काठमाडौं । चिनियाँ उपविदेशमन्त्री सुन वेइडोङ नेपाल भ्रमण पूरा गरेर स्वदेश फर्किनुभएको छ । फर्कनुअघि उहाँले बुधबार बिहान राष्ट्रपति रामचन्द्र पौडेल र उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । भ्रमणका क्रममा बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) लाई अघि बढाउन आवश्यक कार्यान्वयन योजना दस्तावेजमा हस्ताक्षर हुन सकेन । परराष्ट्र मन्त्रालयमा भएको भेटमा कार्यान्वयन योजना दस्तावेजबारे छलफल भए पनि सहमति जुट्न नसकेको हो । केही विषयमा थप छलफल गर्नुपर्ने देखिएकाले दस्तावेजले अन्तिम रूप पाउन नसकेको स्रोतले बतायो । नेपालले १२ मे २०१७ मा बिआरआईमा हस्ताक्षर गरेको थियो । तर, अहिलेसम्म कुनै पनि परियोजना ल्याएको छैन ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि चिनियाँ उपविदेशमन्त्री सुन वेइडोङ नेतृत्वको प्रतिनिधि मण्डलले शिष्टाचार भेटवार्ता गरेको थियो । भेटका अवसरमा नेपाल र चीन बीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोको विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । भेटमा राष्ट्रपति पौडेलले मित्रराष्ट्र चीनले झण्डै सात दशकदेखि नेपालको विकास प्रयासमा पुर्याउँदै आएको सहयोगका लागि धन्यवादसमेत दिएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो । चिनियाँ उपविदेशमन्त्री तीनदिने भ्रमणका लागि १० असारमा काठमाडौं आउनुभएको थियो । उहाँ नेपाल-चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा सहभागी हुनुभएको थियो । मंगलबार काठमाडौंमा सम्पन्न नेपाल-चीनका परराष्ट्र सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा चिनियाँ उपविदेशमन्त्री सुन बेइदोङले सन् २०२६ मा नेपाल अतिकम विकसित अवस्थाबाट विकासशीलमा स्तरोन्नतिको प्रक्रियामा विकास सहायता वृद्धि गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
परराष्ट्र सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्र दुईपक्षीय सम्बन्धका सबै विषयमा छलफल गर्ने कर्मचारी स्तरको उच्च संयन्त्र हो । बैठकको नेतृत्व नेपालका तर्फबाट परराष्ट्रसचिव सेवा लम्साल तथा चीनका तर्फबाट उपविदेशमन्त्री सुन बेइदोङले गर्नुभएको थियो । आगामी वर्ष दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठ मनाउने निर्णय भएको छ । दुवै पक्षले पारस्परिक लाभका लागि आर्थिक अवसरमा कार्य गर्ने तथा पारस्परिक सहमतिका क्षेत्रहरूमा सहकार्य थप अभिवृद्धि गर्ने प्रतिबद्धता जनाएका छन् । दुई देशबीच सम्बन्धको बलियो आधार शान्तिपूर्ण सहअस्तित्वको पञ्चशील रहेकामा दुवै पक्षले जोड दिएका छन् ।
पारस्परिक विश्वास, सद्भाव, समझदारीहरूले नेपाल-चीन सम्बन्धलाई मार्गनिर्देश गरेको दुवै पक्षको जोड थियो । नेपालले एक चीन सिद्धान्तप्रति प्रतिबद्धता जनाएको छ भने नेपालको प्रतिबद्धताप्रति चीनले खुसी व्यक्त गरेको छ । दुवै पक्षबीच उच्चस्तरीय भ्रमणहरू नियमित रूपमा आदान-प्रदान गर्नुपर्ने विचार व्यक्त गरेका छन् । दुई देशबीच व्यापार, लगानी, पूर्वाधार विकास, कनेक्टिभिटी, कृषिमा सहयोग र सहकार्य अभिवृद्धिका विषयमा बैठकमा छलफल भएको छ । ‘दुवै पक्षले विद्यमान द्विपक्षीय संयन्त्रलाई थप सक्रिय बनाउनुपर्नेमा जोड दिएका छन् । दुवैले नयाँ संयन्त्रका रूपमा परराष्ट्र मन्त्रीस्तरीय संयक्त आयोग गठन गर्ने विषयमा छलफल गरेका छन्,’ परराष्ट्र मन्त्रालयले भनेको छ ।
परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको पछिल्लो चीन भ्रमणका बेला दुई देशबीच परराष्ट्र मन्त्रीस्तरीय संयन्त्र (संयुक्त आयोग) स्थापना गर्ने सहमति भएको थियो । नेपाल र भारतबीच पनि परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोग विद्यमान छ ।
संयन्त्रको यसअघिको बैठक २४ चैत २०७९ मा बेइजिङमा भएको थियो । बैठकमा नेपालको नेतृत्व निवर्तमान परराष्ट्रसचिव भरतराज पौड्याल र चीनको तर्फबाट उपमन्त्री सुनले गर्नुभएको थियो । हरेक वर्ष एक-अर्को देशका संयन्त्रको बैठक बस्दै आएको छ । साथै उपविदेशमन्त्री सुन वेइडोङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतसँग भेटवार्ता पनि गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच