काठमाडौं । स्वदेशी आँपको बजार प्रवद्र्धन गर्ने उद्देश्यका साथ पहिलोपटक आयोजित आँप मेला अर्थात् मेङ्गो फेष्टमा ३२ हजार केजी आँप बिक्री भएको छ । साथै मेला १० हजारले अवलोकन गरेका छन् । आयोजकले आँप मेलाको सफलतापछि स्याउ, सुन्तला, टिमुर र जुनार मेला आयोजना गर्ने घोषणासमेत गरेको छ । किसान भेन्चर र काठमाडौं अर्गानिक्सको संयुक्त आयोजनामा असार ७ देखि ९ गतेसम्म काठमाडौं र ललितपुरका विभिन्न स्थानमा मेला भएका थिए । मेला अवधिभर १० हजारजनाले अवलोकन गरेको र ३२ हजार किलो आँप बिक्री भएको आयोजकले जनाएको छ । मेलामा सर्लाही, सप्तरी र सिरहाका ५० किसानबाट प्रत्यक्ष खरिद गरेर ल्याइएका विभिन्न प्रजातिका आँप प्रदर्शनीमा राखिएका थिए ।
आँप मेलाको सफलतापछि स्याउ, सुन्तला, टिमुर र जुनार मेला आयोजना गरिने भएको छ ।
मेलामा आँपको अचार बनाउने, प्रशोधन प्रविधि राखिएका थिए । प्रख्यात शेफ सन्तोष शाह पनि अन्तिम दिन द गार्डेन झम्सिखेलमा नेपाल म्याङ्गो फेष्टमा पुग्नुभएको थियो । विभिन्न सेफहरूले पाउडर, स्टिकी राइस, आँप स्मृदि, सुक्खा आँप क्रस जस्ता ५० भन्दा बढी आँपबाट बन्ने उत्पादन प्रदर्शन गरी आफ्नो पाक कौशल प्रस्तुत गरेका थिए । आयोजकका अनुसार आँप मेलाको पहिलो दिन वालनट बिस्ट्रो पानीपोखरीमा मेलाको उद्घाटन भएको थियो । वालनट बिस्ट्रो, काठमाडौं अर्गानिक्स बाँसबारी, उत्पला क्याफे बौद्ध र द गार्डेन्स झम्सिखेलमा बिक्री स्टल राखिएका थिए । उद्घाटनको दिन विभिन्न स्थानका बिक्री स्टलबाट आठ हजार केजी आँप बिक्री भएका थिए भने दोस्रो दिन १२ हजार केजी र अन्तिम दिन पनि १२ हजार केजी बिक्री भएको थियो । मेलामा माल्द देशरी, बम्बै, जर्दा, कृष्णभोग, नजरिया बम्बै, अम्रपाली, कलकत्तिया, दुधया माल्दा र गुलाबखाससहित विभिन्न भेराइटीका आँप राखिएका थिए । साथै काठमाडौं अर्गानिक्स, उत्पला क्याफे बौद्ध र द गार्डेन झम्सिखेलमा आँप र आँपबाट बनेका विभिन्न उत्पादन प्रदर्शनी गरिएका थिए ।
नेपालमै विभिन्न प्रजातिका आँप पाइने भए तापनि आँपको मौसममा भारतीय उत्पादनले नेपाली बजार कब्जा गरिरहेको अवस्थामा नेपाली आँपको प्रयोग बढाउन, किसानलाई प्रोत्साहन गर्न र उपभोक्तालाई विषादीरहित स्वच्छ आँपको पहुँच पु¥याउन मेलाको आयोजना गरिएको आयोजकले जनाएको छ । आयोजक किसान भेन्चरका प्रमुख कार्यकारी अधिकृत राजेश कार्कीले भन्नुभयो, ‘आगामी वर्ष पनि मेलालाई निरन्तरता दिइनेछ । जहाँ अहिलेभन्दा बढी किसानसँग समन्वय गरी धेरै शहरमा धेरै भेराइटी, सेल्स काउन्टर र रमाइला कार्यक्रम आयोजना हुनेछन् ।’
आगामी वर्ष एक सय टन आँप मेलामा बिक्री गर्ने लक्ष्य रहेको पनि उहाँले जानकारी गराउनुभयो । आँप मेलाको सफलतासँगै यसै वर्ष स्याउ, सुन्तला, जुनार र टिमुरको मेला पनि आयोजना गरिने उहाँले बताउनुभएको छ । धेरै स्थानीय किसानलाई प्रोत्साहन गरी नेपाली उत्पादनको बजार विस्तारका लागि मेलाहरू आवश्यक रहेको कार्कीको भनाइ थियो । उहाँले भन्नुभयो, ‘नेपालले कृषि, खाद्य, नवप्रवर्तन र प्रविधि क्षेत्रमा लगानी गर्नुपर्छ, यसैमा धेरै सम्भावना छन् ।’ कृषि, खाद्य, आविष्कार प्रविधि क्षेत्रलाई प्रवद्र्धन गर्न विदेशी लगानी भित्र्याउने र निर्यात बढाउने योजनामा सरकारले साथ दिनुपर्ने पनि उहाँले बताउनुभएको छ । किसान भेन्चरले विदेशी लगानी भित्र्याएर कृषि क्षेत्रमा लगानी गर्ने तथा नेपाली उत्पादन विभिन्न देशमा निर्यात पनि गर्ने योजना बनाइरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच