काठमाडौं । काठमाडौंको सीतापाइलामा किर्गिजस्तानको अवैतनिक वाणिज्यदूतको कार्यालय खुलेको छ । नेपालका लागि किर्गिजस्तानका गैरआवासीय राजदूत अस्कर बेसिमोभले बुधबार कार्यालय उद्घाटन तथा कार्यालय परिसरमा किर्गिज गणतन्त्रको झण्डोत्तलन गर्नुभयो । किर्गिज सरकारले निर्माण व्यवसायी रमेश शर्मालाई नेपालका लागि अवैतनिक वाणिज्यदूत नियुक्त गरेपछि वाणिज्य दूतको कार्यालय खुलेको हो ।
बुधबार किर्गिजस्तानको अवैतनिक वाणिज्य दूतको कार्यालयले काठमाडौंमा एक रिसेप्सन कार्यक्रमसमेत आयोजना गरेको थियो । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा भएको कार्यक्रममा शहरी विकासमन्त्री धनबहादुर बुढा, विभिन्न कूटनीतिक नियोगमा अधिकारी, अन्य मुलुकका वाणिज्य दूत, परराष्ट्र मन्त्रालयका पूर्व एवं बहालवाला अधिकारीलगायतको उपस्थिति थियो । उपप्रधानमन्त्री श्रेष्ठले नेपालमा अवैतनिक किर्गिज वाणिज्य दूत नियुक्ति र वाणिज्य दूतको कार्यालय स्थापनालाई दुई मुलुकबीचको जनस्तरीय सम्बन्ध विस्तारमा नयाँ थालनी भएको बताउनुभयो । दुवै मुलुक जलवायु परिवर्तनका जोखिमबाट असुरक्षित रहेकाले सो लगायत अन्य साझा हितका क्षेत्रमा सहकार्य गर्न सकिने उहाँको भनाइ थियो ।
नेपालका लागि किर्गिज गणतन्त्रका गैरआवासीय राजदूत बेसिमोभले दुई मुलुकबीचको सुमधुर सम्बन्ध तथा आर्थिक र जनस्तरीय सम्बन्धलाई अझ प्रगाढ बनाउने सन्दर्भमा यो महत्वपूर्ण कदम भएको बताउनुभयो । नवनियुक्त अवैतनिक वाणिज्य दूत शर्माले आफूलाई विश्वास गरेकोमा किर्गिज सरकारलाई र नियुक्ति अनुमोदन गरेकोमा नेपाल सरकारलाई धन्यवाद दिँदै दुई मुलुकबीचको समानताले आपसी सहकार्यका अवसर प्रदान गर्नुका साथै द्विपक्षीय व्यापार र लगानीमा सहकार्य गर्न सकिने ठूलो सम्भावना रहेको बताउनुभयो ।
किर्गिज गणतन्त्रमा नेपाली वस्तुको निकासी बढाउन किर्गिज सरकारबाट सहयोग प्राप्त हुने विश्वास गर्दै मित्रराष्ट्र किर्गिज गणतन्त्रका लागि नेपाल श्रमिक आपूर्तिको भरपर्दो स्रोत हुनसक्ने पनि उल्लेख गर्नुभयो ।
किर्गिजस्तान पनि नेपालजस्तै भूपरिवेष्ठित मुलुक हो । जसको पूर्वमा चीन, उत्तरमा कजाखस्तान, दक्षिण पश्चिममा ताजिकिस्तान र पश्चिममा उज्वेकिस्तान छ । सोभियत संघको पतनसँगै सन् १९९१ मा किर्गिजस्तान स्वतन्त्र भएको थियो । नेपाल र किर्गिज गणतन्त्रबीच सन् १९९३ मा दौंत्य सम्बन्ध स्थापना भएको हो ।
किर्गिजस्तान जलविद्युत्, सुन, रियर अर्थ धातु, कोइला, तेल, प्राकृतिक ग्याँसलगायत प्राकृतिक स्रोतमा सम्पन्न मुलुक हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच