![कानुन व्यवसायीहरूको राष्ट्रिय सम्मेलन](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/National-Conference-of-Legal-Practitioners-Hita-fornt-page.jpg)
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफू सूर्यदर्शन लगायतका सहकारीको कुनै रकम अपचलन नगरेको दाबी गर्नुभएको छ । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले आफू गोर्खा मिडिया प्रालिमा रहँदा सहकारीबाट ऋण लिने विषयमा कुनै निर्णय नभएको, ऋण लिने प्रक्रियामा आफ्नो कुनै निवेदन, हस्ताक्षर नभएको जिकिर गर्दै आफ्नो बैंक खातामा पैसा आएको देखाउन चुनौतीसमेत दिनुभएको छ । लामिछानेले आफू सहकारीको सञ्चालक र सदस्य केही पनि नभएको दाबी गर्नुभएको छ । उहाँले गोर्खा मिडियाको एमडी हुँदाका बखत निर्णय गराएर सहकारीको रकम नल्याएको दाबी गर्दै सहकारीको रकम ठगीमा आफ्नो संलग्नता नभएको जिकिर गर्नुभयो । कांग्रेस सरकारमा हुँदा आफूविरुद्ध तथ्य खोज्नका लागि बल लगाएको तर नसकेको लामिछानेको भनाइ छ । जिबी राईले गरेका फोहोरको भारी आफूमाथि नथोपर्न आग्रह गर्दै उहाँले आफूमाथि मिडियाबाजी गरेर मिडियाको हेडलाइनका आधारमा कांग्रेसले संसद् अवरुद्ध गरेको आरोपसमेत लगाउनुभयो ।
प्रधानमन्त्रीको अफरबारे प्रष्ट पार्न कांग्रेस सभापतिलाई आग्रह
गृहमन्त्री लामिछानेले नेपाली कांग्रेसले आफूलाई डेढ वर्षका लागि प्रधानमन्त्रीको प्रस्ताव गरेको खुलासा गर्नुभएको छ । गृहमन्त्री बन्नुभन्दा अघिल्लो रात आफूलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको र आफूले नमानेपछि भोलिपल्टदेखि संसद् बन्द गरेको उहाँको जिकिर छ । उहाँले आफूलाई प्रधानमन्त्रीको अफर गरेको हो कि होइन ? भनी सदनबाटै स्पष्ट पार्न कांग्रेस सभापति देउवालाई आग्रह गर्नुभएको छ । सो प्रस्ताव नगरेको भन्न सभापति देउवालाई चुनौती दिँदै गृहमन्त्री लामिछानेले भन्नुभयो, ‘अघिल्लो रात प्रधानमन्त्रीको अफर गर्नेले पछिल्लो दिन संसद् अवरोध गर्यो । कांग्रेस सभापतिलाई मेरो आग्रह छ, यहाँ आएर यसबारे प्रष्ट पारिदिनु होला । गृहमन्त्री बन्न नमिल्ने भए प्रधानमन्त्री बन्न चाहिँ कुन नैतिकताले मिल्ने रहेछ ? मेरो प्रश्न छ, हिजो मलाई डेढ वर्ष प्रधानमन्त्रीका रूपमा स्वीकार गर्ने अफरको डेट एक्सपायर भयो कि बाँकी छ ? यो कुराको जवाफ यही सदनमा उभिएर कांग्रेस सभापतिले दिनुभयो भने मेरो लागि कल्याण हुनेछ ।’
‘अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो ?’
गृहमन्त्री रवि लामिछानेले संसद्मा कसलाई बोल्न दिने र कसलाई बोल्न नदिने भन्ने निर्णय पार्टीबाट गर्नु कुन लोकतान्त्रिक अभ्यास हो ? भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई प्रश्न गर्नुभएको छ । कांग्रेसले एकजना सांसदलाई बोल्न दिने पार्टीबाट निर्णय गरेकोप्रति आक्रोश व्यक्त गर्दै लामिछानेले भन्नुभयो, ‘किसुनजी र गणेशमानजीको पार्टी यस्तो अलोकतान्त्रिक हुन्छ ? लोकतान्त्रिक दलले अर्को पार्टीको सांसदलाई बोल्न नदिने निर्णय गर्न मिल्छ ? यो कुन अभ्यास हो ? किसुनजी र गणेशमानजीको कांग्रेस लोकतन्त्रको यो कस्तो अभ्यास हो ?’
कांग्रेसले राजनीतिक दमन र दादागिरी देखाएको आरोप
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले व्यक्ति केन्द्रित नभई समस्या केन्द्रित भएर काम गर्न प्रतिपक्ष दल नेपाली कांग्रेसलाई आग्रह गर्नुभएको छ । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै लामिछानेले सहकारीको विषय ल्याएर कांग्रेसले एउटा व्यक्तिविरुद्ध राजनीतिक दमन र दादागिरी गरेको आरोप लगाउँदै भन्नुभयो, ‘एउटा व्यक्तिलाई खुइल्याउने, बोल्न नदिने, अपमानित गर्ने, बोल्न पनि नदिएको मान्छेलाई किन डराएको, छानविनसँग किन डराएको किन भागेको भनेर लल्कारिरहने अनि समस्याको समाधान गर्नका लागि कहीँबाट पनि प्रयास नगर्नुले के स्पष्ट पार्छ भने व्यक्ति केन्द्रित र भर्खरै आएको एउटा राजनीतिक दल, भर्खरै उदाएको नेतामाथि यति ठूलो इतिहास बोकेको राजनीतिक दलले यो राजनीतिक दमन होइन र ? यो राजनीतिक दादागिरी होइन र ? लोकतान्त्रिक पद्धतिलाई मानेर, संविधानअनुसार निर्वाचनको माध्यमबाट कहीँ कतै कसैलाई हानि नपुर्याई रास्वपा यो सदनमा आएको हो । यसरी आएको नयाँ दललाई लोकतान्त्रिक दलहरूले कहीँ न कहीँ सहयोग गर्छन् होला, पानी हाल्छन् होला, मल हाल्छन् हामीलाई बचाउँछन् होला भनेको यहाँ निमोठ्न खोजियो ।’
देशका सूचना विदेशीलाई बेच्नेलाई कारबाही गर्न माग
उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाली कांग्रेसका महामन्त्री गगन थापाप्रति आक्रोश व्यक्त गर्नुभएको छ । आइतबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्नेक्रममा महामन्त्री थापामाथि आक्रोश व्यक्त गर्दै लामिछानेले भन्नुभयो, ‘सहकारी ठग्ने, दोहोरो नागरिकता बोक्नेलाई मात्र होइन, कृषि अनुसन्धान (परिषद्) दुरुपयोगको आरोप लागेकालाई पनि कारबाही गर्नुपर्छ । देशका गोप्य सूचना विदेशीलाई बेच्नेलाई पनि कारबाही गर्नुपर्छ, देशको मन्त्री होस् या पार्टीको महामन्त्री । टीकापुर जग्गा प्रकरणको पनि फाइल खुल्छ ।’ यद्दपि, लामिछानेले गगन थापाको नाम भने उच्चारण गर्नुभएको थिएन । यसअघि महामन्त्री थापाले सहकारी ठग र दोहोरो नागरिकता बोक्नेलाई पनि कारबाही गरेर घर पठाउनुपर्ने बताउनुभएको थियो ।
गृहमन्त्री लामिछानेले दलबीच सहमति हुन्छ भने संसदीय छानविन समिति बनाउन आपत्ति नभएको बताउनुभएको छ । तर, समिति विधिमा टेकेर बनाउनुपर्ने जिकिर गर्दै गृहमन्त्री थापाले भन्नुभयो, ‘प्रमुख दलबीच सहमति हुन्छ भने संसदीय बनाउनुस् तयार छु । तर, निश्चित विधिमा टेकेर हुनुपर्छ । सस्तो रूपमा बनाउनु हुँदैन । तर, समाचार आएको भरमा नाम तोकेर व्यक्ति केन्द्रित समिति बनाउने हो ? लोकतन्त्रको लामो यात्रा गरेका दलले तय गरून् ।’ आफ्नो जस्तै आरोप लगाएर धेरै नेताको नाम आएको भन्दै उहाँले कांग्रेस नेताको नाम आएकाले उनीहरूमाथि व्यक्ति केन्द्रित समिति बनाउन तयार हो ? भन्दै प्रश्न गर्नुभएको छ । कांग्रेस महामन्त्री गगन थापाविरुद्ध बाख्रापालन र रातो पासपोर्टका विषयमा धनराज गुरुङमाथि पनि छानविन समिति बनाउने हो ? भन्दै उहाँले प्रश्न गर्नुभयो । गृहमन्त्री लामिछानेले आफू जिरोबाट उठेको भन्दै सरकार, पार्टी र देश नै छोड्न तयार रहेको बताउनुभएको छ । सबैथोक त्यागेर पनि आफू परीक्षामा उत्रिन तयार रहेको बताउँदै लामिछानेले भन्नुभयो, ‘रास्वपालाई हटाएर यस्तो समिति बनाउने हो भन्नुस् रास्वपा तयार छ । के गर्नुपर्ने हो ? सदस्य त्यागेर, सभापति, सांसद नभएर नागरिकसमेत नभएर जिरोमा पुगिसकेको मान्छे हुँ । तपाईँहरूलाई के लाग्छ ? भन्नुस् के छोडेर हुन्छ ? सदन, मन्त्रालय, पार्टी देश के छोड्नुपर्छ तयार छु । व्यक्ति केन्द्रित समिति भने मान्य हुँदैन ।’
टीकापुर जग्गाको फाइल खोल्ने उद्घोष
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले टीकापुर जग्गा प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजू राणालाई तान्नसक्ने संकेत गर्नुभएको छ । आफू विरुद्धको मिडियाबाजीबाट पछि नहट्ने उद्घोष गर्दै उहाँले भन्नुभयो, ‘मलाई साथीहरू भन्छन् मिडिया मिलाउनुस् । म भन्छु, म मिलाउँदिनँ मिडिया, म जनताका लागि विद्यालय, अस्पताल मिलाउन आएको हुँ । नमिलेका कानुनका धाराहरू मिलाउन आएको हुँ । अनुसन्धान हुँदाहुँदै रोकिएका फाइलहरू अघि बढाउने व्यवस्था मिलाउन आएको हुँ । मिडिया मिलाउन आएको होइन । बाँसबारी मिलाएँ, बाल मन्दिर मिलाएँ, टीकापुर मिलाउँछु, तर मिडिया मिलाउन सक्दिनँ ।’
गृहमन्त्रीलाई गगन थापाको चुनौती– ‘फाइल खोलौँ ? भनेर धम्क्याउने होइन, खोलेर देखाउनुस्’
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गृहमन्त्री रवि लामिछानेलाई फाइल खोलौँ, खोलौँ भन्दै नधम्क्याई फाइल खोलेर देखाउन चुनौती दिनुभएको छ । आइतबार प्रतिनिधिसभा गृहमन्त्री रवि लामिछानेले सम्बोधन गरेलगत्तै साँझ नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पत्रकार सम्मेलन गर्दै महामन्त्री थापाले भन्नुभयो, ‘फाइल खोलौँ, खोलौँ भनेर धम्काउने होइन के, छानविन गरौँ, गरौँ भन्ने होइन । म महामन्त्री यहीँ छु, उपसभापति धनराज गुरुङ यहीँ हुनुहुन्छ । सबै छानविन गर्नुस्, नधम्क्याउनुस्, नतर्साउनुस् ।’ उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने प्रतिनिधि सभामा बोलेपछि आफूहरूले बोल्न पाउनुपर्ने माग गरे पनि सभामुख देवराज घिमिरेले समय नदिएको उहाँको भनाइ छ ।
गृहमन्त्री जोडिएकाले संसदीय छानविन समिति आवश्यक
महामन्त्री थापाले अस्तिसम्म सांसद मात्रै रहेका रवि लामिछाने अहिले उपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहेका कारण संसदीय छानविन समिति गठन गर्नुपर्ने परिस्थिति बनेको बताउनुभएको छ । उहाँले सांसद मात्रै हुँदा लामिछानेमाथि सहकारी ठगीमा प्रहरी र सिआइबीले अनुसन्धान गरिरहेको र लामिछाने गृहमन्त्री भएपछि ती छानविनका सबै कामहरू रोकिएको दाबी गर्नुभयो । पत्रकार सम्मेलनमा महामन्त्री थापाले गृहमन्त्री लामिछानेले संसद्मा टेलिभिजन प्रस्तोताको जस्तो गरी आक्रोश पोखेको र तिमीहरू सबैले हिजोदेखि चोर्यौ, अहिले मैले पनि चोर्न पाउनुपर्छ भन्ने ढंगले प्रस्तुत भएको बताउनुभयो । भ्रष्टाचारको फाइल खोल्ने, छानविन गर्ने, अनुसन्धान गर्ने निकायको नेतृत्वमा रहेर गृहमन्त्री लामिछानेले संसद्बाट कसैलाई पनि धम्क्याउन आवश्यक नभएको थापाको भनाइ छ ।
गठबन्धन फेर्न रास्वपा सांसदहरू कांग्रेस नेताका घर-घर पुगेको दाबी
महामन्त्री थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू डेमोक्रेटिक अलाइन्स (प्रजातान्त्रिक गठबन्धन)का लागि कांग्रेस नेताहरूकोे घर-घरमा पुगेको खुलासा गर्नुभएको छ । आइतबार साँझ नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पत्रकार सम्मेलन आयोजना गर्नुभएका थापाले पहिला कांग्रेसका र अहिले रवि लामिछानेका मित्र (सायद डा.स्वर्णिम वाग्ले) ले यस्तो काम गरिरहेको दाबी गर्दै भन्नुभयो, ‘म उहाँहरूको गोपनीयता भंग गर्न चाहन्न । तर, पहिले नेपाली कांगेसको र अहिले रवि लामिछानेका अभिन्न मित्रले नेपाली कांग्रेसका नेताहरूको घर-घरमा पुगेर हामी डेमोक्रेटिक अलाइन्सका लागि तयार छौँ भन्दै संसदीय समितिको टिओआरमा लचक भइदिन आग्रह गर्नुभएको छ । उहाँले मसँग पनि भेटेर हामीलाई एमालेसँग नजिक हुन बाध्य नपारिदिनुस् भन्नुभएको थियो ।’
गृहमन्त्री हो कि टेलिभिजन प्रस्तोता ?
महामन्त्री थापाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संसद्मा दिएको अभिव्यक्ति टेलिभिजन प्रस्तोता जस्तो भएको टिप्पणी गर्नुभएको छ । उपप्रधानमन्त्री लामिछानेले सहकारी प्रकरणमा आफूमाथि उठेको प्रश्नको जवाफ संसद्मा दिएलगत्तै पत्रकार सम्मेलन गरी महामन्त्री थापाले भन्नुभयो, ‘गृह मन्त्रालय भनेको त ठूलो जिम्मेवारी हो नि । हाम्रो सरकारको कार्य सञ्चालन नियमावलीले पनि गृह मन्त्रालयलाई त्यसमाथि पनि अझ उपप्रधानमन्त्री कति धेरै महत्वपूर्ण जिम्मेवारी दिइएको छ । आज मैले उहाँले भन्दै गर्दा यसो सुनेको थिएँ, म तेरो फाइल खोलिदिऊँ ?, म तेरो अनुसन्धान गरिदिऊँ ? मेरो गर्छु भन्छस् भने तेरो पनि गरिदिन्छु । अरे बाबा, गृहमन्त्रीले यस्तो भन्ला र गृहमन्त्रीले त धमाधम फाइल पनि खोल्ने हो । धमाधम अनुसन्धान गर्ने हो । त्यसपछि त्यसलाई गल्ती गरेको छ भने निर्णय गराउने हो । फैसला गराउने हो, कार्यान्वयन गराउने हो । उहाँको सम्बोधन मात्र टेलिभिजन प्रस्तोताको जस्तो भयो ।’
सभामुखको सचिवालयले भन्यो- कांग्रेसलाई बोल्न रोकिएको थिएन
सभामुख देवराज घिमिरेको सचिवालयले आइतबार साँझ बसेको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसलाई बोल्न नरोकिएको बताएको छ । आइतबारको बैठकमा पूर्व–सहमतिअनुसार नै कांग्रेस वेल घेर्न नआएको सभामुख देवराज घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीले बताउनुभयो । ‘आजको बैठकमा सभामुखले कांग्रेसलाई बोल्न रोक्नुभएको होइन । कानुनमन्त्री पदम गिरी, प्रमुख विपक्षी दलका प्रमुख सचेतक रमेश लेखकसहित बसेको प्रमुख दलका मुख्य/प्रमुख सचेतकबीच नै आज गृहमन्त्रीलाई मात्रै बोल्न दिने सहमति भएको थियो,’ उहाँले भन्नुभयो, ‘सँगसँगै सभामुखले पनि कांग्रेसले उभिएर विरोध जनाएपछि बाँकी कार्यसूची अगाडि नबढाउने सहमति भएको थियो ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच