श्रीलंकामा नयाँ राष्ट्रपतिको निर्वाचन आगामी मार्चमा हुने

Read Time = 2 mins

कोलम्बो । श्रीलंकामा नयाँ राष्ट्रपति चयनका लागि आगामी मार्चअघि आमनिर्वाचन हुने भएको छ । वर्तमान राष्ट्रपति गोताबाया राजपाक्षेले यही बुधबार संसदका सभामुखलाई राजीनामा बुझाई राष्ट्रपतिको आफ्नो कार्यकाल अन्त्य गर्नुहुने र अर्को वर्ष मार्चअघि राष्ट्रपति र संसदीय निर्वाचन गराउने निर्णय गरिएको श्रीलंकाको स्थानीय समाचार संस्था डेली मिररले जनाएको छ ।

गत शनिबार देशव्यापी विरोध भएपछि प्रधानमन्त्री रनिल विक्रमासिंघेसँग भएको छलफलमा राजपाक्षेले जुलाई १३ मा राजीनामा दिने घोषणा गर्नुभएको थियो । राष्ट्रपति राजपाक्षेको ठेगाना अझै अज्ञात छ । राष्ट्रपति निवास कब्जा गरी बसेका प्रदर्शनकारीले भने राष्ट्रपति राजपाक्षेले राजीनामा नदिएसम्म राष्ट्रपतिको निवास नछोड्ने जनाएका छन् ।

आर्थिक अव्यवस्थाको विरोधमा श्रीलंकामा महिनौंदेखि प्रदर्शनहरू जारी छन् । श्रीलंकाले खाद्यान्न, इन्धन र औषधिको चरम अभावको सामना गरिरहेको छ । दक्षिण एसियाली टापु देशले भोगिरहेको यो संकट विगत ७० वर्षयताकै सबैभन्दा खराब हो । विदेशी मुद्राको सञ्चिति रित्तिएपछि यहाँ निजी सवारीसाधनका लागि पेट्रोल र डिजल बेच्न प्रतिबन्ध लगाइएको छ । मानिसहरू इन्धनका लागि कैयौं दिनसम्म लाइन लाग्न बाध्य भएका छन् । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?