काठमाडौं । मुलुकका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच संविधान संशोधनको एजेण्डासहित राष्ट्रिय सहमतिको सरकार बनाउन सहमत भएका छन् । २०७९ सालको आमनिर्वाचनयता दुई वर्ष नपुग्दै माओवादीबाट आलोपालो धोका पाएका दुवै दलले अब सकेसम्म सबै दललाई समेटेर सरकार बनाउने सहमति गरेका हुन् । दुई दलबीच अकस्मात रूपले सत्ता समीकरणमा समझदारी बनेको भने पनि लामो र सघन गृहकार्यपछि दुई दलका शीर्षस्थ नेता केपी शर्मा ओली र शेरबहादुर देउवाले सोमबार मध्यराति सवा १२ बजे सहमति पत्रमा हस्ताक्षर गर्नुभएको छ । कांग्रेस र एमालेबीच सरकारको नेतृत्वमा आलोपालो, निर्वाचन प्रणाली लगायतका विषयमा संविधान संशोधन गर्न पूर्व–प्रधानन्यायाधीशको अध्यक्षतामा सुझाव आयोग बनाउने र नयाँ सरकारमा मन्त्रालयमा समेत सहमति जुटेको छ । कांग्रेस–एमालेको सहमतिसँगै निर्वाचनयता डेढ वर्षको बीचमा तीनपटक गठबन्धन फेरेका प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार विघटनको संघारमा पुगेको छ ।
दशकौँदेखि नेपाली सत्ता र संसदीय राजनीतिका प्रमुख खेलाडी नेपाली कांग्रेस तथा नेकपा एमालेबीच असाधारण ढंगले सत्ता सहकार्यको सहमति भए पनि आकस्मिक भने होइन । नयाँ सत्ता समीकरणका लागि देउवा र ओलीबीच केही दिनदेखि शृंखलाबद्ध छलफल बाक्लिएको थियो । कांग्रेसका एक नेताका अनुसार देउवा र ओलीबीच केही दिन पहिलेदेखि छलफल चल्दै आए पनि सत्ता समीकरण नै बदल्ने स्थितिमा भने असार १५ को भेटपछि पुगेका हुन् । सामान्यतया राजनीतिमा संसद्को पहिलो र दोस्रो दल एकैपटक सरकारमा जाँदैनन् । नेपालको संसदीय इतिहासमा पनि यस्तो घटना निकै कम छन् । नागरिकमा देखिएको यस्तो निराशापछि गत वैशाखमै पनि कांग्रेस र एमाले मिल्ने समझदारी नजिक पुगेका थिए । तर, त्यतिखेर कांग्रेस सभापति देउवाले एमालेसँगै तत्कालीन फोरम नेपाल र नेकपा एकीकृत समाजवादी जोडेर छलफल गरेपछि ओली भड्किन पुगे । यसपटक पहिलेको जस्तो गल्ती नगर्ने र अस्थिरतालाई अन्त्य गर्नेगरी विश्वासको वातावरण बनेको नेताहरू बताउँछन् । यसपटक सत्ता मात्र फेरबदलभन्दा पनि देउवा र ओली दुवैले साना दलको बार्गेनिङ र नागरिकको आक्रोशलाई केन्द्रमा राखेको नेताहरू बताउँछन् । केही दिनअघि मात्रै प्रचण्डले पाँचै वर्ष प्रधानमन्त्री चलाउन सक्नेगरी आफूसँग जादुयी नम्बर रहेको बताएका थिए । आफूहरूसँगै सत्तामा रहने तर जादु भनिरहने, उथलपुथल गर्छु भन्ने प्रचण्डको शैलीबाट एमाले नै आजित भएको नेताहरू बताउँछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथका लागि दिल्ली पुगेर फर्किएपछि प्रचण्डले राष्ट्रिय सहमतिको सरकार बनाउने नाममा देउवासँग छलफल गरेको सूचना ओलीसम्म पुग्यो । सोही सूचनापछि ओली झस्किएर कांग्रेससँग संवादमा जोडिएको एमाले नेताहरू बताउँछन् ।
प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने
कांग्रेस र एमालेबीच नयाँ गठबन्धन निर्माण गर्ने सहमतिपछि राजनीतिक रूपमा संकटमा पर्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल राजीनामा नदिने हुनुभएको छ । प्रधानमन्त्री प्रचण्डले संवैधानिक प्रावधानअनुसार संसद्भित्र विश्वासको मतको सामना गर्ने हुनुभएको हो । मंगलबार बिहान माओवादी पदाधिकारीहरूको बालुवाटारमा बसेको बैठकले सरकार नछोड्ने र विश्वासको मतको सामना गर्ने निर्णय गरेको जानकारी दिँदै सचिव देवेन्द्र पौडेलले भन्नुभयो, ‘गलेर सरकार छोड्ने कुरा हुँदैन, संसद् फेस गर्ने भन्नेछ । संसद्मा जसले गणित देखाउन सक्छ त्यसले सरकार चलाउने हो ।’
कांग्रेस-एमाले मिलन अस्वाभाविक : माओवादी केन्द्र
नेकपा माओवादी केन्द्रले कांग्रेस र एमालेको मिलन संवैधानिक मूल्य-मान्यताविपरीत भएको निष्कर्ष निकालेको छ । पार्टी उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले भन्नुभयो, ‘यो त्यति स्वाभाविक र संवैधानिक मूल्य-मान्यतामा आधारित भएर आएजस्तो लागेको छैन । संविधानमा समानुपातिकलाई चलाउने कुरा आएको छ । त्यो संविधानको महत्वपूर्ण अंग हो । संविधान संशोधनको कुरा अग्रगमनभन्दा पनि पश्चगमनतिर उन्मुख छ । यो स्वाभाविक र प्राकृतिक छैन ।’
भ्रष्टाचारका फाइल खोलेपछि एक रात टिक्न सकेनन् : गृहमन्त्री
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहनुभएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले निश्चित व्यक्तिलाई जोगाउन रातारात सत्ता समीकरणमा फेरबदल हुन लागेको आरोप लगाउनुभएको छ । आफूले भ्रष्टाचारका फाइल खोल्न थालेपछि रातारात सरकार परिवर्तनको प्रयत्न गरिएको दाबी गर्दै लामिछानेले भन्नुभयो, ‘भ्रष्टाचारका खोल्नुपर्यो, फाइल यस्तो खुल्यो कि त्यो एक रात पनि टिक्न नसक्ने भयो । एकाएक संविधान जोगाउनुपर्ने चिन्ता भयो । संविधान जोगाउन खोजेको कि कसलाई जोगाउन खोजेको ?’
राष्ट्रका महत्वपूर्ण मुद्दाको सम्बोधन गर्न एमालेसँग सहमति : कांग्रेस
नेपाली कांग्रेसले संविधान संशोधनसहित देशका महत्वपूर्ण मुद्दाको सम्बोधन गर्नका लागि कांग्रेस र नेकपा एमालेको सहमतिमा राष्ट्रिय सहमतिको नयाँ सरकार गठन हुने बताएको छ । मंगलबार कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी बैठकपछि प्रतिक्रिया दिँदै पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले भन्नुभयो, ‘राजनीतिक स्थायित्वको लागि मुख्य राजनीतिक दल कांग्रेस र एमालेबीच सहमति भएको हो । यसलाई सहमतिको सरकार बनाउन ओलीको नेतृत्वमा सहमतिको सरकार बनाउने सहमति भएको छ । यसैलाई राष्ट्रिय सहमतिको सरकार बनाउन अन्य दललाई समेट्ने प्रयास गर्नेछौँ । यसले आर्थिक समस्या समाधानसहित बृहत्तर राष्ट्रिय हितका पक्षमा सहमति भएको छ ।’
राजनीतिक स्थायित्वका लागि कांग्रेससँग समझदारी : एमाले
नेकपा एमालेले राजनीतिक स्थायित्व र मुलुकका विद्यमान समस्या समाधानको लागि नेपाली कांग्रेससँग समझदारी गरेको जनाएको छ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक स्थायित्वका लागि कांग्रेस र एमालेबीच सत्ता सहकार्य भएको र केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने जानकारी दिँदै भन्नुभयो, ‘राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने र तदअनुरूपका कानुनसमेत निर्माण गर्नेगरी केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन नेकपा एमाले र नेपाली कांग्रेसका बीचमा समझदारी भएको छ ।’
राष्ट्रपतिसमक्ष राजनीतिक घटनाक्रमबारे ब्रिफिङ
सत्ता संकटमा पर्नुभएका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग मंगलबार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्रीले राष्ट्रपतिसमक्ष विकसित राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेको राष्ट्रपतिका प्रेस विज्ञ किरण पोखरेलले जानकारी दिनुभयो । नेपाली कांग्रेस र एमालेबीच सत्ता साझेदारी गर्ने सहमति भएको परिवेशमा शीतलनिवास पुगेर प्रचण्डले राष्ट्रपतिसँग भेट गर्नुभएको हो । दुई दलको निर्णयपछि प्रचण्डले तत्काल राजीनामा नदिने र संसद्मा विश्वासको मतको प्रक्रियामा जाने अडान लिनुभएको छ । मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डलाई एमाले अध्यक्ष ओलीले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि मार्गप्रशस्त गर्न आग्रह गर्नुभएको थियो । तर, प्रचण्डले राजीनामा नदिने जवाफ दिनुभएको थियो ।
रास्वपाले तत्काल सरकार नछाड्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ सरकार बन्ने संवैधानिक प्रक्रिया सुरु भएपछि सरकारबाट बाहिरिने जनाएको छ । रास्वपाले नयाँ सरकार बन्ने प्रक्रिया सुरु हुनेबित्तिकै मन्त्रीहरूले राजीनामा दिने जानकारी दिँदै प्रमुख सचेतक सन्तोष परियारले भन्नुभयो, ‘संवैधानिक रूपमा नयाँ सरकार बन्ने प्रक्रिया अगाडि बढेपछि हामी सरकारबाट बाहिरिन्छौँ । एमाले-कांग्रेस सरकारमा सहभागी हुँदैनौँ ।’ प्रचण्ड नेतृत्वको सरकारमा रास्वपाका सभापति रवि लामिछानेसहित चारजना मन्त्री छन् ।
कांग्रेस-एमाले गठबन्धनलाई जसपा नेपालको साथ
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार ढाल्न कांग्रेस र एमाले गठबन्धनलाई आफ्नो पार्टीको समर्थन रहने बताउनुभएको छ । यद्यपि, नयाँ सत्ता सहकार्यको विषयमा आफूहरूसँग औपचारिक रूपमा छलफल भने नभएको उहाँको भनाइ छ । प्रचण्डले सत्ता जोगाउन आफ्नो पार्टी फुटाइदिएको आरोप लगाउँदै अध्यक्ष यादवले भन्नुभयो, ‘हामीसँग छलफल नभए पनि हाम्रो समर्थन, सहयोग र साथ रहन्छ । सरकारमा जाने कुरा त हामीले अहिले सोचेकै छैनौँ ।’
प्रधानमन्त्री र गृहमन्त्रीबीच एक घण्टा छलफल
प्रधानमन्त्री प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री लामिछानेबीच छलफल भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मंगलबार एक घण्टा छलफल गरेर गृहमन्त्री लामिछाने बाहिरिनुभएको थियो । कांग्रेससँग एमाले मिले पनि राजीनामा नदिएर विश्वासको मत लिने तयारीमा रहनुभएका प्रधानमन्त्री प्रचण्डले गृहमन्त्रीसँग छलफल गर्नुभएको हो । माओवादी पदाधिकारी बैठकले सत्ता समीकरणका अन्य दलसँग छलफल गर्ने निर्णय गरेको थियो । रास्वपाले पनि प्रधानमन्त्रीले राजीनामा नदिएसम्म सरकार नछाड्ने निर्णय गरेको छ ।
कांग्रेस-एमालेकोे गठबन्धन सकारात्मक : लोसपा
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले कांग्रेस-एमाले गठबन्धनलाई स्वागत गरेको छ । लोसपाका महामन्त्री डा.सुरेन्द्र झाले मधेश आन्दोेलनले उठाएर थाती बसेको संविधान संशोधनको मुद्दा लिएर गठबन्धन बनेका कारण स्वागत गरेको जानकारी दिँदै भन्नुभयो, ‘अहिले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ०५२ पछिको राप्रपाको जस्तो राजनीति गर्दै हुनुहुन्थ्यो । ३२ सिट भएर पनि सरकारको नेतृत्व पाउँदा प्रचण्डमा जुन प्रकारको दम्भ देखिएको थियो र जुन ढंगले संसद्लाई बन्धक बनाउने काम भएको थियो, त्यसबाट मुक्ति पाउन आवश्यक भइसकेको थियो ।’
राजीनामा दिएर मार्गप्रशस्त गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह
नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेको छ । एमालेको मंगलबार बसेको सचिवालय बैठकले कांग्रेससँग सत्ता समीकरणको सहमति भएको भन्दै आज (बुधबार) सम्म मार्गप्रशस्त गर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेको हो । सचिवालय बैठकले संविधानको धारा ७६(२) अनुसारको सरकार निर्माणको लागि आजसम्ममा मार्गप्रशस्त गर्न प्रधानमन्त्रीलाई आहृवान गर्ने निर्णय गरेको एमाले सचिव योगेश भट्टराईले जानकारी दिनुभयो । एमालेले कांग्रेससँग भएको सहमतिअनुसार अध्यक्ष ओलीको नेतृत्वमा गठन हुने सरकारलाई राष्ट्रिय सहमतिको बनाउन अरू दललाई पनि सहभागी हुन आहृवान गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच