नभक्ति भो ज्ञान नभो विवेक
सानैमा बाले घोकाएका केही स्तोत्रमा ऋषिलाई, देवी देउतालाई महान् बनाएर आफूलाई अकिञ्चन चित्रण गरेका श्लोक एक दिन राति सम्झँदै सुत्ने प्रयास गरेँ पटक्क निद्रा लागेन । महत्का सम्झनाले निद्रा नलाग्नु, अन्य सानातिना काममा मन नलाग्नु दुनियाँका लागि आफ्ना सारा शक्तिले लागेपुगेसम्म राम्रो काम गर्नु अनिमात्रै पूर्णसमर्पणका लागि यो मानव मन तयार हुन्छ । पूर्णसमर्पणबेगर मुक्ति सम्भव छैन भनेर पुराण भन्ने पण्डित र अर्ती उपदेश दिने दर्शन विवेकको व्याख्या गर्नेले भनेको कुरो पनि सम्झँदा शरीर नै पुलकित भयो । मनमा आनन्दको उदय भयो केही गरौँजस्ता भावका लहर समुद्रका छाल झैँ एकपछि अर्को गरी आउन लागे ।
घरका सबै मस्त निद्रामा छन् आफू र आज महात्मा नबनीकन सुत्न पनि नसक्ने भएँ । शब्दकोष पल्टाएर हेरौँ महच्च असौ आत्मा यस्य स महात्मा भनेर महात्माको परिभाषा गरेको रहेछ । जसको आत्मा नै महान् छ त्यो महात्मा हो भनेको अर्थ बुझेपछि अब महान् आत्मा कसरी चिन्ने ? त्यसका लक्षण कस्ता हुन्छन् ? हाम्रा देशमा महान् आत्मा भएका मान्छे होलान् कि नहोलान् ? भगवान्को कृपा भयो भने जे पनि हुनसक्छ । असम्भव केही हुँदैन पंगु सगरमाथाको टाकुरामा पुग्छ मच्छडका पँखेटाले महाभारत पर्वतलाई कपास उडाए झैँ उडाइदिन सक्छ भनेको पंगुलंघयते गिरिम् भनेर घोक्दै मस्तिष्कलाई दौडाएको त हाम्रा देशमा जति महात्मा यो विश्वकै अरू देशमा जन्मेकै छैनन् कि जस्तो लागेर मन पनि आनन्दित भयो ।
भित्तो भत्काएर, कपडा च्यातेर, लुटेर, धुतेर जसरी भए पनि बुद्धिमान मान्छेले धन कमाओस् र प्रसिद्ध पुरुष बनोस् भनेर शास्त्रले बताएको छ । एकजना यो देशमा पनि त्यस्ता महान् व्यक्तिको जन्म भएको रहेछ । संयोगले मैले पनि तिनकै झोला बोकेको रहेछु कुनै बेला ।
अब केही हुने भएँ, यसरी चिनेपछि कसो ती महात्माले वाम नजरले नै भए पनि यस्सो मतिर कसो नहेर्लान् भन्ने आस जागेर आयो । फेरि तुरुन्तै मनमा कता कताबाट ‘आशा हि परमंदुःखं नैराश्यंपरमं सुखम्’ भन्ने कुहिगन्धे विचार पो उदाउन लाग्यो । यस्ता कुहिगन्धे विचारलाई यो महान् चिन्ने बेलामा मनमा स्थान दिनुहुँदैन भन्ने मनोभावलाई बलियो बनाएँ । अनि लघु आत्मा र महान् आत्माका लक्षण जम्मा गर्न थालेँ जसको सूची यस्तो बन्यो ।
मुरारेस्तृतीय पथः
जो पुरुषार्थी हो त्यसको आत्मा महान् हुन्छ । महान् आत्मा भएका मान्छेको सोच अरू साधारणको भन्दा नौलो र अनौठो हुन्छ र त भनियो मुरारेस्तृतीय पथ भनेर । विष्णुका चार हात छन् । उनलाई सारा शास्त्रले महान् भन्ने नै मानेका छन् । उनले चिनिनका लागि सुरुमा नै मधु र कैटभ नामका दुईवटा असुर सिध्याएका थिए । अनि त्यो आफ्नै नाइटामा उम्रेका कमलका फूलमा भमरो बनेर कमल मकरन्द चुसेर मख्ख पर्ने देख्दै घिनलाग्दो दाह्री रुन्चे पिलन्धरे लोकपिता भनिनेको रक्षा गरेका थिए भने मेरा देशमा पनि त शोषक सामन्तको गर्दन छिनालेर बहादुरी प्रदर्शन गरेर अकिन्चन सर्वहाराको उन्मुक्तिका भावले करुणाद्र्र भएका र तीनपटक यो देशको मुख्य बनेर ताल्चा साँचाको झुप्पो आफ्ना करकमलमा लिइसकेका लम्बोदर, तित्रेबोली, चारवटा किड्नीधारी, दम्भासुरको भन्दा धेरै दम्भ प्रदर्शन गरिसकेका अरिंगालजस्ता विषालु जीवलाई कज्याएर राखेका हुनाले सारा मान्छे डरले थुरथर पारिसकेका, अरिंगालको गोलो खन्याएर आफ्ना विरोधीलाई चेतबाबा काशी बनाइसकेका, अनेकौं फतिंगा लाएर विरोधीको धतुरो झार्न सक्षम बोलीमा नै गोली भएका महान् आत्माका संस्मरणले वाक्मनोपाणि सारा आनन्द विभोर भएर आयो ।
महान् आत्माले लघु आत्मालाई नसहनु स्वाभाविकै हो । उनको अभ्युदय भएका बेला जरंगेखहरे जो वर्षाद्का बेला खेतबारी बगाउँछ तर चैतवैशाखमा उसका छातीमा कमिला खेल्छन् हो, त्यसैगरी ‘बा’ भनेर आउनेको घाँटी ङ्याक्ने, पाखुरा सुर्कनेलाई काखमा राखेर धारिला हतियारले कोखामा प्रहार गर्ने, खान नपाएर छट्पटाएका नेपालीलाई भ्युटावर चढाएर स्वर्गवास गराउने महान् योजनाका उन्न्नायक, खहरे खोल्सामा पनि नेपाली झण्डा फरर पार्दै जहाज चलाउने महान् पौरखी जसले सौताका रिसले पोइका काखमा मलोत्सर्जन गरे झैँ आफूभन्दा ज्येष्ठलाई थात न थलाको बनाइदियो, नेपाली पर्वतका पाषाण बेच्ने योजना ल्याएर जसले नेपाललाई संसारकै सबैभन्दा समृद्ध र समुन्नत देश बनाउने योजना ल्याएको थियो यस्ता महान् गरिबप्रवरका स्मरणले अब चौरसीको घेरो नाघेर भ्रष्टाचारीका ठाउँमा शिष्टाचारी, दम्भमानका ठाउँमा विनम्रमानलाई देशको विधायिकामा पुर्याउन पाए कस्तो होला भन्ने मेरा मनमा आएको थियो चिया भन्ने गृहमन्त्रीको रौद्रवाणीले झल्याँस्स भएँछु ।
अर्थमेकं प्रसाधयेत्
भित्तो भत्काएर, कपडा च्यातेर, भाँडो फुटाएर, लुटेर, धुतेर जसरी भए पनि बुद्धिमान मान्छेले धन कमाओस् र प्रसिद्ध पुरुष बनोस् भनेर शास्त्रले बताएको छ । एकजना यो देशमा पनि त्यस्ता महान् व्यक्तिको जन्म भएको रहेछ । संयोगले मैले पनि तिनकै झोला बोकेको रहेछु कुनै बेला । त्यसो भएको हुनाले मैले पनि मन मस्तिष्कका बेगलाई शीघ्रगामी रथमा चढाएर कुदाउँदै जाँदा नेपालको सुदूरपश्चिमतिरको कुनै दुर्गम पर्वत प्रान्तमा गएर मेरो मन टक्क अडिएर पटक्क हिँड्न मानेन । लोते गोरु मेलामा नै सुते झैँ मेरो मन पनि सुत्न पो खोज्छ त ।
उहाँ त अब डाँडेलधुरेका हातबाट उम्केको माछो ठूलो भइसक्नुभयो । सबैको मुराद पूरा होस् भनेर ६० जाना जतिलाई त एकैपटक मन्त्री बनाउनु भा‘थ्यो । मान्छेले हिँडेर काम नभ्याउने भए भनेर करुणवतारले सस्तो मूल्यमा प्राडो पजेरो भित्र्याउने व्यवस्था मिलाउनुभएको थियो ।
आँखा चिम्लेर ध्यानदृष्टिले विचार गरेको त म त झन्नै महान् आत्मावान्लाई छाडेर कतै अन्तै पुग्ने पो रहेछु धन्न मेरो मनले मलाई जोगायो । ‘रुह्’ प्रादुर्भावे भन्ने धातुबाट अपभ्रंश भएर बनेको ‘रुवा’ खोलाका किनारको उत्तरतिरको डाँडो गाईगोरु या भैंसीका ढाडको जस्तो भूबनावट भएको ठाउँ रहेछ । त्यसलाई डाँडेलधुरा भनेछ लोकबोलीले । पानी तलतिर बगेजस्तै मान्छेको उच्चारण पनि कष्टकरबाट सरल र लामोबाट छोटो रूप रोज्छ लोकका जिब्राले । कसैकसैको जिब्रो जन्मजात लट्यांग्रो भइदियो भने पनि आत्मलाई महान् बनाउने ऊर्जा प्राप्त गर्दोरहेछ ।
आजका मेरा महात्मा पनि यस्तै एउटा जन्मजात कमजोरीलाई लोकसहानुभूतिको लाभ कमाएर महात्मा बनेका हुन् । लोकतन्त्रको व्रत लिएका ती कहिल्यै पनि अग्रस्थानमा रहेर संघर्षका मैदानमा कहिल्यै नगए पनि लोकले भने जिब्रामा करेन्ट लाएर पिनले घोपेर बयान लिएको हुनाले उनको बोली लट्यांग्रो बनेको हो । जनताको उन्मुक्तिका लागि यत्रो कष्ट सहेका थिए भनेर एक जना घाँसेले मलाई सुनाउँदै गयो । ऊ त्यो अहिले पिपलको रुख भएको चौडिलो छ नि हो, त्यसै ठाउँमा एउटा घर थियो यी महात्माको जन्म त्यहीँ भएको थियो । यिनकै प्रतापले आज मोटर चढेर यहाँ आउन पाउनुभएको हो । अब त उहाँ यता आउन छाड्नुभयो ।
उहाँलाई अब तीन शहरका दरबारमा त निद्रा नलागेर दैनिक रुद्ररस लिनुहुन्छ रे अनि कसरी यस्ता डाँडापाखमा सवारी हुने त रानीसाहेब नै जसले भित्र्यायो । रानीसाहेब पनि उहाँजस्तै गरिब दुःखी भनेका किरा मकौडा हुन् । तिनको जीवन पनि जीवन हो र ? जीवन त मोज गर, मस्ती गरमा लहराउँछ भन्ने रजनीश दर्शनकै असल अनुयायी होइसिन्छ । उहाँ त अब डाँडेलधुरेका हातबाट उम्केको माछो ठूलो भइसक्नुभयो । सबैको मुराद पूरा होस् भनेर ६० जाना जतिलाई त एकैपटक मन्त्री बनाउनु भा‘थ्यो । मान्छेले हिँडेर काम नभ्याउने भए भनेर करुणवतारले काला व्यापारीसँग मिलेर सस्तो मूल्यमा प्राडो पजेरो भित्र्याउने व्यवस्था पनि मिलाउनुभएको थियो । शताब्दीयौंदेखि विनामूल्यको टाउको बोकेर आएका नेपालीका टाउकाको पनि मूल्य तोकिदिनुभा’थ्यो ।
नेपालमा उहाँका पालामा जस्ता केही न केही लोकोद्धार तथा स्वउद्धारका काम अरू कसैका पालामा पनि भएको हाम्लाई थाह छैन ? आफू खुशी र सुखी नभइकन अरूलाई सुखी र खुशी बनाउन सकिँदैन भन्ने महान् दर्शन उहाँले आँटोफाँडो खाएर हुर्कंदा नै बुझ्नुभएको हुनाले पहिला आफूलाई नवकुबेरमा रूपान्तरण गर्नुभएको हो क्या । बित्थामा मान्छे कुरै नबुझीकन अनेक फतुर लाउँछन् । उहिले दलमा प्रतिबन्ध लागेको थियो यसरी लुकेर जोगिएर त जोगी पो बस्छन् त भन्ने बोध भएपछि उहाँ पञ्चायत प्रवेश गर्नै लाग्दा सुराही स्वामीले बेलायततिर बरालिन पनि त्यसै पठाको हो र ?
उहाँको जसरी भए पनि पैसा कमाएर मोज गर्ने प्रवृत्ति र रुद्ररसप्रेम देखेर सुराही स्वामीलाई भविष्यमा उहाँको आवश्यक पर्ला कि भनेर देशमा जनआन्दोलन हुने बेलामा बेलायतमा गएर रोजी रोजी रुद्ररसपानको अवसर लाभ गराएका थिए । अगाडि बढबढ बाजेका प्रिय भए पनि मौकामा चौका हान्ने सीप सानैदेखि जानेका महात्माले तनहुँलेलाई पनि तँ न हो भनेका थिए । पछि केही सीप नलागेर शरणै पर्न आएपछि करुणावतारले लौ त तँ पनि हो मर्जी भएको देख्नुभएन र ? उहाँको प्रभाव र सामथ्र्य सबै वर्णन गर्न त वर्षौंदेखि नजिकमा बसेर बेला–बेला कृपासिन्धुको निगाहले सत्तासयर गरेका आसेपासे, पुरजन, परिजनले मात्रै सक्लान् ।
उहाँको आकाश समानको व्यापक दिल बुझेर नै त न्यायकेन्द्रले पनि परमादेशै जारी गरेको थियो । यति ठूलो महात्मा त आजसम्म नेपालमा कोही पनि भएकै छैनन् । भनेर उनले मलाई सुनाएपछि यस्ता महात्मालाई अब धेरै दुःख दिए यी लघुआत्मा भएका मतदाताले भने ठूलो अनर्थ हुनेभयो । अब त यिनका हातगोडा दिल र दिमागले कतिन्जेल सुन, नुन र घरबार सोच्ने ? अतः तिनका गिदीबोसे दिमागमा महात्मा होइन कल्पनाशील, धनार्थी होइन यशस्वीलाई छान्ने दुस्साहस गरिदिए देश ठालुका हातबाट मुक्त भएर मनस्वीका हातमा पो पुग्थ्यो कि भन्ने मनमा भावका छाल छुट्न लागे । तिनै छालमा पौडँदै थिएँ, के घोरिएर बसेको हिँड जाऊँ भनेर एउटा महान् उद्योगीले लल्कार्यो र मेरा मनमस्तिष्कका छाल नेपालका नेपालीबाट कर्तव्य बिलाए झैँ बिलाएर बेपत्ता भए ।
न तिमी न म न ऊ न यो
वारि न पारि देश र जनता मारी
साया साली, साला, सारी जोड्नेलाई नमोनमः ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच