काठमाडौं । अफगानिस्तान टी-२० विश्वकपको सुपर-८ मा प्रवेश गरेको छ । शुक्रबार बिहान पपुवा न्युगिनीलाई ७ विकेटले पराजित गर्दै अफगानिस्तान सुपर ८ मा पुगेको हो । टस हारेर पहिले ब्याटिङ गर्दै पपुवा न्युगिनीले दिएको ९६ रनको लक्ष्य अफगानिस्तानले १५.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । पहिले ब्याटिङ गरेको पपुवा न्युगिनी १९.५ ओभरमा ९५ रनमा अलआउट भएको थियो ।
यस्तै, बंगलादेशको जितसँगै २०१४ को च्याम्पियन श्रीलंका सुपर-८ को दौडबाट बाहिरिएको छ । बिहीबार राति सम्पन्न खेलमा बंगलादेशले नेदरल्याण्ड्सलाई पराजित गरेको थियो । समूहबाट दक्षिण अफ्रिका यसअघि नै छनोट भइसकेको छ । भारत सुपर-८ मा पुगिसकेको छ । अब समूह ‘ए’मा अमेरिका र पाकिस्तान सुपर-८ मा पुग्ने प्रतिस्पर्धामा छन् । तर, क्यानाडा र आयरल्याण्डको पनि गणितीय सम्भावना कायमै छ ।
अष्ट्रेलिया सुपर-८ मा छनोट भइसकेको छ । अष्ट्रेलियाविरुद्धको अन्तिम खेल जित्यो भने स्कटल्याण्ड सुपर-८ मा पुग्नेछ । नामिबिया र इंग्ल्याण्ड सुपर-८ दौडबाट बाहिरिएका छन् । समूह ‘बी’मा वेष्ट इण्डिज र अफगानिस्तान सुपर-८ मा छनोट भएका छन् । युगाण्डा, पिएनजी र न्युजिल्याण्ड बाहिरिसकेका छन् । समूह ‘डी’मा दक्षिण अफ्रिका सुपर-८मा छनोट भएको छ । बंगलादेश, नेदरल्याण्ड्स र नेपाल सुपर-८ दौडमा छन् । श्रीलंका भने दौडबाट बाहिरिसकेको छ ।
३.१ ओभरमै इंग्ल्याण्डको ऐतिहासिक जित
आईसिसी टी-२० विश्वकपमा ओमानमाथि ऐतिहासिक ३.१ ओभरमा ८ विकेटको जित निकाल्दै इंग्ल्याण्डले विश्वकपको सुपर ८ पुग्ने सम्भावना जीवितै राखेको छ । शुक्रबार बिहान भएको खेलमा ओमानले दिएको ४८ रनको लक्ष्य इंग्ल्याण्डले ८ विकेटको क्षतिमा ३.१ ओभरमा भेट्टाएको हो । विश्वकप इतिहासमा यो ऐतिहासिक जित हो । ओमानले दिएको ४८ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डका लागि कप्तान जोस बट्लरले नटआउट ८ बलमा चार चौका र एक छक्काको मद्दतमा २४ रन बनाउनुभयो । पहिले ब्याटिङ गरेको ओमान १३.२ ओभर खेल्दै ४७ रनमा अलआउट भएको थियो ।
नेपाललाई ‘गर वा मर’ को अवस्था
टी-२० विश्वकपअन्तर्गत समूह ‘डी’मा रहेको नेपालले आफ्नो तेस्रो खेलमा शनिबार(आज)दक्षिण अफ्रिकाको सामना गर्दै छ । दुई देशबीचको खेल बिहान सवा ५ बजे सुरु हुनेछ । लगातार तीन जित निकालेर सुपर-८ मा स्थान पक्का गरिसकेको दक्षिण अफ्रिकाविरुद्ध नेपालको खेल चुनौतीपूर्ण देखिएको छ । नेपालका लागि सुपर-८ मा स्थान बनाइसक्न दक्षिण अफ्रिकाविरुद्ध जित निकाल्नुपर्ने बाध्यता छ । यसअघि नेपाल पहिलो खेलमा नेदरल्याण्ड्ससँग पराजित भएको थियो भने श्रीलंका विरुद्धको दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो ।
दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपालका लेगस्पिनर सन्दीप लामिछाने पनि जोडिनुभएको छ । सन्दीप टोलीमा थपिँदा केही आसा बढेको छ । तर, सन्दीपले पछिल्लो ६ महिनादेखि प्रतिस्पर्धात्मक खेल खेल्नुभएको छैन । दक्षिण अफ्रिकासहित अन्तिम खेलमा बंगलादेशलाई पराजित गरेमात्र नेपाल सुपर-८ मा पुग्नेछ । तर, त्यो चुनौती पार गर्न नेपालका लागि कठिन छ । एक खेलमा पराजित भयो भने पनि नेपालको सम्भावना समाप्त हुनेछ ।
अफ्रिकालाई हराउने लक्ष्यका साथ मैदान उत्रिने छौं : कप्तान पौडेल
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले सन्दीप लामिछानेको अगामनपछि टोली बलियो बनेको बताउनुभएको छ । विश्वकपअन्तर्गत दक्षिण अफ्रिकाको खेलअघि रोहितले लामिछानेको अगामनपछि टोली बलियो बनेको बताउनुभएको हो ।
अमेरिकाले भिसा नदिएका कारण सुरुवाती दुई खेलमा नभएका दक्षिण अफ्रिकासँगको खेलमा भने सहभागी हुनु हुनेछ । ‘जसरी पनि दक्षिण अफ्रिकालाई हराउने लक्ष्यका साथ मैदान उत्रिने छौं । सन्दीपको आगमनले स्पिन आक्रमण अझै बलियो बनेको छ । हामी मानसिक रूपमा पनि तयार छौं,’ उहाँले भन्नुभयो । तर, सन्दीपले पछिल्लो ६ महिनादेखि प्रतिस्पर्धात्मक खेल खेल्नुभएको छैन ।
पौडेलले दक्षिण अफ्रिका विरुद्धको खेल चुनौतीपूर्ण भएको बताउनुभएको छ । ‘दक्षिण अफ्रिकाविरुद्ध प्रतिस्पर्धात्मक लक्ष्य दिन सके हामीले बलिङमा राम्रो गर्न सक्छौं भन्ने लाग्छ । दक्षिण अफ्रिकाले राम्रो क्रिकेट खेलिरहेको छ । बंगलादेश पनि राम्रो टोली हो । हाम्रा लागि सुपर-८ मा पुग्न दुवै खेल जित्न पर्छ । हामी अगाडिका चुनौती स्वीकार गर्न तयार छौं,’ उहाँले भन्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच