काठमाडौं । निर्माण व्यवसायीले निर्माण उद्योगको समस्या समाधानका लागि राज्य गम्भीर नभएको आरोप लगाएका छन् । नेपाल निर्माण व्यवसायी महासंघका एसोसिएट सदस्य समन्वय समितिको १२ औँ साधारण भेलामा उनीहरूले निर्माण उद्योगमा चुनौतीका चाङ रहे पनि समस्या समाधानमा राज्य उदासीन भएको आरोप लगाएका हुन् । भेलालाई सम्बोधन गर्दै महासंघका अध्यक्ष रवि सिंहले महासंघसँग विगतमा गरेका सहमति लागू नगर्नु राज्यको लाचारी भएको बताउनुभयो ।
आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्नुअघि राज्यले निर्माण व्यवसायीसँग कुनै सरसल्लाह नगरेको भन्दै उहाँले निर्माण उद्योग चलायमान नभएकै कारण अर्थतन्त्रमा निरन्तर समस्या आइरहेको दाबी गर्नुभयो । देशभरका सबै तह र तप्काका निर्माण व्यवसायी एकजुट भएमा निर्माण उद्योगको समस्या समाधान गर्ने दिशामा राज्यलाई सशक्त दबाब दिन सकिने उहाँको भनाइ थियो ।
सांसद पूर्णबहादुर तामाङले निर्माण व्यवसायीलाई कर्मचारीतन्त्रबाट पूरै असहयोग भइरहेको भन्दै निर्माण उद्योगको महत्व कसैले बुझ्न नसकेको आरोप लगाउनुभयो । महासंघका सल्लाहकार एवं पूर्वअध्यक्ष रमेश शर्माले राज्यले निर्माण व्यवसायीको अर्बौं भुक्तानी नदिँदा व्यवसायीले विगतमा पाएका सहुलियतसमेत अहिले नपाउनु ठूलो अन्याय भएको बताउनुभयो भने सल्लाहकार एवं पूर्वअध्यक्ष यक्षध्वज कार्कीले निर्माण व्यवसायीको एकता आजको मुख्य आवश्यकता भएको बताउनुभयो । अर्का सल्लाहकार एवं पूर्वअध्यक्ष जयराम लामिछानेले निर्माण उद्योग अत्यन्त कठिन मोडमा पुगेको भन्दै क्रियाशील निर्माण व्यवसायीलाई नटिकाई अरु निर्माण व्यवसायीको संख्या बढाउँदै लैजानु अनुचित भएको बताउनुभयो । महासंघका निवर्तमान अध्यक्ष विष्णुभाइ श्रेष्ठले ठेक्का सम्झौता विपरीत जाने निर्माण व्यवसायीलाई कारबाही हुँदा कर्मचारीले भने उन्मुक्ति पाउनु प्राकृतिक न्यायको सिद्धान्तविपरीत भएको बताउनुभयो । महासंघ एसोसिएट सदस्य समन्वय समितिका संयोजक रामजी पन्त ‘मुकेश’ ले आर्थिक वर्ष २०८१/८२ को बजेटबाट निर्माण उद्योगमा देखिएको समस्या समाधान हुन नसक्ने बताउनुभयो ।
भुक्तानी, मूल्य समायोजन, निर्माण व्यवसायीलाई दिनुपर्ने सहुलियत, विगतका सहमतिको पालनालगायतका कुनै पनि मुख्य विषय बजेटले सम्बोधन नगर्दा निर्माण व्यवसायी निराश भएको उहाँको भनाइ थियो । महासंघका महासचिव रोशन दाहालले सबै खालका निर्माण व्यवसायीका समस्या समाधान गर्न महासंघको वर्तमान नेतृत्व प्रतिबद्ध रहेको बताउनुभयो । कार्यक्रममा सुदूरपश्चिम निर्माण व्यवसायी महासंघका अध्यक्ष लक्ष्मण स्वाँर, नेपाल राष्ट्रिय निर्माण व्यवसायी संगठनका महासचिव मंगल शाहीलगायतले सबै निर्माण व्यवसायीहरू एकजुट भएर अघि बढ्नुपर्ने बताएका थिए । सो अवसरमा एसोसिएट समन्वय समितिले नेपालका लागि किर्गिज गणतन्त्रको अवैतनिक राजदूत नियुक्त महासंघका पूर्वअध्यक्ष एवं सल्लाहकार रमेश शर्मालाई सम्मान गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच