काठमाडौं । केही दिनअघि एक टेलिभिजनबाट प्रसारण भएको कार्यक्रम ‘इट्स माई शो’ को विवादित प्रस्तुतिलाई लिएर नेपाल चलचित्र कलाकार संघले आपत्ति प्रकट गरेको छ । कार्यक्रमले नेपाली चलचित्र क्षेत्र, कलाकारिता र सामाजिक दायित्वमा आघात पुगेको संघको ठहर छ । कार्यक्रममा अभिनेत्री जसीता गुरुङको चरित्र हत्या हुनेगरी आफ्ना अभिव्यक्ति व्यक्त गर्ने अभिनेत्रीद्वय स्वस्तिमा खड्का र साम्रज्ञी राज्य लक्ष्मी शाह चर्को आलोचनाको शिकार भइरहनुभएको छ ।
यो विषयमा संघले बुधबार आफ्नो धारणा व्यक्त गरेको हो । संघका अध्यक्ष मोहन निरौलाले एक विज्ञप्ति जारी गर्दै उक्त प्रकरणमा संस्थाको धारणा सार्वजनिक गर्नुभएको हो । विज्ञप्तिमा भनिएको छ, ‘हालै एक टेलभिजनको कार्यक्रमको प्रस्तुति र त्यस कार्यक्रममा सहभागी कलाकारको अमर्यादित, अशोभनीय, गैर जिम्मेवारीपूर्ण अभिव्यक्तिप्रति नेपाल चलचित्र कलाकार संघको ध्यानाकार्षण भएको छ ।’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘उक्त कार्यक्रममा सहभागी कलाकारको अभिव्यक्तिले नेपाली चलचित्र क्षेत्र, कलाकारिता पेशा, वर्ग र सामाजिक दायित्वमा आघात पुगेको हाम्रो ठहर छ । आफ्नो स्वतन्त्रता र अधिकारको प्रयोग गर्दा अरूको मानमर्दन गर्नु हुँदैन भन्ने सामान्य मान्यतालाई पनि उक्त अभिव्यक्तिले लत्याएको छ । एउटा सार्वजनिक कार्यक्रममार्फत अरूको अपहेलना गर्नु, मान मर्दन गर्नु न्यायसगत ठहर्दैन र हुँदैन पनि ।’
केही दिनअघि एक टेलिभिजनबाट प्रसारण भएको कार्यक्रम ‘इट्स माई शो’ को विवादित प्रस्तुतिलाई लिएर नेपाल चलचित्र कलाकार संघले आपत्ति प्रकट गरेको छ । कार्यक्रमले नेपाली चलचित्र क्षेत्र, कलाकारिता र सामाजिक दायित्वमा आघात पुगेको संघको ठहर छ ।
विज्ञप्तिमा नेपाल चलचित्र कलाकार संघले आफ्ना सदस्य कलाकारहरूलाई यस्तै अभिव्यक्ति सचेतनाका लागि विभिन्न कार्यक्रम गर्दै आइरहेको उल्लेख गर्दै गत जेठ २९ गतेसमेत कलाकार र आमसञ्चार विषयक विचार गोष्ठी सञ्चालन गरेको स्मरण गराएको छ ।
‘यसभन्दाअघि पनि केही कलाकारहरूले सामाजिक मर्यादा विपरीत अनुशासन विपरीत आचारसंहिता पालन नगरी अभिव्यक्ति दिनु भएकोमा संघको ध्यानाकार्षण भई सचेत पनि गराएका थियौं । प्रस्तुत सन्दर्भमा पनि सम्बन्धित कलाकारलाई सचेत गराउँदै भविष्यमा पेशा, वर्ग र चलचित्र क्षेत्रलाई असर गर्ने कुनै पनि क्रियाकलाप र अभिव्यक्ति नदिन हामी अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
के थियो घटना ?
‘इट्स माइ शो’ नामक टेलिभिजन कार्यक्रममा सञ्चालिका ओसिन सिटौलाले ‘बजर राउण्ड’मा अभिनेत्रीद्वय स्वस्तिमा खड्का र साम्रज्ञी राज्य लक्ष्मी शाहलाई सोध्नुभएको थियो, ‘धीरज मगरपछि अहिले अनमोल केसीसँग डेट गरिरहेकी अभिनेत्री को हुन् ?’ यसको जवाफमा स्वस्तिमाले सबैभन्दा अगाडि ‘बजर’ दबाएर जसीता गुरुङको नाम लिनुभयो । साम्राज्ञीले भने उहाँको तीन नायकसँग प्रेम रहेको दाबी गर्दै भन्नुभयो, ‘प्रदीप खड्का, धीरज मगर र अनमोल केसी ।’
ओसिनले फेरि उहाँहरूलाई सोध्नुभयो, ‘अनमोल केसीका कतिवटा गर्लफ्रेण्ड थिए र उनीहरूको नाम के हो ?’ यसमा साम्राज्ञीले आफूलाई थाहा नभएको बताउँदा स्वस्तिमाले अभिनेत्री आना शर्मा र पूर्वमिस नेपाल अश्मी श्रेष्ठको नाम लिनुभएको थियो । यतिबेला यही विषयले स्वस्तिमा र साम्राज्ञी विवादको भुँमरीमा फस्नुभएको हो । कसैको निजी जीवनको बारेमा यसरी सार्वजनिक कार्यक्रममा भन्नु गलत रहेको भन्दै उहाँहरूको चर्को आलोचना भइरहेको छ ।
अनमोल र जसीताको आपत्ति
यस विषयमा अनमोल र जसीताले पनि आपत्ति जनाउनुभएको छ । जसीताले इन्स्टाग्राममा स्टाटस लेख्दै प्रश्न गर्नुभएको छ ‘के एक महिला अर्को महिलालाई निच देखाउने विरुद्धमा छौं ?’, उहाँले लेख्नुभएको छ, ‘मैलै कहिल्यै पनि बुझ्न सकिनँ कि मानिसहरू राष्ट्रिय टेलिभिजनमा कसैको निजी जीवनको बारेमा किन कुरा गर्छन्, जबकि उसलाई व्यक्तिगत रूपमा राम्रोसँग नै चिनेको हुँदैन । यो अन्तर्वार्ता हेरेपछि मलाई यी व्यक्तिहरूप्रति धेरै दुःख लागेको छ । के हामी साँच्चै एक महिला भएर अर्को महिलालाई नीच देखाउने विरुद्धमा छौं ?’
