लंका प्रिमियर लिगमा सन्दीपले ५० लाख पाउने

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने श्रीलंका क्रिकेट बोर्डले आयोजना गर्ने लंका प्रिमियर लिग (एलपिएल) मा अनुबन्धित हुनुभएको छ । श्रीलंकामा भएको ड्राफ्टमा सन्दीपलाई डम्बुल्लाले अनुबन्ध गरेको हो । डम्बुल्लाले सन्दीपलाई ४० हजार डलर अर्थात् (५० लाख ७६ हजार नेपाली रुपैयाँ) मा अनुबन्ध गरेको छ ।

सन्दीप रहेको टोलीमा अस्ट्रेलियाका डार्सी सर्ट, श्रीलंकाका कप्तान दासुन सनका, भानुका राजपक्षलगायतका खेलाडीहरू हुनुहुन्छ । सन्दीप इन्टरनेसनल डाइमन्डको समूहबाट अनुबन्ध हुनुभएको हो । एलपिएलमा पाँच फ्रेन्चाइज टोली छन् । एलपिएल २०२२ जुलाई ३१ जुलाई देखि २१ अगस्टसम्म श्रीलंकामा हुनेछ ।

सन्दीप हाल नेपाली टोलीसँग क्यानडामा हुनुहुन्छ । नेपालले विश्वकप क्रिकेट लिग-२ को तयारी क्यानडामा गरिरहेको छ । एलपिएलमा परेपछि सन्दीपले प्रतिक्रिया दिदैँ खुसी व्यक्त गर्नुभएको छ । उहाँले आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

सन्दीपले पछिल्लो समय बिग ब्यास लिग हरिकेन्सबाट खेल्दै आउनुभएको छ । बिग ब्यासबाहेक अन्य विदेशी फ्रेन्चाइज लिग पछिल्लो समय सन्दीपले खेल्नुभएको छैन । नेपाली टोली क्यानडामा छ । त्यहाँ दुई अभ्यास खेल खेलेर स्कटल्यान्ड जानेछ । आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज नामिबिया र स्कटल्यान्डसँग खेलेर १७ जुलाईमा सकिनेछ ।

यस लिगको हरेक खेलमा एक टोलीमा चार विदेशी खेलाडी प्लेइङ-११ मा रहने नियम रहेको छ । त्यसैले सन्दीप प्लेइङ-११ मा रहने सम्भावना उच्च रहेको छ । सन्दीपले यसअघि भारतको इन्डियन प्रिमियर लिग, पाकिस्तानको पाकिस्तान सुपर लिग, बंगलादेशको बंगलादेश प्रिमियर लिग, अमेरिका तथा क्यानडाका लिगहरूसमेत खेलिसक्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?