेश फिर्तीको चाहना भएका नेपालीहरूलाई तत्काल फिर्तीका लागि आवश्यक समन्वय र शीघ्र पहलकदमी लिन पनि समितिले सरकारलाई निर्देशन दिएको छ ।
भविष्यमा हुने यस्ताखाले घटनाको पूर्वआँकलन गरी विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा नेपालीको विवरण आवधिक गरी पूर्ण अवस्थामा राख्न पनि सरकारलाई निर्देशन दिँदै समितिले भनेको छ, ‘इजरायलमा भएको अकल्पनीय घटनाबाट निधन भएका नेपालीहरूको शव यथाशीघ्र स्वदेश ल्याउन, घाइतेहरूको स्वास्थ्योपचार गर्न, बेपत्ता भएका नेपालीहरूको तत्काल खोजी गर्न र अप्ठ्यारोमा परेका नेपालीहरूको उद्धार एवं सुरक्षित स्थानमा स्थानान्तरण गर्न, पीडित एवं पीडित परिवारलाई राहतको व्यवस्था गर्न, स्वदेश फिर्तीको चाहना भएका नेपालीहरूलाई तत्काल फिर्तीका लागि आवश्यक समन्वय र शीघ्र पहलकदमी लिनलाई यो समितिले नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयलाई निर्देशन गर्छ ।’
नेपालीको विवरण अपडेट गरी तयारी अवस्थामा राख्न निर्देशन
अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले इजरायलजस्तै घटना भविष्यमा अरू देशमा घट्न सक्ने पूर्वआँकलन गरी तयारी अवस्थामा रहन सरकारलाई निर्देशन दिएको छ । समिति सभापति राजकिशोर यादवले समितिको तर्फबाट सरकारलाई निर्देशन दिँदै भन्नुभयो, ‘भविष्यमा इजरायल जस्तो घटनाको पूर्वआँकलन गरी विदेशस्थित विदेश दूतावास नियोगहरूलाई नेपालीहरूको विवरण अपडेट गरी पूर्णतयारी अवस्थामा राख्न र ती निकायहरूलाई स्रोतसाधनसहित सक्षम र सबल बनाउन परराष्ट्र मन्त्रालयलाई निर्देशन गर्दछ ।’
इजरायल भ्रमण नगर्न सरकारको आग्रह
सरकारले इजरायलमा कुनै पनि प्रकारको भ्रमण नेपाली नागरिकलाई नगर्न आग्रह गरेको छ । इजरायलको अवस्था अझै सामान्य भइनसकेको भन्दै सरकारले भ्रमण नगर्न आग्रह गरेको हो । मंगलबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै परराष्ट्रमन्त्री एनपी साउदले कुनै पनि संस्थागत, राजनीतिक वा व्यक्तिगत भ्रमण नगर्न आग्रह गर्नुभएको हो । मन्त्री साउदले इजरायलमा रहेका नेपालीहरूको अवस्थाबारे समितिले जानकारी पनि गराउनुभएको छ । उहाँको अनुसार इजरायलमा चार हजार ५०० जना नेपाली केयर गिभरको रूपमा कार्यरत छन् । यसैगरी, लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत २६५ जना विद्यार्थीहरू इजरायलमा रहेको र तीमध्ये १० जनाको चरमपन्थी समूह हमासले गरेको आक्रमणमा परी मृत्यु भएको मन्त्री साउदले जानकारी गराउनुभयो । इजरायलमा रहेका सुदूरपश्चिम विश्वविद्यालयका ३२ जना विद्यार्थी र कृषि तथा वन विश्वविद्यालयका २३ जना गरी कुल ५५ जना नेपालीलाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गरिएको मन्त्री साउदले जानकारी दिनुभयो । निधन भएका १० जना नेपाली विद्यार्थीको शवहरू बंकरबाट सुरक्षित स्थानमा सारिएका र नेपाल आउन इच्छुक अन्य नेपालीहरूलाई सुरक्षित रूपमा नेपाल ल्याउने तयारी भइरहेको उहाँको भनाइ छ । नेपाल फर्किन इच्छुकका लागि अनलाइन रजिष्ट्रेसनको व्यवस्थासमेत गरिएको छ ।
इजरायल घटनामा सस्तो लोकप्रियता नखोजौँ : मन्त्री साउद
परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले इजरायल घटनामा सस्तो लोकप्रियता नखोज्न सम्पूर्ण राजनीतिक दल र सरोकारवाला पक्षसँग आग्रह गर्नुभएको छ । हमास समूहले आक्रमण गरेपछि इजरायलको अवस्था संवेदनशील रहेको जानकारी दिँदै मन्त्री साउदले अहिलेको अवस्थालाई राजनीतिकरण नगर्न पनि आग्रह गर्दै भन्नुभयो, ‘अहिलेको अवस्थालाई राजनीतिक फाइदाका लागि कसैले प्रयोग गर्ने छैन भन्ने विश्वास म व्यक्त गर्न चाहन्छु । यसमा सस्तो लोकप्रियता कसैले खोज्ने छैन, त्यहाँ जाने, भ्रमण गर्ने, हामीले गर्यौं भन्नेतर्फ जाने छैनन् । सरकारलाई सबैले सहयोग गर्नेछन् भन्ने म विश्वास व्यक्त गर्छु ।’
बंकरमा रहेका विद्यार्थीहरूलाई इजरायली सेनाको सहयोगमा ४८ घण्टाभित्रै सुरक्षित स्थानमा सारिएको उहाले जानकारी दिनुभयो । स्वदेश फर्किन इच्छुक नेपालीहरूलाई तेल अव्यवस्थित नेपाली दूतावासले अनलाइन रजिष्ट्रेसन सुरु गरिसकेको र विमान चार्टर गरेर ल्याउने निर्णय मन्त्रिपरिषद्ले गरिसकेको जानकारी दिँदै मन्त्री साउदले भन्नुभयो, ‘हामीले विमान चार्टर गर्दा जुन-जुन मुलुक भएर रुट जाने हो, त्यो सबै मुलुकको क्लियरेन्स चाहिन्छ । यसका लागि प्रक्रिया थाल्नुस् भनेर निर्देशन दिइसकेका छौँ । इजरायलको नजिकको कुनै देशमा लैजाने र त्यहाँबाट चार्टर गरेर ल्याउने विकल्पमा पनि काम भइरहेको छ । नेपाल नल्याउँदासम्म अलपत्र हुने स्थिति नआओस् भनेर सेल्टर खोजेर भए पनि राख्नुस् भनेर सरकारले नेपाली दूतावासलाई निर्देशन दिएको छ ।’
इजरायल सरकारप्रति नेपालको ऐक्यबद्धता
परराष्ट्रमन्त्री एनपी साउदले इजरायल सरकारप्रति नेपालले ऐक्यबद्धता व्यक्त गरेको जानकारी दिनुभएको छ । मंगलबार बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई इजरायलमा भएको हमास समूहको आक्रमण र त्यसबाट नेपालीहरू प्रभावित भएको विषयमा जानकारी दिँदै मन्त्री साउदले भन्नुभयो, ‘परराष्ट्र मन्त्रालयले इजरायलमा घटना घटेकै दिन असोज २० गतेदेखि नियमित रूपमा प्रेस विज्ञप्ति जारी गरिरहेको छ । यस घटनाको निन्दा गर्नुका साथै इजरायल सरकारप्रति ऐक्यबद्धता व्यक्त गरिएको छ ।’
नेपालीको अवस्थाबारे छिटोछिटो जानकारी दिनुपर्छ : सिंह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले हमासले आक्रमण गरेपछि इजरायलमा नेपालीको अवस्थाबारे जनतालाई छिटोछिटो जानकारी दिनुपर्ने बताउनुभएको छ । उहाँले अनलाइनको पहुँचमा नभएकाहरूलाई कसरी सम्पर्क गर्ने भन्ने विषयमा पनि ध्यान दिन सरकारलाई सुझाव दिनुभयो । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको मंगलबारको बैठकमा नेता सिंहले भन्नुभयो, ‘इजरायल युद्धको अवस्था संवेदनशील भएकाले सरकारको तर्फबाट टाइम टु टाइम जनतालाई जानकारी दिँदा राम्रो हुन्छ । केही घाइते र केही सम्पर्कविहीन छन् । उनीहरूको अवस्थाबारे जानकारी नपाएको गुनासो आफन्तहरूले गरिरहेका छन् ।’
इजरायलस्थित नेपाली राजदूतलाई फिर्ता बोलाउन माग
सांसद प्रभु साहले इजरायलमा रहेका नेपाली राजदूतलाई फिर्ता बोलाउन माग गर्नुभएको छ । मंगलबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्री एनपी साउदलाई सांसद साहले अप्ठेरो अवस्थामा काम गर्न नसक्ने राजदूतलाई फिर्ता बोलाउन आग्रह गर्नुभएको हो । इजरायलमा रहेको नेपाली दूतावासले प्रभावकारी ढंगले काम गर्न नसकेको उहाँको टिप्पणी छ । सांसद साहले दूतावासले घटना हुनुभन्दा अगाडिको अवस्थामा पनि नेपालीहरू कुन स्थानमा, कस्तो अवस्थामा छन् त्यस्ता कुराहरूमा दूतावास चनाखो हुनुपर्नेमा जोड दिँदै दक्ष व्यक्तिलाई मात्र राजदूत नियुक्त गर्न पनि माग गर्नुभयो ।
नेपाली राजदूतको क्षमतामाथि रास्वपाले उठायो प्रश्न
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले पार्टीगत राजदूत चयन गर्दा कमजोरी बढेको बताउनुभएको छ । इजरायल घटनामा पनि राजदूतावास र राजदूतको क्षमतामा प्रशस्त प्रश्न उठेको उहाँको जिकिर छ । सांसद खनालले सरकारले समयमै आवश्यक पहलकदमी नलिँदा जनतामा सरकार छ भन्ने आशा गुमेको दाबी गर्नुभयो । क्राइसिसको बेलामा क्षमताका कुराहरू बढी प्रमुख रूपमा देखिने गरेको भन्दै उहाँले सम्भावित घटना भए कसरी अग्रसरता देखाउने भन्ने बारेमा सक्रियता बढी देखाउनुपर्ने बताउनुभयो । सांसद खनालले पीडित विद्यार्थीले पनि राजदूतावासमाथि प्रश्न उठाएको उल्लेख गर्दै संवेदनशील मुलुकमा कस्ता राजदूत पठाउने भन्नेबारे सोच्नुपर्ने बताउनुभयो ।
जोखिममा रहेका नेपालीलाई सुरक्षित स्थानमा सार्न सरकारको ध्यानाकर्षण
सत्तारूढ दल नेपाली कांग्रेसले इजरायलमा जोखिममा रहेका नेपालीहरूलाई सुरक्षित स्थानमा राख्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएको छ । मंगलबार संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकले इजरायलमा जोखिममा रहेका नेपालीहरूलाई सुरक्षित स्थानमा खान बस्नका लागि उचित व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएको हो । बैठकले इजरायलमा ज्यान गुमाएका १० जनाको पार्थिव शरीरलाई यथाशीघ्र स्वदेश ल्याएर परिवारजनलाई बुझाउने व्यवस्था गर्नसमेत आग्रह गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो । यस्तै, सम्पर्कमा नरहेका नेपालीको खोजी गरेर अवस्था सार्वजनिक गर्न, नेपाल आउन चाहने नेपालीका लागि सुरक्षित तवरले स्वदेश फिर्ताको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएको लेखकले जानकारी दिनुभयो । बैठकले इजरायलमा हमास समूहको आक्रमणको निन्दा गर्दै मृत्यु हुने नेपाली युवाप्रति श्रद्धाञ्जलि साथै शोक प्रस्ताव पारित गरेको छ । बैठकमा परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा रहेका नेपालीहरूरुको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।
त्रिविका विद्यार्थीलाई सुरक्षित स्थानमा सारिँदै
त्रिभुवन विश्वविद्यालय (त्रिवि) कृषि र पशु विज्ञान अध्ययन संस्थान डिन कार्यालयले इजरायलमा रहेका विद्यार्थी सुरक्षित रहेको जनाएको छ । इजरायलको ‘किन्नरेट एकेडेमिक कलेज’मार्फत विभिन्न कृषि फार्ममा काम गरिरहेका विद्यार्थीमध्ये ‘जेरिट फार्म’ च्याउ फार्ममा रहेका ७२ विद्यार्थीले असुरक्षित भएको जानकारी दिएपछि त्रिविले नेपालस्थित इजरायली दूतावास, इजरायलमा रहेको नेपाली दूतावास र किन्नरेट एकेडेमिक कलेजसँग विद्यार्थीको उद्धार गर्न पहल गरेको जनाएको छ । सोमबार राति नै ‘जेरिट फार्म’मा कार्यरत ती विद्यार्थीलाई सेनाले तत्काल उद्धार गरेर विभिन्न पाँचवटा बंकरमा राखेको थियो । मंगलबार ती विद्यार्थीलाई किन्नरेट कलेजनजिक अझ सुरक्षित क्षेत्रमा ल्याइरहेको जानकारी पाएको कृषि र पशु विज्ञान अध्ययन संस्थानका डिन प्रा.भार्गव धितालले जानकारी दिँदै भन्नुभयो, ‘ती ७२ जना विद्यार्थीलाई अहिले अझ सुरक्षित क्षेत्रमा ल्याइरहेको भन्ने जानकारी पाएको छु । दूतावास र कलेजसँग नियमित सम्पर्कमा छु ।’ त्रिविका १०० विद्यार्थी ‘लर्न, अर्न एण्ड रिटर्न’ कार्यक्रमअन्तर्गत द किन्नरेट एकेडेमिक कलेज, जोर्डन गएका थिए । यी विद्यार्थीहरूमध्ये ७२ जना ‘जेरिट फार्म’मा र बाँकी २८ जना अरू दुई कृषि फार्ममा कार्यरत रहेको त्रिविले जनाएको छ । ती २८ जना विद्यार्थीले आफूहरू सुरक्षित रहेको जानकारी दिएको त्रिविले जनाएको छ । तर, उनीहरूलाई पनि सचेत रहन र समस्या भए तुरुन्तै जानकारी दिन अनुरोध गरेको जानकारी दिँदै डिन प्रा.धितालले भन्नुभयो, ‘बाँकी २८ जना अहिलेसम्म सुरक्षित रहेको जानकारी दिएका छन् तर सचेत रहन भनेको छु । किनभने एकैछिनमा अवस्था फरक हुने रहेछ आज सुरक्षित स्थानमा सारिरहेको ती ७२ जनाले पनि सोमबार अपराह्न ५ बजेसम्म ठिकै छौँ भनेका थिए राति समस्यामा छौँ भनेपछि उद्धारका लागि पहल गरेका हौँ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच