नेपाल २०७२ सालको संविधानअनुसार गणतन्त्रमा प्रवेश गरेको हो । २०४६ सालको आन्दोलनपश्चात् संवैधानिक राजतन्त्रका रूपमा रहेकोे देश सशस्त्र युद्धको व्यवस्थापनसहित गणतन्त्रलाई अङ्कमाल गरेको देशका रूपमा चिनिएको छ । गणतन्त्रमा प्रवेशसँगै नेपाल सात ससाना प्रदेशमा विभाजन भएको छ । स्थानीय तहलाई शक्तिशाली बनाउने उद्देश्यले स्थानीय सरकारको अवधारणामा नेपालको राजनीति विकसित भयो । साथै स्थानीय तहका साथै सात प्रदेशमा विभाजित गरिएको नेपाल आज स्थानीय, प्रदेश र संघीय शासन व्यवस्थाको प्रणालीमा विकसित भएको एउटा सार्वभौमसत्ता सम्पन्न मुलुक हो । विश्वको राजनीतिमा सानै भए पनि यो देशले धेरै परिवर्तनहरू भोगेको छ । आजसम्म कसैको गुलाम नबनेको देश आजचीन, भारत, अमेरिका र यूरोपियन युनियनको क्रीडाभूमि बनेको छ ।
प्रजातान्त्रिक देशको शासनव्यवस्था जनताका लागि हुने गरेको हुन्छ । सावधिक निर्वाचन हुने प्रणालीका देशहरूमा जनतालाई नै सार्वभौमसत्ता सम्पन्न मानिएको हुन्छ । जनता नै सो मुलुकका सबैभन्दा शक्तिशाली मानिएका हुन्छन् । त्यसैले गणतन्त्र जनताको शासन मानिन्छ । गणतन्त्रमा शासन गर्ने शासक पनि जनताको मूल प्रतिनिधिपात्रका रूपमा रहेको हुन्छ । राजनीतिमा जनतालाई सर्वोपरि मान्ने शासनप्रणाली हो गणतन्त्र । यही तन्त्रमा रमेको यो सानो मुलुक हो नेपाल । यो सानो मुलुकले राजनीतिक रूपमा धेरै परिवर्तन भोगेको छ ।
राजनीतिक अस्थिरता
देशविकासको सबैभन्दा महत्वपूर्ण पक्ष राजनीतिक स्थिरता हो । राजनीति स्थिर भएन भने देशको विकासमा कुनै किसिमको प्रगति हुन सक्दैन । देशको चौतर्फी विकासका लागि अस्थिर राजनीति जहिले पनि बाधक बनेर उभिने गरेको हुन्छ । स्थिर राजनीतिले नै देशलाई जीवन्तता दिने हुनाले स्थिरता विकासको मूल आधार मानिन्छ । यही आधारमा टिकेको हुन्छ देशको विकास पनि । हामीले देशको राजनीतिमा परिवर्तन ल्यायौँ । देशको विकासलाई आधार मानेर सबै नेपालीले गरेको आन्दोलनका माध्यमबाट ल्याएको गणतन्त्र आज सबै नेपालीका लागि अस्थिर राजनीतिको केन्द्र बनेको छ । राजनीतिमा अस्थिरता आउनु नै देश विकासको कमजोर कडी मानिएको हुन्छ ।
गणतन्त्रपछि नेपालमा दुई पटक आमनिर्वाचन भइसकेको छ । दुई पटक पनि संघमा कसैको बहुमत आएको छैन । अनेक प्रकारका गठबन्धनबाट संघीय शासन चलिरहेका छन् । यही अवस्था प्रदेशमा पनि देखियो । प्रदेश र संघ सधैं अस्थिर राजनीतिका केन्द्र बने । गठबन्धन बन्ने र भत्किने प्रक्रियाले देशको राजनीतिलाई अस्थिर अवस्थामा राखेको देखिन्छ । संघको अस्थिरताले प्रदेशको सरकार पनि सदा अस्थिरताको जालोमा जकडिएको छ । यो अवस्थाको जिम्मेवारको ? यो अस्थिर राजनीतिको दाबेदार को ? यो प्रश्नको उत्तर नेपाली जनतासित छैन ।
नेपाललाई गणतन्त्रका माध्यमबाट सात प्रदेशमा विभाजन गरिएको छ । यी प्रदेशका कारण यो देशको राजनीति सदा अस्थिर बनेर रहेको छ । आजको राजनीतिले सबै क्षेत्रमा अस्थिरतालाई निम्त्याएको छ । यो अस्थिरता नेपाली राजनीतिमा सधैँ रहने लक्षण देखिएको छ ।
यो राजनीतिको जवाफ नेपाली राजनीतिको केन्द्रमा घुम्ने व्यक्तिहरूले दिनु अनिवार्य मानिन्छ । प्रदेशको अस्थिर राजनीतिले जहिले पनि देशका जनतालाई दिक्क बनाएको छ । राजनीतिक गठबन्धन परिवर्तन हुनासाथ देशका सबै संयन्त्रमा परिवर्तन आवश्यक हो र ? इमानदारीता नेपाली राजनीतिमा देखिँदैन । यही अवस्थामा नेपालको राजनीति गतिशील हुने हो भने देशको आर्थिक अवस्था सारै कमजोर देखिनेछ ।
स्थानीय तहका कतिपय पालिकाले विकासको रफ्तारलाई अघि बढाएका छन् । उनीहरूको विकासप्रतिको आस्था र विश्वास गतिलो तरिकाले अघि बढेको पनि देखिन्छ । राजनीति निस्वार्थ भावनाले भरिएको हुन्छ । तर स्थानीय तहदेखि संघसम्म नै तलबभत्ताका भरमा बाँचेका हाम्रा राजनीतिकर्मीमा कहिले देशको अवस्था र विकासप्रति चासो बढ्ने हो किटान गर्न मुस्किल छ । नेपालीको उन्नतिको आधार बाहिर आउन सकेको देखिँदैन । नेपालको अस्थिर राजनीतिले नेपालीको मन कुँडिएको छ ।
राजनीतिक दलका कार्यकर्ताबाहेक सबै नेपाली यो अस्थिर राजनीतिबाट सन्तुष्ट देखिँदैनन् । यो अवस्थाको जिम्मेवार को ? यो अवस्था सिर्जना गर्ने व्यक्ति नेपाली जनता होइनन् । अस्थिर राजनीतिका मूल व्यक्ति नै नेपाली राजनीतिका धृतराष्ट्र हुन् । नेपालका राजनीतिक दल र तिनका कार्यकर्ताले कहिले पनि नेपालीको भावनालाई बुझ्न सकेको देखिँदैन । देशका लागि धृतराष्ट्र बनेका उनीहरू जहिले पनि सत्ताको सुखमा रमाएका छन् ।
नेपालको राजनीति अस्थिर बन्यो । यो अस्थिर राजनीतिले नेपालीलाई स्वदेशमा बस्ने अनुमति दिन सकेको छैन । प्लस टु पास गरेपछि विद्यार्थीहरूको लर्को भाषा सेन्टरमा हुने गरेको छ । नेपालमा राजनीति स्थिर र विकासप्रति आस्थावान हुन्थ्यो भने देशको अवस्था यस्तो हुने थिएन । नेपाली समाज बहुधार्मिक, सांस्कृतिक, भाषिक विविधताले भरिएको छ । यसको आफ्नै पहिचान रहेको छ । यो देशको अवस्थालाई बाँड्ने राजनीतिको सूत्रपात नेपाली राजनीतिका पण्डितहरूले गर्न थाले । नेपाल प्रकृतिले भरिएको मुलुक पनि हो ।
देशका हरेक क्षेत्रमा भ्रष्टाचार मौलायो । हरेक क्षेत्रका राजनीतिक व्यक्तिमा जनताप्रतिको आस्था र विश्वासभन्दा आफूले गरेको कामप्रति नै अविश्वास बढेर गयो । राजनीतिको यो अवस्था नेपालको चाहना होइन । नेपाली स्वस्थ र विकसित राष्ट्रका पक्षमा छन् ।
नेपालको राजनीतिले यो प्रकृतिलाई दोहन गर्न सकेन । प्रकृतिले दिन सक्ने वस्तुलाई हामीले सदुपयोग गर्न सकेनौँ । राजनीतिक अस्थिरताले नेपालको सबै क्षेत्रमा अस्थिरताको भावनालाई जागृत गरायो । यो अस्थिर राजनीतिको अस्वस्थ व्यवस्था नेपालका सबै क्षेत्रमा परेको देखिन्छ । नेपालीको भावना र उनीहरूले दिएको योगदानलाई बुझ्न नसक्ने नेपाली राजनीतिप्रति नेपाली जनता आक्रोशित हुन थालिसेका छन् ।
खारेज गरौँ प्रदेश
नेपाललाई गणतन्त्रका माध्यमबाट सात प्रदेशमा विभाजन गरिएको छ । यी प्रदेशका कारण यो देशको राजनीति सदा अस्थिर बनेर रहेको छ । आजको राजनीतिले सबै क्षेत्रमा अस्थिरतालाई निम्त्याएको छ । यो अस्थिरता नेपाली राजनीतिमा सधैँ रहने लक्षण देखिएको छ । हामीले संविधानमा नै चालिस प्रतिशत समानुपातिक निर्वाचन प्रणालीलाई स्वीकार गरेका छौँ । समानुपातिक निर्वाचन प्रणाली रहेसम्म नेपालको राजनीतिमा कुनै राजनीतिक दलले बहुमत ल्याउन सक्ने अवस्था देखिँदैन । प्रत्यक्ष निर्वाचन प्रणालीमा गए कुनै एक दलको बहुमत आउन सक्ने अवस्था देखिन्छ । व्यवस्थापकीय पक्षलाई कमजोर बनाएर गरिने राजनीतिले देशका हरेक क्षेत्रलाई कमजोर बनाएको हुन्छ । यो कमजोरी नेपाली समाज वा नेपाली जनताको पहिचानका बारेमा गरिने आधार होइन ।
प्रदेशलाई संघले अधिकार नदिने र कानुन बनाउने आधार पनि उपस्थित नगराउने प्रवृत्तिले नेपाली राजनीतिलाई गिजोलेको छ । मानिसको बाँच्न पाउने अधिकार सुरक्षित हुनु अनिवार्य छ । राजनीति गर्ने व्यक्ति आफ्नो सास रहुञ्जेल राजनीति गर्ने प्रवृत्तिको अन्त्य हुन सकेको छैन । भागवत पुराणमा पृथु शासन छोड्ने समयमा आफ्नो राज्यका जनतालाई सम्बोधन गर्दै भन्छन् :
अहं दण्डधरो राजाप्रजानामिह योजित
रक्षिता बृत्तिदः स्वेषु सेतेषु स्थापिता पृथक् ।।
यो लोकमा मलाई जनताको भलाइका लागि राजा बनाइएको थियो । जनताको रक्षा र उनको व्यवस्था मैले गरिसकेको छु । उनले शासन छोड्ने बेलामा जनतालाई सम्बोधन गर्दै यी उपयुक्त कुराहरू उल्लेख गरेका छन् । शासनमा सधैँ रहनु हुँदैन । मैले मेरो कर्तव्यलाई निर्वाह गरेको छु । अतः मलाई राज्यको राजाका रूपमा होइन भगवान्को भक्तका रूपमा स्वीकार गरियोस् । सामाजिक न्यायका आधारमा उनले शासन व्यवस्था सञ्चालन गरेका थिए । उनले जनताको अधिकारका लागि पृथ्वीलाई समेत दोहन गरेका थिए । आजको राजनीति त्यस किसिमको देखिँदैन । आजको राजनीतिमा देखिएको विचलनले देशको अवस्थालाई जीवन्त बनाउन सकेको छैन । पृथु आफूले गरेको धर्म निर्वाहका लागि भन्छन् :
तस्य मे तदनुष्ठानाद्यानाहुब्र्रहृमवादिन
लोकाः स्युःकामसन्दोहा यस्य तुष्ठति दिष्टदृक् ।।
मैले आफ्नो कर्तव्यलाई यथोचित रूपमा पालन गरेको छु । मैले पालन गरेको कर्तव्यका अनुसार मलाई मनोरथपूर्ण गर्ने आधार प्राप्त होस् । यो पृथुको आफूप्रतिको विश्वास हो । राजनीतिमा आफूप्रति विश्वास भयो भने देशका जनताले सुख पाउँछन् भन्ने भावना पृथुको अभिव्यक्तिबाट प्रकट भएको देखिन्छ । राजनीति जनताका लागि हुनुपर्दछ भन्ने भावलाई पृृथुको अभिव्यक्तिले प्रकट गरेको छ । त्यसैले राजनीति देश र जनताका लागि गरिनु अनिवार्य मानिन्छ । हाम्रो देशको राजनीति अस्थिर र अस्वस्थ भयो । राजनीतिमा अस्वस्थता भयो भने देशको विकासका सबै आधारहरू भत्किने देखिन्छ ।
देशका हरेक क्षेत्रमा भ्रष्टाचार मौलायो । हरेक क्षेत्रका राजनीतिक व्यक्तिमा जनताप्रतिको आस्था र विश्वासभन्दा आफूले गरेको कामप्रति नै अविश्वास बढेर गयो । राजनीतिको यो अवस्था नेपालको चाहना होइन । नेपाली स्वस्थ र विकसित राष्ट्रका पक्षमा छन् । आजको व्यवस्थामा राजनीति नेताहरूका लागि मागिखाने भाँडाका रूपमा विकास भयो । दलीय स्वार्थमा रहेर काम गर्ने परम्पराको विकासका कारण गाउँ, नगर, महानगरपालिकाका पदाधिकारीहरू देश र जनताप्रति अनुत्तरदायी बने । प्रदेशको अस्थिर राजनीति र सभासदहरूको भत्तामा देशको अर्थतन्त्र कमजोर बनेको देखियो ।
देशको व्यवस्थाका लागि चाहिने आधार स्वस्थ राजनीति हो । स्वस्थ राजनीति गरिएन भने देशका सबै क्षेत्र क्षतविक्षत हुने गर्दछन् । देशका सबै क्षेत्र अस्थिर राजनीतिका शिकार बनेका छन् । सामान्य कमाइ, ज्यालामजदुरी गरेर सहकारीमा राखेको नेपालीहरूको रकम डुबेको छ । उनीहरू सड्कमा आएका छन् । राजनीतिमा देखिएको अस्थिरताले विदेशी ऋण बढेको छ । नेपालको कुनै पनि क्षेत्र सन्तोष गर्ने अवस्थामा पुगेको देखिँदैन ।
यो अवस्थाका कारण जनताको करबाट उठेको रकमले तलबभत्ता दिन नपुग्ने अवस्था सिर्जना हुनथाल्यो । अब सचेत बनौँ र गतिलो राजनीतिक निर्णयमार्फत नेपालको प्रादेशिक व्यवस्था खारेज गरौँ । यो प्रादेशिक व्यवस्था नेपालका लागि उपयोगी छैन भन्ने तथ्य प्रमाणित भएन र ! आउँदो निर्वाचनमा संघ पालिकाको निर्वाचनबाट देशको राजनीतिक व्यवस्थालाई सुदृढ बनाउँदै अघि बढौँ । सबै मिलेर देशलाई स्थिर विकास र उन्नत मुलुकका रूपमा लैजाने अठोट गरौँ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच