काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटप्रति राजनीतिकलगायत समग्र क्षेत्रबाट प्रशंसा भएको दाबी गरे पनि सत्तारूढ दलहरू नै बजेटप्रति असन्तुष्ट देखिएका छन् । सत्तारूढ दलको प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट अर्थमन्त्री र उनको दल नेकपा माओवादी केन्द्रको जस्तो बनेको टिप्पणी गर्नुभएको छ । संघीय संसद् भवनको ल्होत्से हलमा शनिबार पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले सरकारमा रहेका दलहरूबीच सल्लाह गरेर बजेट नल्याएको आरोप लगाउँदै भन्नुभयो, ‘यो बजेट सरकारमा सहभागी दलहरूसँग परामर्श गरेर छलफल गरेर आएको भए धेरै राम्रो बजेट हुन सक्थ्यो । छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि अर्थमन्त्रीको पार्टीको बजेट हो कि जस्तो देखिन गएको छ । रकमको बाँडफाँड पनि त्यस्तै गरेर अलि बढी एकातिर ढल्किएको जस्तो देखिन्छ ।’
उहाँले नेकपा माओवादी केन्द्रप्रति ढल्किएको बजेट ल्याएको भन्दै अर्थमन्त्री वर्षमान पुनको आलोचनासमेत गर्नुभएको छ । बजेट समाजवाद उन्मुख हुनुपर्नेमा अन्योलग्रस्त देखिएको टिप्पणी गर्नुभएका अध्यक्ष ओलीले बजेट निर्माणको प्रक्रियामा नै सरकारले कमी कमजोरी गरेको आरोप लगाउँदै भन्नुभयो, ‘हामी जानुपर्ने कता हो ? सैद्धान्तिक रूपमा कस्तो दिशा समातेको छ ? यी विषयहरूमा केन्द्रित भएर छलफल गर्नेछौँ । अरू छलफल बाँकी रहन्छ । विनियोजनको सन्दर्भमा पछि हामी फेरि कुन-कुन मन्त्रालय कस्तो विनियोजन भयो ? र त्यसमा कुन-कुन कार्यक्रममा के भएको छ ? कुन नयाँ थपिएको छ, कुन पुरानो जारी छ ? कुन कटौती गरिएको छ ? कुन पूरा भयो, कुन अपूरैमा कटौती भयो ? नाम मात्रैको आयोजना राखियो तर बजेट छुट्याइएन कि ? कहाँ कस्ता कमी रहे, त्यसलाई पनि हेरिनेछ । हामीले समाजवाद निर्माणको बाटो लिएका छौँ । त्यसका लागि समाजवाद निर्माणका आधारहरू तयार गर्ने, समाजवादउन्मुख बजेट, नीति, कार्यक्रम, योजनाहरू, ती कुराहरू बजेटले स्पष्ट ढंगले समाउनु पर्दथ्यो । अलि अन्योलग्रस्त देखिन्छ ।’
बजेटमा कमजोरी भेटिए आलोचना गर्न निर्देशन
अध्यक्ष ओलीले सरकारले आगामी आर्थिक वर्षका लागि संसद्मा पेस गरेको बजेटमा केही कमजोरी भेटिएमा त्यसको आलोचना गर्न पार्टीका सांसदहरूलाई निर्देशन दिनुभएको छ । आफ्नो क्षेत्रमा अनियमित ढंगले बजेट वितरण गरिएको भए आवाज उठाउन निर्देशन दिँदै अध्यक्ष ओलीले भन्नुभयो, ‘बजेटमाथि आलोचना नै गर्न नहुने भन्ने होइन । बजेटमा रहेको कमीबारे माननीयज्यूहरूले आफ्नो क्षेत्रमा, जिल्लामा, प्रदेशमा हिजोको अवस्थामा र आजको अवस्थामा के कमी कमजोरी छ, के बढ्नुपथ्र्यो वा के घट्यो त्यस्ता विषयहरूमा स्वाभाविक रूपमा प्रश्नहरू उठाउन सक्नुहुन्छ ।’
बजेट वक्तव्यमा आएका केही विषयहरू उल्झनयुक्त, केही शब्दहरू उपयुक्त नहुने, त्यसको भाव, अर्थ र महत्वलाई बोक्न नसकेको अवस्था छ कि भन्दै ती कुराहरूलाई पनि हेर्न निर्देशन दिनुभएका अध्यक्ष ओलीले भन्नुभयो, ‘आफ्नो क्षेत्रमा भइरहेको आयोजनामा बजेट कटौती भएको छ भने बजेटको सम्पूर्ण आकार नघटेको अवस्थामा आयोजनाका लागि छुट्याइएको रकम घट्यो भने त्यसको औचित्य के हो त ? कुनै आयोजनाका लागि हामी विशेष नै काम गर्दै छौँ कि ? नयाँ आयोजना, ठूलो आयोजना जसले एउटा रूपान्तरणकारी काम गर्छ त्यस्तो आयोजना, त्यसमा ठूलो किसिमको बजेट छुट्याउनुपर्यो भन्ने कुराहरू छन् कि ? यस्ता कुराहरू पनि हेर्नुपर्छ । यदि त्यस्तो छैन भने एउटालाई अनुकूल र अर्कोलाई प्रतिकूल हुनेगरी भएको छ भने पनि बोल्नुपर्छ ।’ बैठकमा पार्टीका सांसदहरूलाई पार्टी उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल, पार्टी महासचिव शंकर पोखरेल र पूर्वअर्थमन्त्री युवराज खतिवडाले प्रशिक्षण दिनुभएको थियो ।
ओलीको टिप्पणीप्रति माओवादी असन्तुष्ट
सत्ता समीकरणको सबैभन्दा ठूलो घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको बजेटप्रति गरेको टिप्पणीप्रति सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रले असन्तुष्टि जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री वर्षमान पुनले आफूहरूसँग सल्लाह नै नगरी बजेट ल्याएको ओलीको जिकिर छ । तर, एमाले अध्यक्ष ओलीले आफूहरूसँग कुनै छलफल नै नगरी बजेट ल्याएको भन्ने कुरा माओवादीले अस्वीकार गरेको छ ।
सांसदसमेत रहनुभएका पार्टी सचिव देवेन्द्र पौडेलले बजेट सल्लाहमै आएको दाबी गर्दै बजेटमा क्याबिनेटमा मन्त्रालयहरूबाट आउने योजना नै आउने बताउनुभयो । सचिव पौडेलले एक/दुईवटा योजना छुटेको हुनसक्ने भए पनि सल्लाह नै नभएको भन्ने एमाले अध्यक्ष ओलीको कुरामा सत्यता नभएको जिकिर गर्दै भन्नुभयो, ‘त्यो उहाँले कसरी भन्नुभयो हामीलाई जानकारी भएन । तर, सल्लाहमै आएको हो ।
समझदारीमा बजेट नआएको भए भौतिक मन्त्रालयमा सबैभन्दा धेरै कसरी हुन्छ ? पोहोरको भन्दा दोब्बर छ ।’ उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ हुनुहुन्छ । एमालेका सचिवसमेत रहनुभएका महासेठ एमालेको नेतृत्व गरेर प्रचण्ड सरकारमा सहभागी हुनुभएको छ । सत्ता साझेदार दल एमालेका अध्यक्ष ओलीले बजेटको आलोचना गरे पनि प्रधानमन्त्री प्रचण्डले सन्तुलित र समाजवादउन्मुख बजेट ल्याएको भन्दै अर्थमन्त्री पुनको प्रशंसा गर्नुभएको थियो ।
एमालेलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ : पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको भविष्यबाट आतंकित भएकाहरू मोर्चाबन्दी गरेर कमजोर पार्ने षड्यन्त्रको मतियार बनिरहेको आरोप लगाउनुभएको छ । शनिबार राष्ट्रिय युवा संघ नेपालको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा महासचवि पोखरेलले यो मुलुकको नेतृत्व एमालेबाहेक अरू कसैले गर्न नसक्ने दाबी गर्दै भन्नुभयो, ‘राष्ट्रिय राजनीतिलाई सही बाटोमा अघि बढाउन चुनौती छन् ।
एमाले चौतर्फी घेरबन्दी र आक्रमणबाट गुज्रिरहेको छ । त्यसलाई डटेर सामना गर्न सक्नुपर्छ । एमालेको भविष्यबाट आतंकित भएकाहरू मोर्चाबन्दी गरेर एमालेलाई कमजोर पार्ने षड्यन्त्रको मतियार बनिरहेका छन् ।’ महासचिव पोखरेलले पार्टीको कार्यक्रमहरूमा युवाहरूको उपस्थिति कम देखिन थालेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । एमालेको कार्यक्रममा अन्य पार्टीहरूको भन्दा धेरै जनताहरू सहभागी भए पनि युवाहरूको उपस्थिति पातलो भएको उल्लेख गर्दै महासचिव पोखरेलले भन्नुभयो, ‘अरू पार्टीसँग नेकपा एमालेको कुनै तुलना हुँदैन । तर युवाहरूको संख्या अत्यन्तै मसिनो छ, कमजोर छ ।’
दुवै सदनमा बजेट माथिको छलफल आजदेखि
संघीय सदनका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभामा आजदेखि सरकारले मंगलबार प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट माथिको छलफल सुरु हुँदै छ । सरकारले आगामी आर्थिक वर्षका लागि जेठ १५ गते १८ खर्ब ६० अर्बको बजेट ल्याएको थियो । सभामुख देवराज घिमिरेले छलफलका लागि प्रतिनिधि सभाको बैठक आज आइतबार ११ बजे बोलाउनुभएको छ । प्रतिनिधि सभामा २०, २१ र २२ जेठसम्म छलफल हुनेछ । छलफलमा उठेका प्रश्न तथा जिज्ञासामाथि २३ गते अर्थमन्त्रीले जवाफ दिने कार्यसूची छ । त्यसैगरी, राष्ट्रिय सभामा २०, २१ र २२ जेठसम्म बजेटमाथि छलफल हुनेछ । सोही दिन २२ गते नै अर्थमन्त्री पुनले छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुनेछ । राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले आज (आइतबार) १ बजेर १५ मिनेटमा बैठक बोलाउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच