रूपान्तरित तीज, संस्कृतिमा चुनौती

हिमालय टाइम्स
Read Time = 14 mins

तीजको रहर (लहर) आयो बरिलै... ।’ विगतमा तीज मनाउने दिदीबहिनीले सर्वाधिक गाउने र रेडियोमा बज्ने गीत यही थियो । तर अहिले यसभन्दा बढी अरू नै गीत बज्छन् टिभी र एफएमहरूमा । रेडियो नेपालमा मात्रै सीमित हुन पुगेको छ यो गीत । तीजका कार्यक्रमहरूमा तीजका आधुनिक गीत बज्छन् । अहिले तीज मनाउने दिदीबहिनीले सर्वाधिक गाउने र एफएम तथा टिभीमा सर्वाधिक बज्ने गीत बनेका छन् ‘सोचेझैँ रै’नछ जिन्दगी...’, ‘चरी जेलैमा...’, ‘पोइल जान पाम...’ आदि इत्यादि ।

अझ महिलासँगै पुरुषले पनि तीज गीतमा गाउन र नाच्न थालेका छन्, ‘हामी पनि नाच्नुपर्छ बीचबीचमा...’ भन्दै । हिजो तीजमा गाइने गीतमा दुःख, पीडा, विरह र बिलौना हुन्थे भने अहिलेचाहिँ छाडा ठट्यौली । हाकाहाकी भन्छन्, ‘माइती आयौं दिदीबहिनी मनका कुरा साटन, भिनाजु र ज्वाइँ साहेबको कुरा काटन...।’ अझ कोही कोही भन्छन्, ‘दिदीले भेना पाए दाइले नि भाउजू ल्याए, अब त चाइने जो मेरै पालि हो... ।’

हिजोका दिनमा तीजमा व्रत बस्नु र रमाइलो गर्नु दुवै रहर थियो । अनि माइतीमा आएर गीतको भाकामा आफ्नो दुःख, पिर र वेदना पोख्नु अथवा माइती जान नपाएकोमा आफ्नो विरह-वेदना पोख्नु दिदीबहिनीको बाध्यता थियो ।

दरमा के-के खाने हो, त्यो अहिलेको पुस्ताले बिर्सिसके । अहिलेका दिदीबहिनीले खाने दरमा खीर, पुलाउ, दही र फलफूल होस् वा नहोस् माछा, मासु र महँगा विदेशी दारु चाहिँ अवश्य हुन्छन् । अनि दरको नाउँमा त्यही माछा, मासु र विदेशी महँगा दारु खाएर र जिउमा दश तोला सुन र लाखको सारी ढल्काएर भन्छन्, ‘सोचेझैँ रै’नछ जिन्दगी... ।’ अनि कोही चाहिँ उसैगरी जिउमा दश तोला सुन र लाखकै सारी ढल्काएर तीज मनाउन र भगवानको दर्शन गर्न भन्दै फुक्काफाल भएर हिँड्छन् र भन्छन्, ‘चरी जेलैमा हो चरी जेलैमा, मै छोरी रुँदैरुँदै बेसी मेलैमा... ।’
यसरी चरी जेलैमा छोरी रुँदैरुँदै बेसी मेलैमा भनेर गीतको तालमा यौनासनको नाच नाच्ने सहरीया दिदीबहिनीलाई मेला–पर्म भनेको के हो भन्ने पनि थाहा छ कि छैन ! तीज संस्कतिमा बढ्दै गएको यस्तो विकृतिले अन्ततः तीज पर्वको मूल मर्म नै ओझेलमा पर्दै गएको छ । तीज-सस्कृति नै संकटमा पर्दै गएको छ । तीज-संस्कृतिमा विकृति बढ्दै गएको छ ।

हिजोका दिनमा तीजमा ब्रत बस्नु र रमाइलो गर्नु दुवै रहर थियो । अनि माइतीमा आएर गीतको भाकामा आफ्नो दुःख, पिर र वेदना पोख्नु अथवा माइती जान नपाएकोमा आफ्नो विरह-वेदना पोख्नु दिदीबहिनीको बाध्यता थियो । अहिले चाहिँ रमाइलो गर्नु सबैका लागि रहर भएको छ तर व्रत बस्नु चाहिँ कर भएको छ अर्थात् बाध्यता भएको छ । धेरैजना करले व्रत बस्छन् । रहरले व्रत बस्ने र आफ्नो संस्कृति अनुसार भगवानको पूजाआजा गर्ने थोरै छन् । संस्कृतिको पालनालाई कर मान्ने र मनलागीसँग रमाइलो गर्नुलाई रहर मान्ने दिदीबहिनीबाट परम्पराको निर्वाह र मौलिक संस्कृतिको जगेर्ना हुन्छ भन्ने अपेक्षा कसरी गर्न सकिन्छ ? धर्म र संस्कृतिप्रतिको पवित्र आस्थाले भन्दा केवल आहा र वाहका लागि चाडपर्व मनाउन थालेपछि संस्कृतिको जगेर्ना हुन्छ भनेर आशा गर्नु व्यर्थ छ ।

परिवर्तित सन्दर्भ र आधुनिकताको प्रभावसँगसँगै संस्कृतिमा पनि केही परिवर्तन आउनु अस्वाभाविक होइन । समाज होस् वा संस्कृति, परिवर्तन नै सबैको चाहना भएको छ । त्यसैले हाम्रा धेरै संस्कार र संस्कृतिको नै परिवर्तन भएको छ तर परिवर्तनको नाउँमा मौलिक संस्कृतिको मर्म नै मर्ने गरी संस्कृति अपनाउनुको कुनै औचित्य हुन्न । आफ्नो मौलिकता नै मरेको संस्कृतिले आफ्नो पहिचानको संरक्षण गर्न सक्दैन । अहिले रूपान्तरित तीजको सन्दर्भमा पनि यही कुरा लागू हुन्छ ।

संस्कृति भनेको सभ्यता र अनुशासन पनि हो । सभ्यता, अनुशासन र मर्यादालाई नै उल्लंघन गरेर मौलिक संस्कृतिलाई विकृत बनाई आधुनिक बन्ने लालसाले हामी आफ्नो पहिचान मेट्ने बाटोमा अग्रसर भएको देखाउँछ । हामी आफ्नोलाई छोडेर अरूको जस्तो गर्न खोज्दैछौं तर हामी न अरू जस्तो बन्न सकेका छौं न आफू जस्तो नै रहन सकेका छौं । आफ्नोलाई बिर्सेर अरूको जस्तो बन्न खोजेपछि हाम्रो आफ्नो पहिचान मेटिन्छ । पहिचानविनाको जिन्दगी र संस्कतिको के अर्थ ?

यसो त संस्कृति सबैको आ-आफ्नै ढंगको रहिआएको छ । विशेष गरी पूर्वी र पश्चिमा संस्कृति संसारभर लोकप्रिय छ । तुलनात्मक रूपमा हेर्दा पश्चिमाभन्दा पूर्वी संस्कृतिलाई अनुशासित, सभ्य र सौम्य मानिन्छ । हाम्रो संस्कृति अनुशासित, सभ्य र सौम्य पनि छ । तर विश्वको शिक्षा, सभ्यता र संस्कृतिको प्रभावबाट हाम्रो संस्कृति पनि अछुतो रहन सकेको छैन । यही प्रभावले हाम्रो मौलिक संस्कृति जीवित रहन्छ कि रहँदैन भन्ने चिन्ता बढ्दै गएको छ ।

तीजको सन्दर्भ भएकोले तीजकै कुरा गरौं । अहिले तीजमा देखिने आमा, भाउजू, काकी र दिदीहरूको उत्ताउलो व्यवहारबाट हाम्रा ससाना छोरी–चेलीहरूले कस्तो संस्कृति र संस्कार सिक्छन् ? अहिलेकै जस्तो उत्ताउलो संस्कृतिको अनुसरण गर्दा आफ्नो मौलिक संस्कृतिको स्थानचाहिँ कहाँ पुग्छ होला ? संस्कृति र परम्परा निर्वाहको नाउँमा कता जाँदैछ हाम्रो समाज ? के हुँदैछ हाम्रो संस्कृति ? गम्भीर प्रश्न खडा भइरहेको छ । यदि सांस्कृतिक रूपान्तरण हो भने यो रूपान्तरणले हाम्रो मौलिक संस्कृति र हाम्रो पहिचानलाई जीवन्त राख्न सघाउँछ कि त्यसलाई निमिट्यान्न पार्छ ? यसबारेमा सोच्न ढिला भइसकेको छ ।

हिजोका दिनमा तीजमा रमाइलो गर्न महिलाहरूको समूहले घर-आँगन भरिन्थे । घर-आँगनको रौनक बढ्थ्यो । महिलाले मात्रै होइन घरछिमेकका पुरुषले पनि तीजको रमाइलो महसुस गर्थे । अहिलेको तीजमा महिलाको समूहले पार्टी प्यालेस भरिन्छन् । 

हिजोका दिनमा रमाउँदै र तीज मनाउन र भगवानको मन्दिर जान राताम्मे भएर हिँडेका महिलाको ताँती हेर्न रहर लाग्थ्यो । तर अहिले भने लाज लाग्छ । यस्तो स्थिति किन आयो र कसरी आयो ? समाजशास्त्री र संस्कृतिविद्हरूका मनमा यस्तै प्रश्न उठिरहेका छन् । आधुनिकता र रूपान्तरणको नाउँमा संस्कृतिमा बेथिति बढ्दै जाँदा त्यसले समाज र सामाजिकतामाथि नै नकारात्मक प्रभाव पार्न थालेको छ । सामाजिक अनुशासनहीनता बढ्नु र सामाजिक अपराध बढ्नुमा चाडपर्व मनाउने क्रममा देखिएका यस्ता भड्किलो आचरणले प्रत्यक्ष वा अप्रत्यक्षरूपमा भूमिका खेलिरहेको पाइन्छ ।

इमानदार लोग्नेलाई घुस खान उक्साउने यस्तै भड्किलो तीज मान्ने महिला हुन् । सिधासाधा व्यापारी लोग्नेलाई ठगी र मिसावट गरी–गरी बढी नाफा कमाउने उक्साउने पनि यस्तै महिला हुन् । अनि स्वदेशमै दुःख-सुख गरी परिवारमै रमाएर बस्न चाहने गरिब लोग्नेलाई धेरै कमाउन र छिट्टै कमाउन वैदेशिक रोजगारीमा जान उक्साउने पनि यस्तै महिला हुन् । भनिन्छ नि पुरुषको सफलता र असफलतामा महिलाको हात हुन्छ ।

हिजोका दिनमा तीजमा रमाइलो गर्न महिलाहरूको समूहले घर-आँगन भरिन्थे । घर-आँगनको रौनक बढ्थ्यो । महिलाले मात्रै होइन घरछिमेकका पुरुषले पनि तीजको रमाइलो महसुस गर्थे । अहिलेको तीजमा महिलाको समूहले पार्टी प्यालेस भरिन्छन् । व्यापारीलाई पोस्छन् । पार्टी प्यालेसको बन्द चौघेराभित्र उत्ताउलो नाचगान गर्छन् र महँगो खानपान गर्छन् । अनि दिनहुँ पसिना बगाएर मिहिनेतले दुई-चार पैसा जोहो गरेर आफ्नै घरआँगनमा तीजको रमाइलो गर्ने गरिब दिदीबहिनीको मानमर्दन गर्छन्, होच्याउँछन् र गिज्याउँछन् । नारी-पुरुषबीच समानता खोज्ने बुझ्झकी महिलाहरूले नै महिला-महिलाबीचको समानतालाई महत्वदिएको खोइ त ?

रूपान्तरित तीजले उपभोगलाई बढावा दिएको छ । यसले देशको अर्थतन्त्रलाई सकरात्मक प्रभाव पारे पनि नेपाली मौलिक संस्कृतिमा चुनौती खडा गरेको छ । अर्थतन्त्रले प्राप्त गरेको लाभले संस्कृतिमा भएको हानिको क्षतिपूर्ति हुन सक्दैन भन्ने यथार्थलाई बिर्सनु हुँदैन । आफ्नै संस्कृतिको अस्तित्वलाई कुल्चेर विदेशी संस्कृतिको आडमा आफ्नो परम्परा निर्वाह गरेँ भनेर सोच्नु भुल हो । परम्परागत संस्कृतिलाई रुढिवादी मान्ने हो भने यसको निर्वाह नै आवश्यक ठान्नु पर्दैन । यदि परम्परा र संस्कृतिमा रूपान्तरण चाहने हो भने पनि मौलिकतालाई मर्न नदिई थोरै रूपान्तरण खोज्नु उचित हो । तर अहिलेको रूपान्तरण सरासर अनुचित हो । यसले हाम्रो मौलिक संस्कृतिलाई मार्छ र मास्छ ।

सबैभन्दा ठूलो कुरा, जो संस्कृतिको निर्वाहसँगसँगै त्यसको जगेर्नामा प्रतिबद्ध छन्, तिनको भावनालाई पनि मार्छ र तिनको आत्मसम्मानमा चोट पुर्‍याउँछ । संस्कृतिको भावना नै मरेपछि संस्कृति कहाँ जीवन्त रहन्छ र ? तीज धेरै रूपान्तरित भइसक्यो । नाचगान, खानपान र रमाइलो सबै कुरा रहर भइसक्यो । संस्कृति अर्थात् व्रत र भगवानको पूजाआराधना चाहिँ करको रूपमा रहेको छ । करैकरको संस्कृति कतिन्जेल बाँच्छ र ? संस्कृति नै निमिट्यान्न भइसकेपछि आफ्नो भन्ने पहिचान नै के बाँकी रहन्छ र ? गम्भीरतापूर्वक सोच्ने बेला भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?