दरबाङ-म्याग्दीखोला जलविद्युत आयोजनाको काम तीब्र

दुई वर्ष भित्रमा परीक्षण उत्पादन गर्ने लक्ष्य

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 7 mins

म्याग्दी । पश्चिम म्याग्दीको दरबाङमा निर्माणाधीन २५ मेगावाट क्षमताको दरबाङ-म्याग्दीखोला जलविद्युत्आयोजनाको निर्माण कार्य तीब्र गतिमा अगाडी बढेको छ ।

आयोजनाले आगामी असोज महिनादेखि सिभिलतर्फको काम सुरु गर्ने र दुई वर्ष भित्रमा परीक्षण उत्पादन गर्ने लक्ष्यसहित काम अगाडी बढाएको जनाएको छ ।

धौलागिरि कालिका हाइड्रो लिमिटेडले गैरआवासीय नेपालीको लगानीमा निर्माण गर्न लागेको यो आयोजनाको अहिले अडिट नं २ छ्यारछ्यारे माथिको ढाँडखर्कमा सुरुङ खन्ने काम भैरहेको छ । विसं २०७५ देखि पूर्वाधार निर्माण सुरु भएको यस आयोजनाको पहिलो अडिटको करिव एक हजार मिटर (एक किलोमिटर) सुरुङमार्ग खनिसकिएको दरबाङ-म्याग्दीखोला जलविद्युत् आयोजनाका प्रमुख गोपाल रेग्मीले जानकारी दिनुभयो ।

मालिका गाउँपालिका-६ को गोचाखोलादेखि पूर्वतर्फ पाँच सय मिटर र गोजुवा (इल्पु)तर्फ पाँच सय मिटर गरि एक किलोमिटर सुरुङ खनिसकिएको उहाँले बताउनुभयो । उहाँका अनुसार जम्मा दुई हजार नौ सय मिटर सुरुङ निर्माण गरिने छ ।

अहिले दरबाङको छ्यारछ्यारे माथिको ढाँडखर्कमा अडिट नं २ सुरुङ ८८ मिटर खन्ने काम तिब्रगतिमा अगाडी बढेकोमा हेड टनेलसम्म पुग्ने गरी अडिटमा दुई सिफ्टमा काम भइरहेको आयोजनाका जियोलोजिस्ट चित्र बिक्रम टन्डनको भनाई छ ।

अडिट नं २ को काम गरिएकोमा अब सिभिलसहित बाँकी कामलाई तिब्रता दिने धौलागिरी कालिकाका सञ्चालक तथा अध्यक्ष विनोद कुँवरले बताउनुभयो ।

“अब तालिका अनुसार नै काम अगाडी बढ्छ, हामीले अहिलेसम्म बैंकको कर्जा प्रयोग गरेका छैनौँ,संस्थापक लगानीकर्ताहरुकै लगानीबाट अहिलेसम्मको काम गरिएको छ ”अध्यक्ष कुँवरले भन्नुभयो । आगामी दुईबर्षभित्र परीक्षण उत्पादनको लक्ष्य रहेको छ ।

मालिका-५ देवीस्थान,७ बिमको सिमानामा पर्ने इल्पुमा बाँध रहने आयोजनाको सुरुङमार्गबाट ल्याइने पानीलाई दुखुबेँसीमा रहने आउटलेटबाट बालौटेमा निर्माण हुने विद्युत्‌गृहमा खसालेर विद्युत् उत्पादन गर्ने तयारी छ ।

पाँच अर्ब १५ करोड कूल लागत अनुमान गरिएको आयोजनामा ३० प्रतिशत प्रवर्द्धक र सर्वसाधारणको सेयर लगानी रहनेछ। । हालसम्म आयोजनास्थलमा बैकको कर्जा प्रयोग गरिएको छैन ।

आयोजनास्थलमा संस्थापक लगानीकर्ताको सेयरले मात्रै काम भइरहेको अवस्थामा सिभिलसहितको काम सुरु भएपछि मात्रै बैंकको कर्जा प्रयोग गरिने अध्यक्ष कुवँरले बताउनुभयो । ३० प्रतिशत संस्थापक र साधारण शेयर तथा ७० प्रतिशत वित्तिय संस्थाको लगानीमा आयोजना निर्माण भइरहेको छ ।

आयोजनाबाट उत्पादन हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणले मालिका गाउँपालिका-७ विमदेखि रघुगङ्गा गाउँपालिका-३ राहुघाटको अम्वाङ जोड्ने १३२ केभी क्षमताको प्रसारण लाइनमार्फत केन्द्रीय प्रसारणमा जोडिनेछ ।

हिउँदको चार महिना प्रतियुनिट आठ रुपैयाँ ४० पैसा र वर्षायामको आठ महिना प्रतियुनिट चार रुपैयाँ ८० पैसामा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिदबिक्री हुने सम्झौता भएको छ । आयोजनाको साइट कार्यालय, आवासगृहसहितका भौतिक संरचना तयार छ।

पाँच वर्ष अगाडि तत्कालीन महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममायाँ थापाद्वारा आयोजनाको दुखुबेँसीको बालौटेमा निर्माण हुने विद्युत्‌गृहको शिलान्यास गरिएको थियो ।

आयोजनाको निर्माण सुस्त भएपछि लगानीकर्तासमेत चिन्तित बनेकामा काम सुरु भएपछि आशा पलाएको आयोजनामा लगानी गर्नुभएका उपल्लो दरबाङका भरत सुवेदीले बताउनुभयो । मालिका-५ देवीस्थान, ७ बिमको सिमानामा पर्ने इल्पुमा बाँध रहने आयोजनाको सुरुङमार्गबाट ल्याइने पानीलाई दुखुबेँसीमा रहने आउटलेटबाट बालौटेमा निर्माण हुने विद्युतगृहमा खसालेर विद्युत् उत्पादन गर्ने तयारी छ ।

नेपाल विद्युत् प्राधिकरणले मालिका गाउँपालिका-७ विमदेखि रघुगङ्गा गाउँपालिका-३ राहुघाटको अम्वाङ जोड्ने १३२ केभी क्षमताको प्रसारण लाइन र दुवै ठाउँमा सवस्टेशन निर्माण थालेको छ । सवस्टेशन र राहुघाट जोड्ने प्रसारण लाइन निर्माण सुरु भएसँगै अनुमति लिएर बसेका प्रवर्द्धक सक्रिय भएका छन् ।

सन् २०२१ को डिसेम्बर ३१ मा भारतीय कम्पनी लार्सन एण्ड टियुब्रो (एलएनटी)सँग २६ मिलियन अमेरिकी डलरमा सवस्टेशन र प्रसारण लाइन निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । आयोजनाको ठेक्का अवधि ३० महिनाको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?