उहाँले स्वस्तिमा र साम्राज्ञीलाई प्रश्न गर्दै अगाडि लेख्नुभएको छ, ‘के तपाईंहरू यो बुझ्नु हुन्छ कि तपाईंको कार्यले कतिको जीवन प्रभावित हुन्छ ? के तपाईंहरू म आफ्नो अतीतमा कुन अवस्थामा गुज्रिएको थिएँ भन्ने जान्नुहुन्छ ? के तपाईंहरूलाई लाग्दैन कि मेरो परिवारले यो हेरिरहेका छन् भन्ने ? एक महिलाको रूपमा तपाईंहरू समाजका लागि कुन तरिकाको उदाहरण स्थापित गर्दै हुनुहुन्छ ? कसैलाई सार्वजनिक रूपमा बदनाम गरेर र उसको निजी जिन्दगीमा चर्चा कमाउनुको कारण के हो ?’
उहाँको स्टाटसमा अनमोलले समेत प्रतिक्रिया जनाउँदै पहिला वास्तविक चरित्रमा ध्यान दिएर त्यसपछि रिल चरित्रमा ध्यान दिन अनुरोध गनुएभएको छ । उहाँले इन्स्टाग्राम स्टोरीमा पनि लेख्नुभएको छ, ‘भावनात्मक बदमासी वा मानसिक बदमासी भनेको अर्को व्यक्तिलाई अलग गर्न, खिल्ली वा जिस्काउने शब्दहरूको प्रयोग हो । भावनात्मक बदमासीले व्यक्तिको भावना, आत्मविश्वास र आत्म–मूल्यलाई लक्षित गर्छ ।’
स्वस्तिमा र साम्राज्ञीको माफी
स्वस्तिमा र साम्राज्ञी दुवैले जसितासँग माफी माग्नुभएको छ । जसीताको स्टाटसमा कमेन्ट गर्दै स्वस्तिमा लेख्नुभएको छ, ‘तिम्रो भावनामा चोट पु¥याएकोमा म साँच्चै माफी चाहन्छु । यो एक रमाइलो कार्यक्रम थियो र धेरै उत्साहजनक तरिकामा प्रकट भयो । तिमी सधैं मेरो लागि एक धेरै राम्रो साथी छौं र एकपटक फेरि म तिमीसँग माफी चाहन्छु ।’
त्यस्तै, साम्राज्ञीले आफूले कुनै महिलालाई मात्र नभई कसैलाई पनि नीच देखाउने बारेमा नसोच्ने भन्दै स्पष्टीकरण दिनुभएको छ । ‘हामीलाई प्रश्नहरूको यो द्रुत राउण्डमा एक स्थितिमा राखिएको थियो र हामीले नतिजाको बारेमा सोचेका थिएनौं । तर, कुनै पनि तरिकाले तपाईंलाई धम्क्याउने प्रयास गरेका थिएनौं । तपाईंको भावनामा चोट पु¥याएकोमा माफी माग्न चाहन्छु,’ साम्रागीले लेख्नुभएको छ ।
इमानदारी र ब्राण्ड ध्वस्त : ठकुरी
‘इट्स माइ शो’का पूर्वप्रस्तोता तथा निर्माता सुरज सिंह ठकुरीले यसबारेमा टिप्पणी गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत उहाँले पछिल्लो कार्यक्रमले आफूले यो कार्यक्रमका लागि निर्वाह गरेको इमानदारी र ब्राण्ड ध्वस्त भएको बताउनुभएको छ । साथै उहाँले उक्त शोसँग हाल आफ्नो कुनै संलग्नता नरहेको पनि प्रष्ट्याउनु भएको छ । सुरजले वर्षौंदेखि दर्शकहरूले देखाएको माया र साथका लागि आभार व्यक्त गर्नुभएको छ । आफ्नो करिअरमा दर्शकको प्रोत्साहन प्रमुख शक्ति भएको भन्दै उहाँले रमाइलोका साथै गर्व गर्नलायक सामग्री ल्याउने प्रतिबद्धता पनि जनाउनुभएको छ ।
‘म यतिमात्र भन्न चाहन्छु, मेरो २३ वर्षको समर्पण, इमानदारी र मेरो ब्राण्डप्रतिको बफादारी ध्वस्त भएको छ । एक टेलिभिजनकर्मीको रूपमा म दुःखी छु’, उहाँले लेख्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच