काठमाडौं । दुई भारतीय दिग्गज खेलाडीले टी-२० विश्व क्रिकेटबाट सन्न्यास लिएका छन् । टी-२० विश्वकप उपाधि जितेपछि भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मा र ब्याटर विराट कोहलीले सन्न्यासको घोषणा गर्नुभएको हो । भारतलाई दोस्रोपटक टी-२० विश्वकप उपाधि जिताउने क्रममा विराटले प्लेयर अफ दि म्याच प्रदर्शन गर्नुभएको थियो । सेमिफाइनलसम्म नचलेका कोहलीले फाइनलमा ५९ बलमा ६ चौका र २ छक्कासहित ७६ रन बनाउनुभएको थियो । शनिबार दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले दोस्रोपटक टी-२० विश्वकप जितेको हो । यसअघि भारत सन् २००७ मा भएको पहिलो संस्करणमा च्याम्पियन बनेको थियो । १६ वर्ष नौ महिना पाँच दिनपछि भारतले टी-२० विश्वकप जितेको हो । विश्वकप जितेसँगै दुई दिग्गज खेलाडीले सुखद बिदाइ लिएका हुन् ।
‘यो मेरो अन्तिम टी-२० विश्वकप थियो, म आभारी छु कि मैले टोलीलाई सबैभन्दा आवश्यक परेको बेला प्रदर्शन गर्न सकेँ । हामीले यही हासिल गर्न चाहेका थियौँ । हासिल गर्यौँ,’ सन्न्यास घोषणापछि विराटले भन्नुभयो, ‘यो हाम्रो सपना थियो, हामी आइसिसी प्रतियोगिता जित्न चाहन्थ्यौँ, कप उचाल्न चाहन्थ्यौँ । म जति खराब टुर्नामेन्ट गरिरहेको थिएँ, म फाइनलमा प्रदर्शन गर्न पाउँदा खुसी छु ।’
यस्तै, कप्तान रोहितले पनि विश्व विजेता बनेपछि सन्न्यास लिनुभएको छ । ‘यो मेरो अन्तिम टी-२० पनि थियो । यस ढाँचालाई अलबिदा भन्नका लागि योभन्दा राम्रो समय हुन सक्दैन । मैले मेरो करियरको हरेक पललाई रमाइलो गरेँ । मैले मेरो अन्तर्राष्ट्रिय करियर यही ढाँचाबाट सुरु गरेँ । म त्यही चाहन्थेँ, म कप जित्न चाहन्थेँ,’ उहाँले भन्नुभयो, ‘मसँग शब्द छैन । यो मेरा लागि निकै भावुक क्षण हो, म जुनसुकै मूल्यमा आइसिसी ट्रफी जित्न चाहन्थेँ । खुसी छ कि हामीले अन्ततः यो गर्यौँ ।’
भारतका लागि कोहली र रोहितले उत्कृष्ट प्रदर्शन गर्नुभएको थियो । रोहित र कोहलीको सन्न्याससँगै एक युगको अन्त्य भएको छ । कोहलीले धेरै अन्तर्राष्ट्रिय कीर्तिमान बनाउनुभएको छ, जुन कुनै पनि खेलाडीलाई तोड्न सजिलो हुनेछैन । रोहितको कप्तानीमा भारतीय टोली एकदिवसीय विश्वकप २०२३ को फाइनलमा पनि पुगेको थियो । कोहलीले टी-२० अन्तर्राष्ट्रिय करियरमा १२५ खेलमा ४१८८ रन बनाउनुभएको छ । उहाँले यो अवधिमा एक शतक र ३८ अर्धशतक बनाउनुभएको हो । रोहित आफ्नो विस्फोटक ब्याटिङका लागि चर्चित हुनुहुन्छ । रोहितले भारतका लागि १५९ टी-२० खेल खेल्नुभएको थियो । यस अवधिमा उहाँले ४२३१ रन बनाउनुभयो । पाँच शतक र ३२ अर्धशतक बनाउनुभयो ।
बुमराह सर्वोत्कृष्ट खेलाडी
भारतका तीव्र गतिका बलर जसप्रित बुमराह आइसिसी टी-२० विश्वकप २०२४ को सर्वोत्कृष्ट खेलाडी चुनिनुभएको छ । सबै खेल जित्दै भारत विजेता हुँदा बुमराहले प्रतियोगिताभर निर्णायक प्रदर्शन गर्नुभएको थियो । यस क्रममा उहाँले १५ विकेट लिनुभएको थियो । बुमराहले प्रतियोगिताभर आठ खेलमा ४.१७ को इकोनमीमा बलिङ गर्नुभयो । उहाँले आयरल्याण्ड, बंगलादेश, दक्षिण अफ्रिका र इंग्ल्याण्डसँग २-२ विकेट लिनुभएको थियो । यस्तै, उहाँले अफगानिस्तान र पाकिस्तानसँग ३-३ तथा अष्ट्रेलियासँग एक विकेट हात पार्नुभयो । फाइनलमा बुमराहले ४ ओभरमा १८ रन खर्चेर महत्वपूर्ण २ विकेट लिनुभएको थियो ।
नवौँ संस्करणको टी-२० मा भएका केही संयोग र कीर्तिमान
- एक खेल पनि नहारी टी-२० विश्वकपको उपाधि जित्ने भारत पहिलो राष्ट्र बनेको छ । प्रतियोगिता अवधिभरमा भारतले कुल नौ खेल खेल्यो । त्यसमध्ये भारत आठ खेलमा विजयी भयो । भारतको एक खेल भने वर्षाका कारण रद्द भएको थियो ।
- नवौँ विश्वकपमा भारत र दक्षिण अफ्रिका एक खेल पनि नहारी फाइनलसम्म पुगेका थिए । यसअघि टी-२० विश्वकपको कुनै पनि संस्करणमा यस्तो संयोग जुरेको थिएन ।
- भारत दुईपटक टी-२० विश्वकपको उपाधि जित्ने तेस्रो राष्ट्र बनेको छ । यसअघि भारतले सन् २००७ मा पहिलो संस्करणको उपाधि जितेको थियो । दुईपटक टी-२० विश्वकपको उपाधि जित्ने पहिलो राष्ट्र वेष्ट इण्डिज र दोस्रो राष्ट्र इंग्ल्याण्ड हुन् ।
- टी-२० विश्वकपको इतिहासमा फाइनलमा टस जितेर पनि खेल हार्ने दक्षिण अफ्रिका दोस्रो राष्ट्र बनेको छ । यसअघि सन् २००९ को टी-२० विश्वकपको फाइनलमा श्रीलंकाले टस जितेर पनि नतिजा गुमाउनुपरेको थियो । त्यो विश्वकपको फाइनलमा पाकिस्तानले श्रीलंकालाई आठ विकेटले हराएको थियो ।
- टी-२० विश्वकपको इतिहासमा फाइनल आठ रनभन्दा कम अन्तरले हार-जितको निर्णय भएको यो दोस्रो पटक हो । यसअघि सन् २००७ मा सम्पन्न टी-२० विश्वकपको पहिलो संस्करणको फाइनलमा भारतले नै चिर प्रतिद्वन्द्वी पाकिस्तानलाई पाँच रनले हराएको थियो ।
- टी-२० विश्वकपको इतिहासमा फाइनलमा पहिले ब्याटिङ गर्ने टोलीले उपाधि जितेको यो केवल तेस्रो पटक हो । यसअघि सन् २००७ र सन् २०१२ को टी-२० विश्वकपको फाइनलमा मात्र रनका आधारमा हार-जित भएको थियो ।
- रोहित शर्मा भारतलाई दुईवटा टी-२० विश्वकपको उपाधि जिताउने एकमात्र खेलाडी हुनुहुन्छ । सन् २००७ मा भारतले पहिलोपटक टी-२० विश्वकप जित्दा पनि रोहित शर्मा टोलीका सदस्य हुनुहुन्थ्यो । उहाँले सन् २००७ को टी-२० विश्वकपमा इंग्ल्याण्डविरुद्धको खेलसँगै टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यु’ गर्नुभएको थियो ।
- हालसम्म नौजना खेलाडीले आफ्नो देशलाई दुईपटक टी-२० विश्वकपको उपाधि जिताएका छन् । रोहित शर्माका अतिरिक्त यस्तो उपलब्धि हासिल गर्ने खेलाडी ड्यारेन सामी, मार्लन सामुएल्स, क्रिस गेल, जोन्सन चाल्र्स, ड्वेन ब्राभो, सामुएल बद्री, आन्द्रे रसेल र दिनेश सामदिन हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच