अपाङ्गता भएकाहरुको लागि बजेटको मात्रा बढाउँछौं : गृहमन्त्री खाँण

Read Time = 6 mins

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सरकारले अपाङ्गता भएकाहरुको लागि बजेटको मात्रा बढाउने प्रतिवद्धता जनाउनुभएको छ ।
शनिवार काठमाडौंमा भएको विपद्मा प्रयोग हुने सवारी साधन, उपकरण तथा अपाङ्गता सहायता सामग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो प्रतिवद्धता जनाउनुभएको हो ।
गृहमन्त्री खाँणले नेपालमा अपाङ्गहरुको संख्या धेरै रहेको र अपाङ्ग नागरिकलाई सम्मानजनक जीवन जिउने कसरी बनाउने भन्ने कुरामा सरकार गम्भीर रहेको बताउनु भयो । उहाँले पछिल्लो समय सरकारले अपाङ्ग भएकाहरुलाई पनि जीवनवृद्धिका लागि सानो भएपनि मासिक केही रकम दिने निर्णय गरेको उल्लेख गर्दै रकम अपुग भएपनि बजेटअनुसार निर्धारण गरिएको बताउनु भयो ।
गृहमन्त्री खाँणले प्रारम्भिक आधारशील सोचमा परिवर्तन ल्याउन जरुरी रहेको बताउनु भयो । उहाँले आर्थिक र शारीरिक रुपमा कमजोर रहेकालाई समान स्तरमा ल्यान सानैबाट स्कुलिङ हुन जरुरी रहेको बताउनु भयो ।
गृहमन्त्री खाँणले नेपालका आधुनिक कार्यालयहरु अझैपनि अपाङ्गमैत्री हुन नसकेको भन्दै सरकारले पछिल्लो समय सरकारको सबै कार्यालयहरुमा अपाङ्गमैत्री भवन बनोस् भन्ने निर्देशन गरिसकेको बताउनु भयो । उहाँले सरकारले बिस्तारै अपाङ्गमैत्री भवन वा नीति निर्माण गर्ने कुरामा ध्यान दिन थालेको बताउनु भयो ।
गृहमनन्त्री खाँणले राष्ट्रिय अपाङ्ग कोषको नयाँ भवनका लागि सरकारले सहयोग गर्नेपनि बताउनु भयो । उहाँले राष्ट्रिय अपाङ्ग कोष र समाज कल्याण परिषद्को स्टोर रुम आगलागी भएको घटनाको छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन नेपाल प्रहरीका आईजीपी धिरजप्रताप सिंहलाई निर्देशन दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय अपाङ्ग कोषका अध्यक्ष डेकराज भट्टराईले नेपालमा अपाङ्गता भएको व्यक्तिलाई दोस्रो दर्जाको रुपमा लिने गरेको भन्दै यस्तो सोचबाट मुक्त समाजको निर्माण गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले संसारका कुनैपनि देशमा अपाङ्गता भएको नागरिक पहिलो दर्जाको नागरिक हुने गरेपनि नेपालमा त्यसको विपरित अवस्था रहेको बताउनु भयो ।
अध्यक्ष भट्टराईले ३३ लाख भन्दा बढी अपाङ्गहरु आवद्ध रहेको संस्था निरिह अवस्थामा पुग्नु दुःखद् भएको बताउनु भयो । उहाँले हालै राष्ट्रिय अपाङ्ग कोष र समाज कल्याण परिषद्को स्टोर रुम आगलागीले क्षतविक्षत भएकोले सहयोगको अपेक्षा गरेको र पुनर्निर्माण हुनेमा विश्वस्त रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘भिन्न क्षमता भएका नागरिकहरुको लागि सहयोग गर्दै आएको राष्ट्रिय अपाङ्ग कोष केवल नाम मात्रैको भएको छ । यसको अवस्था जिर्ण छ । संसारका कुनैपनि देशमा अपाङ्गता भएको नागरिक पहिलो दर्जाको नागरिक हुन्छ, तर नेपालमा अझै पनि अपाङ्गता भएको व्यक्तिलाई दोस्रो दर्जाको रुपमा लिइन्छ । ३३ लाख भन्दा बढी अपाङ्गताहरु रहेको संस्थाको एकमात्र सरकारी निकाय आज निरिह अवस्थामा छ । भर्खरै राष्ट्रिय अपाङ्ग कोष र समाज कल्याण परिषद्को स्टोर रुम आगलागीले क्षतविक्षत भएको छ । यसलाई पुनर्निर्माणको लागि सहयोग हुनेछ भन्ने आशा गरेको छु ।’

हस्तान्तरण भएका सामग्रीमा ८ वटा एम्बुलेन्स छन् । जसमा भेन्टिलेटर, अल्ट्रासाउण्ड मेसिन लगायत उच्च स्तरको एम्बुलेन्समा हुने सै ेवा छन् । यसमा ६ वटा बेड छन् भने केहीलाई कुर्सीमा राखेर उपचार गर्न सकिने व्यवस्था छ । यसमा सिसिटिभीको समेत जडान गरिएको छ । यी एम्बुलेन्स सबै प्रदेशमा एक एक वटाका दरले प्रदान गरिनेछ भने एउटा काठमाडौं उपत्यकामा रहनेछ । त्यस्तै विपद्पछि उद्धारका लागि आवश्यक सर्च एण्ड रेस्क्यू उपकरण पनि हस्तान्तरण गरिएको छ । राष्ट्रिय अपाङ्ग कोषलाई अपाङ्गता सहायता सामग्री ह्विलचेयर, कुत्रिम हातखुट्टा लगायत सामग्री हस्तान्तरण गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?