काठमाडौं । नेपाल चलचित्र कलाकार संघले ‘कलाकार र आमसञ्चार’ विषयमा विचार गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ । संघका अध्यक्ष मोहन निरौलाले कार्यक्रममा स्वागत मन्तव्य दिँदै कार्यक्रमको महत्वबारे चर्चा गर्नुभएको थियो । अध्यक्ष निरौलाले सभ्य समाज निर्माणका लागि चेतना फैलाउने कलाकारहरू जातीय, धार्मिक वा अन्य असामाजिक कार्यलाई निरुत्साहित गर्न क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा साहित्यकार, चलचित्र निर्देशक तथा कानुनका अध्यापक राजेन्द्र शलभले कलाकारले समाजमा उदाहरणीय भूमिका खेल्नुपर्ने र आफ्नो जिम्मेवारीलाई सजगतापूर्वक निर्वाह गर्नुपर्ने कुरामा जोड दिनुभयो । वरिष्ठ चलचित्र पत्रकार कृष्ण भट्टराईले आमसञ्चारमाध्यम र कलाकारहरूको सम्बन्धबारे चर्चा गर्नुभएको थियो । उहाँले आमसञ्चारमाध्यमहरूले कलाकारहरूको छवि निर्माणमा खेल्ने भूमिकाबारे विश्लेषण गर्दै दुवै पक्षले एकअर्कालाई सहयोग गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
यस्तै, वरिष्ठ सञ्चारकर्मी, निर्देशक एवं कलाकार दिनेश डिसीले कलाकारहरूको व्यावसायिक जीवनमा मर्यादाको पालना र प्रभावकारी सञ्चार सीपको महत्वबारे चर्चा गर्नुभएको थियो । वक्ताहरूले सामाजिक रूपान्तरणमा कला र कलाकार सशक्त माध्यम भएकाले धूमपान, मद्यपानका साथै बहुविवाहलगायत सामाजिक विकृतिविरुद्ध उनीहरू खुलेर लाग्नुपर्नेमा जोड दिएका थिए ।
तीनवटा सत्रपछि प्रश्नोत्तर सत्रमा सहभागीहरूले विभिन्न जिज्ञासा राखेका थिए भने वक्ताहरूले तिनको उत्तर दिएका थिए । कार्यक्रमको अवसर पारी कलाकार संघद्वारा प्रकाशित २०८१ सालको भित्ते पात्रो विमोचन पनि गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ अभिनेत्री तथा नेपाल चलचित्र कलाकार संघकी संरक्षक वसुन्धरा भुसाल हुनुहुन्थ्यो भने विशिष्ट अतिथिहरूमा नेपाली चलचित्रकी पहिलो नायिका भुवन चन्द थापा, नेपालको पहिलो रंगिन चलचित्र ‘कुमारी’की नायिका चैत्य देवी सिंह र कलाकार संघका सल्लाहकार वरिष्ठ अभिनेता शिव श्रेष्ठ रहनुभएको थियो । कार्यक्रमको सहजकर्तामा पत्रकारद्वय शान्तिप्रिय र जीवन पराजुली रहनुभएको थियो । चलचित्र कलाकारितालाई मर्यादित बनाउन उद्देश्यले संघले चारबुँदे आचारसंहिता पनि जारी गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच