![सुर्तीजन्य करप्रति सरकार किन उदार ?](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/anti-smoking-Hita-fornt-page.jpg)
काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल सरकारबाट बाहिरिएको छ । सरकारमा सामेल भएको दुई महिनामै जसपा नेपाल सरकारबाट बाहरिएको हो । जसपा नेपालका अध्यक्ष तथा उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सोमबार पदबाट राजीनामा दिनुभएको हो । यादवले वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्य गर्न नसकिने बताउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष राजीनामा दिनुभएको हो । केही दिनअघि यादव विदेश भ्रमणमै रहेका बेला जसपा, नेपाल विभाजित भएको थियो । विभाजनपछि बनेको अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीसमेत सरकारमा छ । यादवसँगै वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले समेत पदबाट राजीनामा दिनुभएको छ ।
जसपा नेपाल सरकारबाट बाहिरिएकै दिन विभाजित जसपा सरकारमा प्रवेश गरेको छ । अशोक राई नेतृत्वको जसपा थप मन्त्रीसहित सरकारमा सहभागी भएको हो । जनता समाजवादी पार्टीबाट दुईजना मन्त्री नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव र राज्यमन्त्रीमा हसिना खानले सोमबार पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ । सोमबार शीतलनिवासमा आयोजित समारोहमा यादवलाई राष्ट्रपति रामचन्द्र पौडेल तथा खानलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शपथ खुवाउनुभएको हो ।
१२ सांसद भएको जसपा नेपाल अध्यक्ष यादव विदेशमा रहेका बेला वैशाख २३ गते विभाजित भएको थियो । सात सांसदसहित अशोक राई नेतृत्वको जसपालाई वैशाख २४ गते नै निर्वाचन आयोगले दलको मान्यता दिइसकेको थियो ।
केही समयअघि मात्रै जसपा नेपालबाट बाबुराम भट्टराई नेतृत्वको समूह अलग्गिएको थियो । त्यसअघि महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी सहितका नेताहरू अलग्गिएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनेको थियो । महतोले त लोसपाबाट अलग्गिएर छुट्टै मोर्चा सञ्चालन गर्नुभएको छ ।
विभाजनविरुद्ध सर्वोच्चमा रिट
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी विभाजनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ । दल विभाजन गरी गएका नेताहरूले गठन गरेको नयाँ पार्टी दर्ता गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध उहाँले सोमबार सर्वोच्चमा रिट दर्ता गर्नुभएको हो । रिटमा आयोग र जसपा नेपाल छाडेर नयाँ दल गठनमा सहभागी भएका सांसदहरूलाई विपक्षी बनाइएको छ । यादवले नयाँ दल दर्ता अवैधानिक रहेको भन्दै दल दर्ता गर्ने आयोगको निर्णय बदर गर्न अन्तरिम आदेश पनि माग गर्नुभएको छ । नयाँ दल दर्ताका लागि राजनीतिक दलसम्बन्धी ऐन र नियमावलीमा केन्द्रीय समिति र संसदीय दलको ४० प्रतिशत सदस्यको समर्थन चाहिनेमा संघीय संसद्को ४० प्रतिशत सदस्य पुगे पनि केन्द्रीय समितिका ४० प्रतिशतले नयाँ दललाई समर्थन नगरेको यादवको जिकिर छ ।
मधेश सरकार जोगाउन महन्थसँग हारगुहार
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । महन्थलाई भेट्न उपेन्द्र सोमबार लोसपा कार्यालय पुग्नुभएको थियो । उहाँले मधेश सरकारमा सहकार्यका लागि सहयोग मागेका लोसपाका एक नेताले जानकारी दिनुभयो । तर, महन्थले भने भर्खरै प्रस्ताव आएको र यस विषयमा सल्लाह गरौँला भन्ने जवाफ दिनुभएको उहाँको भनाइ छ । नेकपा एमाले र माओवादी केन्द्रले सरकार छाडेपछि मधेश प्रदेशमा जसपा नेपालका नेता मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारले विश्वासको मत लिनुपर्ने अवस्था छ ।
प्रधानमन्त्रीले चौथोपटक विश्वासको मत लिनुपर्ने
सरकारबाट बाहिरिएसँगै जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सोमबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको पार्टीका सांसद राजकिशोर यादवले जानकारी दिनुभयो । जसपाले समर्थन फिर्ता लिएसँगै प्रचण्डले संसद्मा चौथोपटक विश्वासको मत लिनुपर्ने भएको छ । संविधानको धारा १०० को उपधारा (२)मा सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ । प्रचण्डले पछिल्लोपटक २०८० फागुन ३० गते विश्वासको मत लिनुभएको थियो । २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त हुनुभएका प्रचण्डले पुस २६ गते पहिलोपटक विश्वासको मत लिनुभएको थियो । राष्ट्रपति निर्वाचनमा प्रचण्डले कांग्रेससँग सहमति गरेसँगै एमालेले समर्थन फिर्ता लिएपछि २०७९ चैत ६ गते दोस्रोपटक विश्वासको मत लिनुभएको थियो । एक वर्षपछि कांग्रेसँगको समीकरण बदलेर एमाले–रास्वपासँग समीकरण बनाएसँगै फागुन ३० मा प्रचण्डले तेस्रोपटक विश्वासको मत लिनुभएको थियो । पछिल्लोपटक प्रचण्डलाई प्रतिनिधि सभाका १५७ सांसदको समर्थन थियो । २७५ सदस्यीय संसद्को विश्वास रहन १३८ सांसदको आवश्यकता पर्छ । प्रचण्डलाई अझै पनि १४७ सांसदको साथ छ ।
पार्टी फुटाउन राज्य नै लाग्यो : राजकिशोर
जसपा नेपालका नेता तथा सांसद राजकिशोर यादवले पार्टी फुटाउन राज्य नै लागेको आरोप लगाउनुभएको छ । उहाँले सरकारकै नेतृत्वकर्ताहरू पार्टी विभाजन गराउन लागेको आरोप लगाउनुभयो । प्रधानमन्त्री प्रचण्ड स्वयंले पार्टी विभाजनमा आफ्नो हात रहेको उल्लेख गर्नुभएको उहाँले बताउनुभयो । ‘राज्य नै लागेर फुटाइयो । सरकारकै नेतृत्वकर्ताहरू पार्टी विभाजन गराउन लाग्नुभयो,’ उहाँले भन्नुभयो, ‘यहाँ नैतिक रूपले बसिरहन मिलेन । यो विभाजनमा स्वयं प्रधानमन्त्रीज्यूले नै मेरो पनि हात छ, भनेर स्वीकार गरिसकेपछि त्यहाँ बसिरहन उचित लागेन ।’ सांसद यादवले विभाजित भएर जाने नेताहरूले आफूहरूको आन्दोलनमा घाटा हुने बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच