मुख्यमन्त्रीसँग बझाङका भूकम्प पीडितको बिलौना : ‘घर पुनः निर्माण गरिदिए खाना बरु मागेर खान्थेउ’

सुरेश धामी बझाङ, संवाददाता
Read Time = 5 mins

बझाङ । बझाङमा गतमंगलबार दिउसोको भूकम्पमा परी जिल्लाका सयौं व्यक्तिका घरहरुमा तथा सार्वजनिक भवनहरुमा क्षति पुगेको छ । कतिपयको घर भत्किएको छ भने, कयौँका घरमा आंसिक क्षति पुगेकाले आफ्नै घरमा रात काट्न नसक्ने अवस्था रहेको छ ।

भूकम्प पीडितलाई सरकारी क्षेत्रबाट प्रदान गरिने राहत नआइपुगेका कारण उनीहरू समस्यामा परेको भूकम्प पीडितको भनाइ छ । जिल्लामा भूकम्पले पुर्याएको क्षतिबारे जानकारी लिएर प्रधानमन्त्री तथा मन्त्रीहरूको टोली शुक्रबार राजधानी फिर्ता भएको छ ।

भूकम्प प्रभावित क्षेत्र निरीक्षण तथा अवलोकन गर्न बझाङ पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्पले निम्त्याएको पहिरोमा परी मृत्यु हुने परिवारलाई तत्काल २ लाख राहत दिने, आवास निर्माण गर्न ५० हजार रुपैयाँ उपलब्ध गराउने, भूकम्पबाट प्रभावित अन्य परिवारलाई राहतस्वरूप परिवार संख्याको आधारमा मापदण्ड बमोजिम १५ देखि २० हजार तत्काल राहत खर्च व्यवस्था गरिने घोषणा गर्नुभएको छ ।
यता सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाह पनि भूकम्प प्रभावित क्षेत्र निरीक्षण तथा अवलोकन गर्न चार दिनदेखि बझाङमै हुनुहुन्छ । शनिबार मुख्यमन्त्री शाहले बुंगल नगरपालिका वडा नं २ का भूकम्प पीडितसँग भेटघाट गर्नुभयो । भेटमा मुख्यमन्त्री शाहले प्रदेश सरकारले राहतको प्याकेज ल्याउने घोषणा गर्नुभयो ।

मुख्यमन्त्री शाहले भूकम्प प्रभावित सबै जिल्लाको अवलोकनपछि प्रदेश सरकारले पीडितहरूको माग सम्बोधन गर्ने बताउनुभयो । तर गिरौँका भूकम्प पीडितले भने भत्किएका घर पुनः निर्माण गरिदिन आग्रह गरे ।

भूकम्प पीडित कलक धामीले भन्नुभयो, ‘खाना त बरु गाँउका दाजुभाइसँगै मागेरै खाउला तर घर निर्माण गर्न सक्ने अवस्था छैन त्यसैले प्रदेश सरकारले आवास पुनः निर्माण गरिदिए गुन मान्ने थियौँ । ’ धामीले आफ्नो घर भत्किएको र अहिले छिमेकी दाईको घरमा परिवार सारेको बताएकि छन् । उहाँले भन्नुभयो, ‘राहत त सबैले दिन्छन् बस्नका लागि घर नै नभएपछि दिएको त्रिपाल र खाद्यान्नले के गर्नु?’

यस्तै, अर्का भूकम्प पीडित दीपक धामीले भूकम्पले घर भत्किएको र बस्न नहुने भएपछि आफूहरू आफन्तको घरमा बस्दै आएकाले सरकारले घर निर्माण गरिदिए आफ्नो परिवारलाई ठूलो राहत मिल्ने बताउनुभयो । अर्का पीडित गोपाल धामीले भन्नुभयो, ‘सम्पत्तिको नाममा त्यही एउटै झुपडी थियो। त्यो पनि भूकम्पले तहसनहस पारिदियो, अहिले छिमेकीहरूको घरमा आश्रय लिनु परेको छ । अस्थायी रुपमा भए पनि टहरा निर्माण गर्न तथा एक छाक खान र एकसरो लगाउने लुगाको व्यवस्था गरिदेऊ सरकार’ ।

बझाङका भूकम्प पीडितहरूलाई विभिन्न व्यक्ति तथा संस्थाहरूले राहत वितरण गर्न थालेका छन् । भूकम्पले घरवारविहीन भएका उनीहरूलाई त्रिपाल, खाद्यान्न, लत्ताकपडा लगायतका सामग्री सहयोग गर्न थालिएको छ ।

मंगलबारको भूकम्प पछि लगातार गइरहेको पराकम्पका कारण बझाङका स्थानीय घर भित्र पस्न सकेका छैनन् । सदरमुकाम चैनपुर आसपास केन्द्रविन्दु भएर सयौं पटक भूकम्पका पराकम्प गइसकेका छन् । भूकम्प गएको पाँच दिन भइसक्दा पनि यहाँका पीडितहरूले सरकारको तर्फबाट कुनै पनि राहत नपाएको गुनासो गरेका छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?