![आइसल्याण्डको महावाणिज्य दूतमा विदुषी](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/Inauguration-bidusi-rana.jpeg)
काठमाडौं । सफा धर्ती, स्वस्थकर बानी, दिगो सरसफाइ, भविष्यको लगानी भन्ने नाराका साथ राष्ट्रिय सरसफाइ सप्ताहका अवसरमा काठमाडौंमा खानेपानी तथा सरसफाइसम्बन्धी एक कार्याशाला आयोजना गरिएको छ । कार्यशालामा विज्ञ तथा सरोकारवालाहरूले खानेपानी तथा सरसफाइ क्षेत्रको दिगो व्यवस्थापनका लागि पुँजी, प्रविधि र नीतिगत सुधारमा जोड दिएका छन् । विश्व वातावरण दिवसका अवसरमा विभिन्न सरोकारवाला निकायसँगको सहकार्यमा खानेपानी तथा ढल व्यवस्थापन विभाग सोसाइटी अफ पब्लिक हेल्थ इञ्जिनियर्स, नेपाल(सोफेन)द्वारा बुधबार संयुक्तरूपमा आयोजित कार्यक्रममा उनीहरूले दिगो विकास लक्ष्यका लागि पनि खानेपानी तथा सरसफाइ क्षेत्रका लागि लगानी बढाउनुपर्ने आवश्यकता औंल्याएका छन् । खासगरी पानीका स्रोतहरूको संरक्षण सम्वद्र्धनका साथै फोहोरलाई मोहर र फोहोर पानी पुनर्प्रयोग गर्न सकेमा खानेपानी सरसफाइ क्षेत्रमा दिगो व्यवस्थापन हुन सक्ने उनीहरूको भनाइ थियो । स्वस्थ नागरिक र स्वच्छ समाजका लागि खानेपानी र सरसफाइ महत्वपूर्ण विषय भए पनि सरकारले उल्लेखित क्षेत्रमा खासै लगानी नगरेको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।
पूर्वमन्त्री गणेश साहले खानेपानी तथा सरसफाइ क्षेत्रको दिगो व्यवस्थापनका लागि सरकार, निजी क्षेत्र, समुदाय तथा सरोकारवालाबीचको सहकार्यमा जोड दिनुभयो । खासगरी फोहोर पानीको पुनर्प्रयोग खानेपानी तथा सरसफाइको दिगो व्यवस्थापनका लागि एकीकृत नीति तथा योजनासाथ अघि बढ्नुपर्ने उहाँको भनाइ थियो । सो अवसरमा विभिन्न क्षेत्रका विज्ञहरूले खानेपानी तथा सरसफाइसँग सम्बन्धित आधा दर्जनभन्दा बढी कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा खानेपानी तथा ढल व्यवस्थापन विभागका उपहानिर्देशक रामकुमार श्रेष्ठले शहरी क्षेत्रमा फोहोर पानी व्यवस्थापनको अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने युनिसेफका खानेपानी तथा सरसफाइ विज्ञ सिद्धि श्रेष्ठले शहरी र ग्रामीण क्षेत्रको सरसफाइको अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी युएन हृयाबिट्याटकी सुधा श्रेष्ठले फोहोर पानी व्यवस्थापन र सरसफाइ व्यवस्थापनको विश्वव्यापी पहल र प्रयासबारे चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा एसएनभीकी नदिरा खवाज, युएसएआईकी मनिमा बुढाथोकी र नितेश श्रेष्ठले कर्णाली प्रदेशको सरसफाइ योजनाबारे चर्चा गर्नुभएको थियो भने वाटर एड नेपालका गोविन्द श्रेष्ठ, विश्व स्वास्थ्य संगठनका राजाराम पोटे श्रेष्ठलगायतले पनि सम्बन्धित विषयका कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
लालगढमा वृक्षारोपण
विश्व वातावरण दिवसका अवसरमा चुरे उत्थानशील आयोजनाले धनुषाको लालगढमा वृक्षारोपण गरेको छ । मधेश प्रदेशको वन तथा वातावरण मन्त्रालयका सचिव उद्धबबहादुर घिमिरेले पहिलो बिरुवा रोपेर वृक्षारोपणको शुभारम्भ गर्नुभएको हो । लालगढ-९ स्थित बडहरी खोला किनारको बाँझो जमिनमा वर, पिपल, अमला, कटहर, आँप, निम, बकाइनोलगायत रैथाने प्रजातिका सय बिरुवा रोपिएका छन् ।
संयुक्त राष्ट्रसंघले यस दशकलाई रेस्टोरसन अर्थात् पुनस्र्थापनाको दशक भनेको छ । दशकमा भूमिको मरुभूमीकरण कम गर्ने, पारिस्थितिकीय प्रणाली पुनर्जीवित गर्ने र उत्थानशीलता प्रवद्र्धन गर्न केन्द्रित हुनुपर्नेमा जोड दिँदै घिमिरेले सबैले मिलेर स्थानीयरूपमा अभियानका रूपमा काम गरेमा सम्भव रहेको बताउनुभयो ।
धनुषाको लालगढमा नेपाल प्रहरी ढल्केवरको विशेष सुरक्षा गणनजिकै बडहरी खोला किनारको जग्गामा बिरुवा रोपिएका हुन् । प्रहरी उपरीक्षक नरेन्द्र कार्कीले बिरुवाको सुरक्षा गर्ने प्रतिबद्धता जनाउनुभयो । प्रहरी उपरीक्षक कार्कीले भन्नुभयो, ‘उजाड भूमिमा वृक्षारोपण गरिए पनि यहाँ हुर्काउन सजिलो हुन्छ किनकि यो प्रहरी गणको विशेष सुरक्षा घेराभित्र रहेको छ । यहाँ हामी नजिकै छौँ र हामी एउटा पनि बिरुवा मर्न नदिने वाचा गर्छौं ।’
खोलानजिकैको जमिनमा वृक्षारोपण गरेपछि समुदायलाई फाइदा पुग्नेमा स्थानीयवासी पनि उत्साहित छन् । लालगढ ९ की वडासदस्य लक्ष्मी थिङ भन्नुहुन्छ, ‘खोला किनारमा रुख रोपिएपछि त्यो रुखले यहाँको जोखिममा रहेको माटोको संरक्षण गर्नेछ र नजिकैका बस्तीसमेत संरक्षण गर्नेछ । त्यतिमात्र नभएर यो हरियालीले सम्पूर्ण वातावरणमा फाइदा पुग्ने हुनाले हामी यो वृक्षारोपण भएकोमा खुसी छौँ ।’
जलवायु उत्थानशीलता वृद्धि गर्ने उद्देश्यले यो वृक्षारोपण गरिएको चुरे उत्थानशीलता आयोजनाका मधेश प्रदेश संयोजक चूडामणि खतिवडाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘वातावरणीय हिसाबले चुरे क्षेत्र जोखिममा छ । जलवायु परिवर्तनको विश्वव्यापी खतराले चुरेलाई पनि धेरै असर गरेको छ । चुरे क्षेत्रको जलवायु उत्थानशीलता बढाउने, जलवायु परिवर्तनको जोखिम न्यूनीकरण गर्ने र वन क्षयीकरण रोक्ने उद्देश्यले हामीले वृक्षारोपण गरेका हौं ।’ चुरे उत्थानशील आयोजनाले वृक्षारोपणका लागि बिरुवाका साथै कम्पोष्ट मल तथा वनको माटो पनि उपलब्ध गराएको छ ।
चुरे उत्थानशील आयोजनाले चुरे क्षेत्रका २६ वटा नदी प्रणालीमा जलवायु उत्थानशीलको वृद्धि गर्ने उद्देश्यले विभिन्न कार्य गर्दै आएको छ । वातावरण संरक्षण तथा जलवायु उत्थानशीलतामा चुरे उत्थानशील आयोजनाको निरन्तर कार्यअन्तर्गत वृक्षारोपण गरिएको हो । आयोजनाले आफ्नो कार्यक्षेत्रमा नर्सरी स्थापना तथा वृक्षारोपण गर्दै आएको छ । हाल मधेश प्रदेशमा आयोजनाका १० ठूला वन नर्सरी र १४ साना कृषि वन (निजी) नर्सरी गरेर २४ वटा नर्सरी रहेका छन् । उल्लेखित नर्सरीमा कुल १० लाखभन्दा बढी बिरुवा रहेका छन्, जसमध्ये रैथाने प्रजातिलाई प्राथमिकता दिइएको छ । बिरुवा रोप्न चाहनेलाई बिरुवा निःशुल्क वितरण गरिने पनि आयोजनाले जनाएको छ ।
फ्यानद्वारा वृक्षारोपण
विश्व वातावरण दिवसका अवसरमा फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले चार दर्जन बढी फूलका बिरुवा रोपण गरेको छ । बुधबार काठमाडौंको थानकोटस्थित त्रिभुवन पार्कमा क्यालेन्द्रा, करबिर, टेकोमा, फ्लावरिङ पिच, वगनवेली, विस्टेरिया, बेगोनिया भेनेष्टलगायतका पुष्पजन्य विरुवा रोपण गरेको हो । सो अवसरमा फ्यानका अध्यक्ष मीनबहादुर तामाङले पार्कलाई सौन्दर्य र पर्यटकीय क्षेत्रका रूपमा चिनाउन विभिन्न पुष्पजन्य बिरुवा रोपण गरिएको बताउनुभयो । फ्यानले विगतमा पनि धोबीखोला किनारमा सेतोपुलदेखि पहेँलोपुलसम्म वृक्षारोपण गरेर शहरको सौन्दर्य बढाएको उहाँले जानकारी गराउनुभयो । काठमाडौं र ललितपुर महानगरपालिकाका पार्क र सडक किनारमा वृक्षारोपण गर्ने योजना बनाउँदा नगरप्रमुखहरूले आफूहरूलाई भेट्न नखोजेकाले सामाजिक उत्तरदायित्वअनुसार त्रिभुवन पार्कलाई अझै राम्रो बनाउन काम गरिएको तामाङको भनाइ थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच